Harsamaya
राष्ट्रको ध्यान पुग्न नसकेका धैरै विषयलाई स्रष्टाले अगाडि ल्याइराखेका छन् - विमल अर्याल
ग्राफिक्स: हर समय/Har Samaya

नेपाली साहित्य, समाजसेवा र संस्थागत नेतृत्वका क्षेत्रमा लामो समयदेखि समर्पित रहँदै आएका विमल अर्याल बहुआयामिक योगदानका कारण विशिष्ट व्यक्तित्वका रूपमा चिनिन्छन्। २०१८ साल पौष १ गते काठमाडौं जोरपाटीमा जन्मिएका अर्यालले अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरेपनि उनको जीवनको मूल धारा भने साहित्य र सामाजिक सेवामा प्रवाहित छ।

वि.सं. २०३८ सालदेखि साहित्यिक यात्रा प्रारम्भ गरेका अर्यालको पहिलो कथा ‘प्रायश्चित’ २०३९ सालमा ‘मुक्का’ समसामयिक संकलनमा प्रकाशित भयो भने ‘न्यानो घाम र शीतल घामसँगै’ शीर्षकको कविता २०४० मा बन्धुसङ्गम नामक संकलनमा समावेश भएको थियो। कविता, कथा, संस्मरण, लेख, मुक्तक, सुसेली लगायतका विधामा कलम चलाउँदै आएका अर्यालका रचनाहरू विभिन्न पत्रपत्रिका र संकलनहरूमा प्रकाशित हुँदै आएका छन्। उनका प्रकाशित कृतिहरूमा ‘समृद्धि’ (२०७९, संयुक्त मुक्तक सङ्ग्रह) र ‘आवरण’ (२०८१, कवितासङ्ग्रह) रहेका छन्, साथै ‘विमल अर्यालका कथाहरू’ नामक पुस्तक प्रकाशनको तयारीमा छ।

साहित्यिक संस्थाको निर्माण र सञ्चालनमा पनि अर्यालको अगुवाई रहँदै आएको छ। २०३३ सालमा बौद्ध पुस्तकालयसँग आबद्ध भई झण्डै एक वर्षको व्यवस्थापन जिम्मेवारी सम्हालेका उनले कोपिला साहित्यिक समाज, बौद्ध साहित्य समाज, जोरपाटी युवा क्लब, चामुण्डा वाचनालय, ‘मुक्का’ समसामयिक संकलन, आगमन प्रकाशनलगायत संस्थाको स्थापना र सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेलेका छन्।

हाल उनी अभिनव साहित्य समाज, कल्पतरु प्रज्ञा प्रतिष्ठान र स्रष्टा पदयात्रा नेपालका उपाध्यक्ष छन्। साथै, साहित्य सदन नेपाल, घुम्ती कवि गोष्ठी, साहित्यकार उपचार कोष लगायत थुप्रै संस्थामा संस्थापक वा पदाधिकारीको भूमिकामा सक्रिय छन्। 

अर्यालले आफ्ना मातापिता तथा आफन्तहरूको सम्मानमा विभिन्न पुरस्कारहरूको स्थापनासमेत गरेका छन्। उनका मातापिताको नाममा स्थापना गरिएको सुरभि–रमा–बद्री निबन्ध पुरस्कार हरेक माघ महिनाको तेस्रो शनिबार प्रदान गरिन्छ भने घुम्ती रमा–बद्री काव्य पुरस्कार हरेक साउन महिनाको दोस्रो शनिबार प्रदान गरिन्छ। यस्तै, आफ्नी काकी कमला अर्यालको नाममा ‘अभिनव कमला संघर्षशील नारी सम्मान’ स्थापना गरी भाद्र महिनाको अन्तिम शनिबार प्रदान गरिँदै आएको छ। अर्याल अन्य सातवटा विभिन्न पुरस्कारको अक्षयकोषमा पनि सहभागी रहेका छन्, जसमा ‘रमेश विकल बाल प्रतिभा पुरस्कार’, ‘देवकोटा प्रज्ञा पुरस्कार’ र ‘नरेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार’ प्रमुख छन्।

शैक्षिक संस्थाहरूमा समेत उनको सक्रियता उल्लेखनीय छ। चामुण्डा मावि, न्यू बुद्ध प्रकाश बोर्डिङ स्कुल, अरुणोदय मावि लगायतमा सञ्चालक समितिका सदस्य तथा अध्यक्षको भूमिका निर्वाह गरेका छन्। स्वास्थ्य क्षेत्रमा पनि उनी स्तुपा सामुदायिक अस्पतालको व्यवस्थापन उपसमितिमा आबद्ध भइसकेका छन्।

