Harsamaya
सिन्धुपाल्चोक क्षेत्र–१ : कांग्रेस, एमाले, नेकपा र रास्वपाबीच कडा प्रतिस्पर्धा हुने
ग्राफिक्स: हर समय/Har Samaya

सिन्धुपाल्चोक - प्रतिनिधिसभा निर्वाचन क्षेत्र–१ चुनावी प्रतिस्पर्धा यसपटक रोचक बन्ने देखिएको छ। स्थानीय तहको वडागत परिणामले माहोल कांग्रेसको पक्षमा देखिन्छ। सिन्धुपाल्चोक क्षेत्र १ मा कुल ५४ वडामध्ये कांग्रेसले ३२ वडा, एमालेले १६, माओवादीले ५ र स्वतन्त्रले १ वडा जितेको छ।

यस क्षेत्रमा लामो समयदेखि प्रभाव जमाउँदै आएका नेता हुन् नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य मोहन बस्नेत। उनी पटक–पटक चुनाव जित्दै मन्त्रीसमेत भइसकेका छन्। तर यसपटक उनी चुनावी मैदानमा छैनन्। कांग्रेसबाट जिल्ला सभापति जंगबहादुर लामा चुनावी मैदानमा छन्। 

१४औँ जिल्ला अधिवेशनमा बस्नेत समूहबाट सभापतिमा निर्वाचित भएका लामाले पछिल्लो समय बस्नेतसँग दूरी बढाएका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार क्षेत्र–१ “कांग्रेसको क्षेत्र” भन्दा बढी “मोहन बस्नेतको प्रभाव क्षेत्र” मानिन्छ, जसले बस्नेतको भूमिका निर्णायक बनाउँछ। 

यद्यपि नेपाल कम्युनिस्ट पार्टीका नेता अग्निप्रसाद सापकोटा पनि यो क्षेत्रबाट निर्वाचित हुँदै मन्त्रीदेखि सभामुखसम्म बने। निर्वाचितमा ह्याट्रिक गरेका अग्नि र मोहनबीच निर्वाचनको समयमा वाकयुद्धसमेत हुने गरेको थियो। यद्यपि अग्निले अघिल्लो पटकबाट माधव सापकोटालाई यो क्षेत्र छाडेका छन्।

उनै निवर्तमान सांसद माधव पुनः चुनावी मैदानमा छन्। २०७९ मा गठबन्धनको समर्थनमा उनले ३० हजार ३७४ मत ल्याएर विजयी भएका थिए। माधवले दैनिकजसो एमालेका नेताहरु आफ्नो दलमा  प्रवेश गराएर चुनावी माहोल पुन: आफ्नो पक्षमा पार्ने रणनिति बनाएका छन् । 

बाह्रबिसे नगरपालिकाका पूर्व मेयर निमफुन्जो शेर्पा एमाले छाडेर नेकपा प्रवेश गरेका छन् । शेर्पाले बाह्रबिसेको कुनै पनि वडाबाट एमालेलाई मत नदिने दाबी गरेका छन्। ०७९ को स्थानीय तह निर्वाचनमा जुगल गाउँपालिकाबाट नेकपा एमालेबाट अध्यक्षको उम्मेदवार बनेका जयबहादुर लामा पनि नेकपा प्रवेश गरेका छन्।

एमालेले सरेश नेपाललाई नै उम्मेदवारका रुपमा दोहोर्‍याएको छ। २०७९ को निर्वाचनमा नेपालले २७ हजार मत प्राप्त गरेका थिए। यसपटक एमालेमा उम्मेदवार चयन विवादास्पद रह्यो । सुरुमा आङदोर्जे शेर्पा, त्यसपछि जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठलाई टिकट दिने तयारी गरेपनि अन्तमा नेपाल उम्मेदवार बने। टिकट मनोनयन दर्ताको बेला जिल्ला पार्टी कार्यालयभित्रै कार्यकर्ताबीच टिकट घुमाएको विषयमा नोकझोकसमेत भएको थियो। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट भरतप्रसाद पराजुली चुनावी मैदानमा छन् । उनी एमालेबाट रास्वपा प्रवेश गरी उम्मेदवार बनेका हुन्। पराजुलीले मलेसियाको विश्वविद्यालयबाट नेपालमा जलविद्युतको सम्भावनाबारे पिएचडी गरिरहेका छन्। उर्जा उद्यमीसमेत रहेका पराजुलीको उम्मेदवारीले क्षेत्र १ को निर्वाचनलाई रोचक बनाएको छ। 

यो क्षेत्रमा एमालेबाट अमृतकुमार बोहोरा (२०४८, २०५१), कांग्रेसबाट मोहन बस्नेत (२०५६, २०७०), माओवादीबाट अग्नि सापकोटा (२०६४, २०७०, २०७४) र माधव सापकोटा (२०७९) निर्वाचित भएका थिए।

२०७९ सालको समानुपातिक मत परिणामअनुसार यस क्षेत्रमा एमालेले २२,०७४ मत, कांग्रेसले १७,२५० मत, माओवादीले १४,८८५ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले ५,३६६ मत र राप्रपाले ३,५३९ मत पाएका थिए।

क्षेत्र–१ मा चौतारा साँगाचोकगढी नगरपालिकाका ५ वडा, जुगल, बलेफी, भोटेकोशी, त्रिपुरासुन्दरी, लिसङ्खुपाखर, सुनकोशी गाउँपालिका तथा बाह्रबिसे नगरपालिका समावेश छन्।

प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update