Harsamaya
मर्मत खर्च धान्न नसक्दा इन्द्रावतीका सवारीसाधन थन्किए, यसै वर्ष मर्मत गर्ने तयारी
इन्द्रावती गाउँपालिकामा बिग्रिएर राखिएका सवारीसाधन । ।

सिन्धुपाल्चोक - इन्द्रावती गाउँपालिकामा लामो समयदेखि सवारी साधन बेवारिसे बनेका छन्  । सेवा प्रवाहका लागि प्रयोग गर्दै आएका ६ वटा मोटरसाइकल, ३ वटा स्कुटर र एउटा एम्बुलेन्स लामो समयदेखि बिग्रिएर गाउँपालिका भवनको पछाडि बेवारिसे अवस्थामा छन्। मर्मत गर्दा खर्च धेरै लाग्ने भएपछि ती सवारीसाधन प्रयोगमा नल्याई थन्काइएको गाउँपालिकाले जनाएको छ।

इन्द्रावती गाउँपालिका प्रवक्ता शशिनाथ आचार्यका अनुसार थन्किएका सवारीसाधन २०७४ सालमा खरिद गरिएका हुन्। बिग्रिएका सवारीसाधन मर्मत गर्दा धेरै खर्च लाग्ने भएपछि प्रयोगमा नल्याइएको उनले बताए।

आचार्यका अनुसार ती सवारीसाधन खरिद गरेको २० वर्ष नपुगेकाले तत्काल लिलामी प्रक्रियामा लैजान पनि समयावधि पुगेको छैन। ‘खरिद भएको २० वर्ष पुग्नुपर्ने भएकाले अहिले लिलामी प्रक्रियामा लैजान मिल्ने अवस्था छैन,’ उनले भने ।

प्रवक्ता आचार्यका अनुसार गाउँपालिकामा नयाँ नेतृत्व आएपछि २०७९ सालमा १४ वटा मोटरसाइकल र ४ वटा स्कुटर खरिद गरिएको थियो। पुराना सवारीसाधन बिग्रिएर प्रयोगमा नआए पनि त्यसका कारण गाउँपालिकाबाट हुने सेवा प्रवाह भने प्रभावित नभएको उनको दाबी छ।‘बिग्रिएर बसेका सवारीसाधन प्रयोगमा नआए पनि कर्मचारीले दिने सेवा प्रवाह कतै पनि रोकिएको छैन,’ आचार्यले भने।

गाउँपालिकाका सूचना अधिकृत सन्तोष सापकोटाका अनुसार सञ्चालन गर्न नसकिने अवस्थामा पुगेका सवारीसाधन थन्किएका हुन्। मर्मत गरेर पनि सञ्चालनमा ल्याउन नसकिने अवस्था आएपछि ती सवारीसाधन छुट्टै राखिएको उनले बताए।

यता, गाउँपालिकाको जिन्सी शाखा प्रमुख निराजन गिरीले भने बिग्रिएका सवारीसाधनको जाँचबुझ गरेर मर्मत गर्न सकिने अवस्थाका सवारीसाधनलाई चालु आर्थिक वर्षमै मर्मत गरी सञ्चालनमा ल्याइने बताएका छन्। उनका अनुसार जाँचबुझपछि कुन सवारीसाधन मर्मत गर्न सकिने र कुन प्रयोग गर्न नसकिने अवस्थामा छन् भन्ने टुंगो लाग्नेछ। 

स्थानीय गौरव भट्टले भने गाउँपालिकाले नयाँ मोटरसाइकल तथा सवारीसाधन खरिद गर्नुअघि हाल उपलब्ध सवारीसाधनको अवस्था मूल्याङ्कन गरी आवश्यक मर्मत–सम्भार गरेर अधिकतम उपयोगमा ल्याउनुपर्ने बताए। ‘जनताको करबाट संकलित रकम खर्च हुने भएकाले अनावश्यक रूपमा नयाँ सवारीसाधन थप्नु भन्दा पुराना सवारीसाधनलाई व्यवस्थित, सुरक्षित र जिम्मेवार ढङ्गले सञ्चालन गर्नु उपयुक्त हुन्छ,’ भट्टले भने।

पुराना सवारीसाधन मर्मत गरेर प्रयोग गर्न सकिने अवस्थामा नयाँ खरिद गर्नु आर्थिक रूपमा मितव्ययी र जनउत्तरदायी निर्णय नहुने उनको भनाइ छ। अत्यावश्यक अवस्थामा मात्र प्राविधिक प्रतिवेदनका आधारमा नयाँ सवारीसाधन खरिद गर्नुपर्ने उनले बताए।

‘पहिले भएका साधनको सदुपयोग, अनावश्यक खरिदमा नियन्त्रण र सार्वजनिक स्रोतको संरक्षण नै इन्द्रावती गाउँपालिकाको प्राथमिकता हुनुपर्छ,’ भट्टले भने। यसबाट गाउँपालिकाको खर्च घट्नुका साथै बचत भएको रकम शिक्षा, स्वास्थ्य, सडक, खानेपानी तथा जनताको प्रत्यक्ष आवश्यकताका क्षेत्रमा लगानी गर्न सकिने उनको सुझाव छ।

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  ०७:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update