काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । दुवै टोली आजको खेल जित्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा छन् ।
जनकपुरको कप्तानी हरमित सिंहले गर्नेछन् भने पोखराको नेतृत्व कुशल भुर्तेलले सम्हाल्नेछन् । दुवै टोलीमा इफ्तिखार अहमद, जेम्स निसम, मोइन अली, शाकिब अल हसन र महेदी हसनजस्ता अन्तर्राष्ट्रिय खेलाडी रहेका छन् ।
यसअघि शनिबार भएको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको थियो । वर्षाका कारण पाँच ओभरमा झारिएको अर्को खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सले भने अंक बाँडेका थिए ।