सन् २००८ देखि लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वरमा आबद्ध अर्याल हाल क्लबका वरिष्ठ सल्लाहकार हुन्। यसअन्तर्गत उनले क्लब प्रेसिडेन्सहित विभिन्न जिम्मेवारी बहन गर्दै आएका छन्।

साहित्य, समाज र संस्कृतिको सेतु बनेका विमल अर्यालले व्यक्तिगत लेखन यात्रा मात्र नभई संस्थागत विकास, पुरस्कार स्थापनादेखि सामाजिक चेतना निर्माणसम्मका विविध पक्षमा अमूल्य योगदान पुर्‍याउँदै आएका छन्। उनका कार्य र सिर्जनाहरूले नेपाली साहित्यिक र सामाजिक इतिहासमा गहिरो छाप छोड्दै गइरहेका छन्। उनै अर्यालसँग हर समयका जयराम सापकोटाले गरेको कुराकानी ।

यहाँको साहित्य लेखन कहिलेबाट सुरू भयो ?
साहित्यमा थोरै लगाव वि.सं. २०३८ देखिकै हो । सर्वप्रथम केही साथी रमेश खनाल, गणेश योञ्जन, वसन्त रिजाल, गोपाल बरालसँग मिलेर कोपिला साहित्य समाज स्थापना गरी नियमित रूपमा साहित्यका विधा पढ्ने, लेख्ने, सुन्ने सुनाउने जमर्को गरियो । त्यसपछि बौद्ध साहित्य समाज स्थापना गरी मुक्का, आगमनलगायतका समसामयिक साहित्यिक संकलन प्रकाशनमा ल्याएर साहित्यिक प्रकाशनको मैदानमा समेत पदार्पण गर्न पुगियो । हुन त त्यसभन्दा अगाडि नयाँ सन्देश, नयाँ करेन्ट, मातृभूमि, समीक्षालगायत साप्ताहिक पत्रपत्रिकाका प्रश्न–उत्तर, चुट्किला, कुनै सन्दर्भमा पाठक प्रतिक्रिया आदि ससाना स्तम्भमा भाग लिएर नाम प्रकाशन गर्ने रहरको लहडमा पनि समावेश नभइएको होइन । तथापि तत्कालीन साथीहरूसँगको हातेमालो तथा पहलकदमीमा आयोजना गरिएका जोरपाटी, आरुबारी, बौद्ध, चाबहिललगायतका स्थानमा हुने साहित्यिक भेटघाट, गोष्ठी आदिमा सहभागिता जनाइएका साहित्यिक कार्यक्रमका अतिरिक्त तत्कालीन समयमा साहित्यमा अभिरुचि राख्नुहुने साथीहरूको संगतको जग नै थियो मेरो लेखन यात्रा ।

कसबाट र कसरी प्रभावित हुनुभयो ?
तत्कालीन समाजको सामाजिक, आर्थिक तथा राजनैतिक वस्तुस्थिति, आफूमा भएको चेतनास्तर तथा माथि उल्लेख गरिएका साथीसँगको उठबस र सङ्गत नै मूलरूपमा साहित्यमा थप अभिरुचि बढाउने कारकतत्व बन्न पुगेको हो जस्तो लाग्छ । हौसला–प्रेरणा दिने अग्रजको रूपमा र कहिल्यै बिर्सन नसकिने व्यक्तित्वको रूपमा हुनुहुन्थ्यो आख्यानकार रमेश विकल । त्यसपछि प्रत्यक्ष रूपमा पारिजात, ध्रुवचन्द्र गौतम, नारायण ढकाल, खगेन्द्र सँग्रौला, विजय चालिसेलगायतका अग्रजको हौसला तथा अन्य धेरै साहित्यकारबाट अप्रत्यक्ष हौसला तथा प्रेरणा प्राप्त भई उहाँहरूकै चेतनास्तरबाट प्रभावित हुन पुगिएको हो । 

