काठमाडौं - नेपाली कांग्रेस,मेलम्ची नगर कार्यसमितिका उपसभापति रामशरण गिरीले पदबाट राजीनामा दिएका छन् । सोमबार गिरीले सामाजिक सञ्जालमा नगर सभापतिलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन् । मेलम्ची नगरपालिका वडा नं-६ का पार्टीको तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरूले ऐन,कानुन र कार्यविधिको मर्यादा भन्दा बाहिर गई उनीको छविमा आँच पुर्याउने काम गरेको उनको आरोप छ ।
‘हाम्रो पार्टीको मुख्य जग नै विधिको सर्वोच्चता र कानुनी राज्य हो। तर,पछिल्लो समय मेलम्ची नगरपालिका वडा नं-६ हाम्रै पार्टीको तर्फबाट निर्वाचित हुनुभएका जनप्रतिनिधिहरूबाट प्रचलित ऐन,कानुन र कार्यविधिको मर्यादा भन्दा बाहिर गई म र मेरा विरुद्ध सिफारिस गर्ने लगायतका नीतिगत त्रुटिहरू भएको पाइयो’, उनले भने, ‘यस्ता गतिविधिहरूले पार्टीको छविमा आँच पुऱ्याउने मात्र नभई, सुशासनको उपहास समेत गरेको मेरो ठहर छ ।’
पटक-पटक नीतिगत कमजोरीहरू सच्याउन र कानुनको सर्वोच्चता कायम राख्न पार्टीका साथीहरु र जनप्रतिनिधिहरूबीच समन्वयको प्रयास गरेको पनि उनले बताए । ‘मेरो सुझाव र अडानलाई बेवास्ता गरी 'नीतिगत विचलन' लाई नै प्रश्रय दिने कार्य जारी रहेकाले,यस्तो गैर-कानुनी कार्यको साक्षी बस्नु मेरो नैतिकता र राजनीतिक इमानदारिताले स्वीकार गरेन’, उनले लेखेका छन्।
पदमा नरहे पनि नेपाली कांग्रेसको एक निष्ठावान कार्यकर्ताको रूपमा विधिको शासन र लोकतन्त्रको रक्षाका लागि म सधैं क्रियाशील रहने उनले बताए ।

