Harsamaya
कविता: मलाई गर्व गर्नु छ (भिडियोसहित)
ग्राफिक्स : हर समय/Har Samaya

मलाई कसैको दयाको पात्र बन्नु छैन,
न त कसैको आँखाको कसिंगर हुनु छ।
दुख गर्दैछु अचेल अहोरात्र म आफ्नै सपनासँग,
एकपल्ट त कम्तीमा म आफैँ हुनुमा गर्व गर्नुछ।

सम्झनाका ती खण्डहरहरू मैले धेरै अघि नै पुरिसकेको छु,
अब त मलाई म भित्रकै डरको आँखामा आँखा जुधाउनु छ।
अवसरवादीहरूमाझ इमान्दारिताको मूल्य के हो देखाउनु छ,
फूलमै रम्न नसकेपनि, भमरा बनी बाँझो सपनामा रंग लगाउनु छ।

मन त लाग्छ, उडूँ भुर्रर… आकाशमा चरी झैँ,
सेता हिमालदेखि तराईका फाँटसम्म हवाईजहाज झैँ।
गन्तव्य छैन, तर टाढा-टाढा उड्नु छ,
यो कोलाहलभन्दा धेरै कोस पर...एकान्तमा पुग्नु छ।

कतै शीतल आकाशको छायाँमा, मलाई एक्लै रुझ्नु छ,
ढुंगाका देवता होइन अब कर्म र पौरखी हातलाई पूज्नु छ।
एकान्तको गोप्य कन्दरा भित्र, कयौँ कोस टाढा
म आफैँले रचेको सानो संसार बसाउनु छ।
स्वार्थी र अवसरवादी भीडबाट पर...
एक फरक मानवताको बीउ रोप्नु छ।

मलाई ‘म’ बनाउन लागेका ती सबैको मुहारमा खुशी ल्याउनु छ,
परदेसिएको भाइ र भुलेका सपनालाई फेरि स्वदेश फर्काउनु छ।
मेरो समयमा धेरै गर्न नसकेपनि,
आउँदो पुस्तालाई केही नयाँ आशा जगाउनु छ।
र अन्ततः
मलाई फेरि एकपल्ट, म आफैँ हुनुमा गर्व गर्नु छ।

भिडियो :-

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update