Harsamaya
‘फाउल प्लेले राज्यलाई विध्वंसतिर लैजान्छ’- कांग्रेस नेता बंशलाल तामाङ
नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता बंशलाल तामाङ ।

सिन्धुपाल्चोक - नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता तथा इन्द्रावती गाउँपालिकाका पूर्वअध्यक्ष बंशलाल तामाङले ‘फाउल प्ले’ ले राज्यलाई विध्वंसतर्फ लैजाने बताएका छन् ।

आइतबार इन्द्रावती गाउँपालिका–४ द्वारा आयोजित प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै तामाङले जित्ने अभिलाषामा नियम र अनुशासन मिच्न नहुने बताए ।

“जित्नेको नाममा फाउल प्ले गरियो भने त्यसको परिणाम असहज हुन्छ। त्यसले विद्रोह जन्माउन सक्छ,” तामाङले भने ।

उनले खेलकुदमा मात्र नभई राजनीति र राज्य सञ्चालन प्रणालीमा समेत नियम, विधि र अनुशासनको पालना आवश्यक रहेको बताए। “खेलमा होस्, राजनीतिमा होस् वा राज्य सञ्चालन प्रणालीमा, फाउल प्ले भयो भने राज्य विध्वंसतर्फ र समाज विघटनतर्फ जान्छ,” उनले भने।
तामाङले प्रतियोगितामा सहभागी खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै जित हासिल गर्ने लक्ष्य राख्नुपर्ने तर त्यसका लागि अनुशासन तोड्न नहुने बताए। उनका अनुसार खेलाडीले खेल जितेर प्रथम हुने, विद्यार्थीले अध्ययनमा उत्कृष्ट भएर प्रथम हुने र राजनीतिक दलले जनताको सेवा गरेर जनताको मन जित्दै अघि बढ्ने हो।

“प्रथम हुने अभिलाषा सबैमा हुन्छ। तर प्रथम हुने क्रममा अनुशासनको मूल्य अमूल्य हुन्छ,” उनले भने । त्यस्तै, बढ्दो शहरीकरणका कारण गाउँ रित्तिँदै गएको अवस्थामा भलिबल प्रतियोगिताजस्ता कार्यक्रमले गाउँलाई पुनः चलायमान र गुन्जायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने तामाङले बताए ।

प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३  २०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update