Harsamaya
इन्द्रावती वडा अध्यक्ष कपको उपाधि आयोजक वडा नं. ४ लाई
इन्द्रावती गाउँपालिका स्तरीय प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि आयोजक वडा नं. ४ ले हात पारेको छ ।

सिन्धुपाल्चोक - इन्द्रावती गाउँपालिका स्तरीय प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि आयोजक वडा नं. ४ ले हात पारेको छ । आज भएको फाइनल खेलमा वडा नं. ४ ले वडा नं. ५ लाई ३–१ को सेटमा पराजित गर्दै प्रथम वडा अध्यक्ष कपको उपाधि आफ्नै घरमा राख्न सफल भएको हो।

रोमाञ्चक तथा प्रतिस्पर्धात्मक फाइनल खेलमा वडा नं. ४ ले पहिलो सेट १७–२५ ले गुमाए पनि त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेट २५–१८, तेस्रो सेट २२–२५ र चौथो सेट २३–२५ ले आफ्नो पक्षमा पार्दै उपाधि जितेको हो।

उपाधि विजेता वडा नं. ४ ले ट्रफीसहित ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। त्यस्तै उपविजेता वडा नं. ५ ले ३० हजार रुपैयाँ तथा तेस्रो स्थान हासिल गरेको वडा नं. ८ ले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।

इन्द्रावती गाउँपालिका वडा नं. ४ को आर्थिक सहयोग तथा वडा खेलकुद समितिको आयोजनामा भदौ २६ गतेदेखि नवलपुर माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता सुरु भएको थियो। प्रतियोगितामा वडा नं. ४ भित्रका नौवटा टिमको सहभागिता रहेको थियो। आज फाइनल खेलसँगै प्रतियोगिता सम्पन्न भएको हो।

समापन कार्यक्रममा बोल्दै पूर्व गाउँपालिका अध्यक्ष वंशलाल तामाङले गाउँपालिकाका सबै वडामा यस्ता प्रतियोगिता आयोजना गर्न सके सबै युवाले आफ्नो प्रतिभा देखाउने अवसर पाउने बताए । यस्ता कार्यक्रमले युवाबीचको सौहार्दता कायम गर्न सहयोग पुग्ने उनको भनाइ थियो। खेलमा सबैले जित्न नसके पनि प्रत्येक खेलाडीले केही न केही नयाँ कुरा सिक्ने उनले बताए।

उनले खेलमा हुने ‘फेयर प्ले’ अर्थात् निष्पक्ष खेल भावनाले खेलकुद मात्र नभई राजनीति र राज्य सञ्चालनमा समेत सकारात्मक विद्रोह र परिवर्तनको भावना जन्माउन सक्ने धारणा राखे। गाउँपालिकामा फुटबललगायत विभिन्न खेलका संरचना निर्माणका लागि आफूहरूले काम गरेको स्मरण गर्दै उनले नवलपुरमा कभर्ड हल निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। युवाहरूलाई गाउँमै बस्ने वातावरण सिर्जना गर्न शिक्षा, रोजगारीसँगै खेलकुदको विकास पनि आवश्यक रहेको उनले बताए।

नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव बिलबहादुर तामाङले प्रतियोगितामा खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गरेकोमा खुसी व्यक्त गरे। खेलाडीको क्षमता विकासमा सम्बन्धित पक्षको महत्वपूर्ण भूमिका रहने बताउँदै उनले वडा नं. ४ ले प्रतियोगिता आयोजना गरेर खेलकुद क्षेत्रमा थप योगदान गरेको उल्लेख गरे । यस्ता प्रतियोगिता पालिकास्तरमा मात्र सीमित नराखी आगामी दिनमा जिल्लास्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्न पनि पालिकाले अग्रसरता लिनुपर्ने उनको भनाइ थियो । स्थानीय सरकारले खेलाडीलाई पर्याप्त अवसर दिनुपर्नेमा समेत उनले जोड दिए।

इन्द्रावती गाउँपालिका वडा नं. ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले खेलकुदले स्थानीय स्तरमा लुकेका प्रतिभालाई अवसर दिने, युवालाई स्वस्थ र अनुशासित बनाउने तथा आपसी भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने वडा अध्यक्ष तामाङले बताए। प्रतियोगितामा सहभागी सबै खेलाडीलाई बधाई दिँदै उनले आगामी दिनमा अझ ठूलो स्तरका खेलकुद प्रतियोगिता आयोजना गर्न आफूहरूलाई प्रेरणा मिलेको बताए ।

वडा नं. ७ का अध्यक्ष रविन्द्रकुमार खातीले प्रतियोगितामा सहभागी सबै खेलाडीलाई बधाई तथा आगामी दिनका लागि शुभकामना व्यक्त गरे। आगामी दिनमा सबै वडाले यस्ता प्रतियोगितामा सहभागिता जनाउनुपर्ने बताउँदै उनले खेललाई मैत्रीपूर्ण र सौहार्दपूर्ण बनाउन सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिए । खेलाडीहरूलाई अनुशासित भएर खेलकुदमा अगाडि बढ्न आग्रह गरे।

उत्कृष्ट सेटर रोशन अधिकारी उत्कृष्ट सर्भर मनीष श्रेष्ठ उत्कृष्ट स्पाइकर निरज श्रेष्ठ उत्कृष्ट डिफेन्डर उत्तम आले मगर र उत्कृष्ट खेलाडी भरत अधिकारी घोषित भए ।

प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३  २०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update