काठमाडौं - पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ । सुर्खेतदेखि अमेरिकासम्मको यात्रा, संघर्ष र सपनाको गन्तव्य पछ्याउन प्रेरित गर्ने उहाँको नियात्रा तथा स्मृतिसङ्ग्रह ‘घाटगाउँ’ मङ्गलबार विमोचन भएको हो ।
काठमाडौँको चियासागरमा पत्रकार तथा लेखक विवेकले आफ्ना साथी तथा पूर्वसहकर्मीका साथमा ‘घाटगाउँ’ पुस्तक सार्वजनिक गरे । सुर्खेतको चौकुने गाउँपालिका–९ घाटगाउँमा जन्मिएका उनले अध्ययन तथा संघर्ष गर्दै अमेरिकासम्मको यात्रा तय गरेपछि आफ्नै मातृभूमिको नाममा ‘घाटगाउँ’ पुस्तक लेखे ।
पाँचपोखरी प्रकाशन गृहबाट प्रकाशित उक्त पुस्तकमा उनले आफ्नो स्कुले जीवन, उच्च शिक्षा पढ्दाको संघर्ष, रेडियो तथा अनलाइन पत्रकारिताको उतारचढावसँगै पछिल्लो समय पर्यटन अभियानमा होमिँदाका आफ्ना चुनौतीपूर्ण भोगाइ समेटेका छन् ।
पुस्तक बिक्रीबाट आएको सम्पूर्ण रकम आफ्नै गाउँको सरस्वती माध्यामिक विद्यालयमा पुस्तकालय निर्माणमा खर्च गर्ने विष्णुले जानकारी दिए । ‘सुर्खेतदेखि अमेरिकासम्म पुग्दाको यर्थाथ, सपना र संघर्ष इमान्दारीपूर्वक पुस्तकमा लेखेको छु’, उनले भने, ‘सपनालाई माया गर्ने हरकोहीलाई यो पुस्तकको भोगाइ आफ्नै जस्तो लाग्नेछ ।’