कसरी बढिरहेको छ त लेखन गतिविधि ?
विभिन्न साहित्यिक गोष्ठीको आयोजनामा सक्रियतापूर्वक सहभागी हुँदै एक अंक ‘मुक्का‘ र दुई अंक ‘आगमन‘ साहित्यिक पत्रिका प्रकाशन गर्न सफल पनि भएका थियौ । तर हाम्रो साहित्यिक सक्रियताले लामो समयसम्म निरन्तरता पाउन सकेन । विविध कारणले वि.सं. २०४३ देखि हाम्रो सामूहिक अभियान छिन्नभिन्न भयो समयको खेल हो, को कता को कता भइयो । व्यक्तिगत रूपमा पनि लेखन तथा पठनपाठन अवरुद्ध हुन पुग्यो । बेग्लै परिस्थितिमा घच्घच्याउने कोही नहुँदा लामो समयसम्म लेखन तथा पठनपाठनमा निरन्तरता कायम राख्न सकिएन । समय यत्तिकै खेर जाँदै थियो । पछिल्लो समयमा भने अभिनव साहित्य समाजसँगको आबद्धता तथा घनिष्ठताले धेरै हदसम्म खाडल पुर्ने काम भइरहेको महसुस हुन थालेको छ । अहिले धेरै साहित्यिक संघसंस्थामा सक्रिय छु । प्रायः साहित्यिक कार्यक्रम सहभागी हुने गरेको छु । यसबाट आफूलाई अपडेट गराउने मौका मिलेको छ । केही सिक्दैछु । आफूमा पुनः पढ्ने लेख्ने बानीको विकास गराउन लागेको छु । 

वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?
केही पनि नलेख्नु भन्दा जस्तो सकिन्छ लेख्ने बानीको आदत बसाल्नुपर्छ । त्यसपछि अभ्यास गर्दै जाँदा गहकिलो साहित्य सिर्जना गर्न सकिन्छ । कुनै पनि लक्ष्यमा पुग्न पहिले त पाइला नै चाल्नुपर्ने हुन्छ । एकै पाइलामा कसैले पनि कुनै उपलब्धि पाउँछ भन्ने हुँदैन । यस्तो अहिलेसम्म भएको पनि छैन । साहित्यमा अभिरुचि राखेको लामो समय भए पनि म साहित्य लेखनमा बामे सर्दैछु । निर्धक्क भएर उभिने अनि दौडने काम बाँकी नै छ । त्यसैका लागि संघर्षरत छु । त्यसकारण वर्तमान लेखनसँग सन्तुष्ट भएर यथास्थानमा रोकिने विचार छैन । 

साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?
अधिकांश साहित्यले समसामयिक सामाजिक, राजनैतिक र साँस्कृतिक परिवेशको चित्रण गरेको हुन्छ । अन्धविश्वास, कुरीति, विकृति, विसङ्गति आदिको विरोध गरेको हुन्छ । समाजका हरेक पक्षलाई अग्रगामी दिशाबोध गराइरहेको हुन्छ । स्रष्टा आफू पनि यसै समाजभित्रको पात्र भएको हुँदा जीवन भोगाइमा केही न केही छाप गढ्न पुग्नु अनौठो होइन । त्यसैले साहित्यलाई समाजको ऐना मानिएको होला । मनभित्र गढेका, गुम्सिएका अनूभूतिलाई एक सचेत नागरिकको हिसाबले साहित्यमार्फत समाज राष्ट्रलाई यथास्थितिबोध गराउनु स्रष्टाको जिम्मेवारी पनि हो । राष्ट्रको ध्यान पुग्न नसकेका धैरै विषयलाई स्रष्टाले अगाडि ल्याइराखेको हुन्छ । वास्तवमा यहाँको अधिकांश स्रष्टाले राष्ट्रका लागि निस्वार्थ सेवा गरिरहेका छन् । तसर्थ राष्ट्रले पनि साहित्य र स्रष्टालाई देश विकास तथा समृद्धिको अपरिहार्य अंङ्गको रूपमा माया गर्नुपर्छ जस्तो लाग्छ । 

तपाईंको साहित्यिक आदर्श के हो ?
साहित्य केवल मनोरञ्जनको माध्यममात्र हुनुहुँदैन । समाजका निम्नवर्ग, दलित, पीडित, श्रमिक, बहिष्कृत तथा उत्पीडनमा परेका समुदायको यथार्थ चित्रण गरी उनीहरूको आवाज बुलन्द गर्छ, समाजमा न्याय र चेतना फैलाउने गर्छ, यस्ता साहित्य मलाई बढी मात्रामा मन पर्छ । साहित्य कल्पनामात्र होइन– यथार्थको चित्रण पनि हो । सामाजिक आँखाले हेर्न सकिने चेतना जगाउने खालको साहित्य नै मेरो साहित्यिक आदर्शको मान्यताभित्र पर्छ । साहित्य कलामात्र होइन– सामाजिक न्यायको औजार पनि हो ।

वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ?
अधिकांश लेखक आ-आफ्नो ठाउँबाट स्वलगानीमा साहित्यको सेवामा तल्लीन भएर लेखकीय दायित्व निर्वाह गरिरहेका छन् । बरु राज्यले स्थापित र आफू नजिक तथा आफूअनकूलका लेखकलाई मात्र देख्ने गर्छ । प्रायशः उनीहरूकै मात्र सुन्ने गर्छ ।

तपाईं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ?
एउटा कृति निकाल्न कति कष्ट हण्डर खानुपर्छ भन्ने कुरा भुक्तभोगीलाई मात्र थाहा हुन्छ । त्यसैले म आफ्नो कृतिबाट असन्तुष्ट हुन चाहन्नँ । हो, पूर्ण सन्तुष्ट हुन थाल्यो भने यात्राले आराम पनि खोज्न थाल्छ । त्यसकारण आउने दिनमा यी भन्दा असल र गतिला कृति लेख्न सकौँ भन्ने अपेक्षा भने सधै राख्ने गर्दछु ।
 
साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?
हिजोभन्दा आज साहित्य लेखनले ठूलो फड्को मारेको छ । आज विषयवस्तुको चयन फराकिलो भएको छ । हाल लेखकको सङ्ख्यामात्र बढेको छैन– कृति प्रकाशन पनि धेरै हुन थालेका छन् । प्रकाशनगृह बढेका छन् । गैर सरकारी रूपमा पनि साहित्यिक संघसंस्था प्रशस्त खुल्न थालेका छन् । जनस्तरमै विभिन्न पुरस्कार स्थापना गरी लेखकलाई प्रोत्साहन दिइँदैछ । पाठक सङ्ख्या पनि आज बिस्तार भएको छ । समष्टिमा भन्नुपर्दा हिजोभन्दा आज लेखक स्वतन्त्र र निर्भीक भएर लेख्न सक्ने भएको छ ।  

तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?
आज पनि हाम्रो समाजमा अन्याय, भेदभाव, शोषण र उत्पीडन त्यत्तिकै छ । कुण्ठा, विकृति र विसङ्गतिले झन फणा उठाइरहेको छ । अहिलेको समयमा साहित्य समाजको ऐनामात्र भएर पुग्ने स्थिति छैन–प्रकाशसमेत बन्न सक्नुपर्छ । जुन प्रकाशले अन्धकार हटाएर मानिसलाई सोच्नमात्र होइन–परिवर्तन गराउनेसमेत सामथ्र्य राखोस् । 

लेखनप्रति के ले प्रेरणा दिन्छ जस्तो लाग्छ ?
विषयवस्तुका लागि अन्त कतै टाढा जानुपर्दैन । हामी बसेकै समाज वरिपरि, हामीले नै दिनानुदिन भोगेका गतिविधिले जब चट्ट छुन्छ– तब लेखकलाई उक्त विषयमा लेख्न कुत्कुती लागिहाल्छ । 

तपाईंको लेख्ने निश्चित समय छ कि ?
लेखनका लागि त्यस्तो कुनै निश्चित समय छैन । कहिलेकाहीँ कुनै विषयले छुन्छ । कहिले समय मिल्छ लेखिन्छ पनि । कहिले समय अनुकूल नभएर पनि लेख्न सकिन्न । यस्तो हुँदा पछि समय मिल्दा सम्झेर लेख्ने प्रयत्न हुन्छ ।

लेख्न कस्तो वातावरण चाहिन्छ ?
कुनै अवरोधविनाको शान्त वातावरण भयो भने लेख्न धेरै सहज हुन्छ ।

लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?
आफूलाई बढी छोएको, घोचेको र सकभर यथार्थ बुझेको घटना नै लेखनका विषयवस्तुमा समेटिने गर्दछन् । 

