सिन्धुपाल्चोक - इन्द्रावती गाउँपालिका वडा नं. ४ को आर्थिक सहयोगमा इन्द्रावती गाउँपालिका स्तरीय प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता आजदेखि श्री नवलपुर माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु भएको छ।
भदौ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका ९ वटा टोलीले सहभागिता जनाएका छन्। प्रतियोगितामा प्रथम हुने टोलीले ४० हजार रुपैयाँ, द्वितीय हुने टोलीले ३० हजार रुपैयाँ र तृतीय हुने टोलीले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
खेलाडीको क्षमता विकास, नयाँ प्रतिभाको पहिचान तथा गाउँपालिकामा खेलकुद गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको अवसरमा गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले यस वर्षदेखि गाउँपालिकामा खेलकुद गतिविधिलाई प्राथमिकताका साथ अघि बढाइएको बताए। खेलकुदले स्थानीय स्तरमै खेलाडी उत्पादन गर्नुका साथै युवाको प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
अध्यक्ष नेपालले प्रतियोगिता अनुशासित, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्न आग्रह गर्दै हार–जित खेलको स्वाभाविक पक्ष भएको बताए। गाउँपालिका प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष शशिनाथ आचार्यले स्कोरमा हार–जित भए पनि खेलाडीले आफ्नो प्रदर्शनमार्फत दर्शकको मन जित्नुपर्ने बताए।
वडा नं. ४ का अध्यक्ष क्षेत्रबहादुर तामाङले आगामी दिनमा अन्य वडाले समेत खेलकुद प्रतियोगिता आयोजना गर्ने बताए। उनले ब्याडमिन्टन प्रतियोगितासमेत सञ्चालन गरिने जानकारी दिए। खेलकुद विकास कार्यक्रमअन्तर्गतको बजेटबाट आयोजना गरिएको प्रतियोगिताले युवाबीच भाइचारा, मित्रता र सकारात्मक प्रतिस्पर्धाको भावना विकास गर्ने उनको भनाइ छ।
आयोजक समितिका सचिव विनोद तामाङका अनुसार प्रतियोगिताको पहिलो दिन चार खेल सम्पन्न भएका छन्। पहिलो खेलमा वडा नं. ४ ‘ए’ ले वडा नं. ६ लाई पराजित गरेको छ। दोस्रो खेलमा वडा नं. ८ ले वडा नं. १० लाई हराएको छ। तेस्रो खेलमा वडा नं. ५ ‘ए’ ले वडा नं. ७ लाई पराजित गरेको छ।
पहिलो दिनको अन्तिम खेलमा वडा नं. ४ ‘ए’ र वडा नं. ५ ‘बी’ बीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा पनि वडा नं. ४ ‘ए’ विजयी भएको सचिव तामाङले जानकारी दिए।