सफल स्रष्टाका आवश्यक गुण के-के हुन् ?
गहिरो अध्ययन र चिन्तनशक्ति राख्ने, समाजप्रति संवेदनशील दृष्टिकोण भएको, सत्यमा निडर भएर लेख्न सक्ने, सरल तथा प्रभावशाली भाषा र शैली प्रयोग गर्न सक्ने खुबी भएको, साहित्यप्रति निरन्तर निष्ठा कायम राख्ने, आलोचना सहन सक्ने, विनम्र स्वभावको, आशावादी तथा सुधारको भावना बोक्न सक्नेलगायत जसको लेखनले पाठकका हृदय बदल्न सक्छ, जो सत्य, न्याय तथा मानवताको पक्षधर छ यस्ता गुणमध्ये धेरै गुण भएका स्रष्टा असल स्रष्टाको मान्यताभित्र अटाउन सक्छन् जस्तो लाग्छ । 

साहित्यमा कुन विधाका पाठक बढी भएको महशुस गर्नुहुन्छ ?
अहिलेको समयमा ठ्याक्कै यही विधाका पाठक बढी छन् भन्न अप्ठेरो छ । यद्यपि कविता र उपन्यासबीच पहिलो वा दोस्रोमा निकटतम प्रतिष्पर्धा होला भन्ने अनुमान गर्दछु । 

सृजनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला ?
साहित्यमा सजीवता र काल्पनिकता दुवै जरुरी हुन्छ । यथार्थ साहित्यले पाठकको मन छुने गर्छ किनकि उसले कथाभित्रका पात्रको रूपमा आफैंँलाई उभ्याएको हुन्छ । अनि सृजनामा काल्पनिकता नहुने हो भने त्यो तथ्यको सूचीमात्रै हुन्छ । साहित्यिक उद्देश्यअनुसार सन्तुलन मिलाउनुपर्ने हुन्छ । निष्कर्षमा भन्नुपर्दा सजीवता प्रधान र काल्पनिकता गौण रूपमा देखिनुपर्छ ।

लेख्नुपर्ने बाध्यता कतिबेला महशुस हुन्छ ?
जब मनभित्रका कुरा दबाउन सकिँदैन–तब मन बारम्वार अशान्त हुन्छ । जब पीडा अरूकै भए पनि आफ्नो बनेर आगोझैँ बल्न थाल्छ तब लेख्नु बाध्यता होइन– कर्तव्यको भान हुन पुग्छ  । यी र यस्तै विविध बाध्यतामा लेखक लेखनको अस्त्र छोड्न पुग्छ । 

नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि ?
हुन त सुझाव दिन सक्ने हैसियतमा म आफू छु जस्तो लाग्दैन । तथापि केही भन्नै पर्ने हुँदा मलाई लाग्छ कि ‘अनुकरण वा नक्कल होइन–आफ्नो पहिचान स्थापित गर्नुहोस् । धैर्यको साथसाथै निरन्तर अभ्यास गर्नुहोस् । राम्रो लेख्नका लागि राम्रो किताब पढ्ने बानी बसाल्नुहोस् । पढ्दा बुझेर पढ्नुहोस् । आफूले देखेको, भोगेको, महशुस गरेको विषयमा इमानदारीपूर्वक लेख्नुहोस् । लेखनमा सजावटभन्दा बढी सजीवतामा दिने प्रयास गर्नुहोस् । यो एकै दिनमा निपुण हुने यात्रा होइन । हरेस नखानुहोस् । आलोचनालाई स्वागत गर्नुहोस् ।

किन कोही स्रष्टा दलको झण्डामुनि ओत लाग्ने रहर गर्छन् ?
अधिकांश स्रष्टा समाज परिवर्तनको सपना बोकेर लेख्छन् । आफ्नो विचारधाराको प्रतिनिधित्व उक्त दलले पूरा गर्ने विश्वास लागेर पनि सच्चा स्रष्टा दलको झण्डामुनि रहन्छ । कोही स्रष्टा लेखेरभन्दा कार्यकर्ता भएर परिवर्तन ल्याउन चाहन्छन् । सबै स्रष्टाको उद्देश्य शुद्ध हुन्छ भन्न सकिँदैन । कोही दलको नजिक भएर केही अवसर पाउन चाहन्छन् । कोही विवशता र परिस्थितिको शिकार भई झण्डामुनि ओत लाग्न बाध्य भएका पनि देखिन्छन् । 

कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ ?
२०८२ भाद्र महिनामा ‘विमल अर्यालका कथाहरू’ नामक कथासङ्ग्रह प्रकाशन हुँदैछ । त्यसपछि बिस्तारै मुक्तक तथा सुसेलीका सङ्ग्रह पनि प्रकाशन गने योजना बनाएको छु ।  

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update