Harsamaya
थापालाई खड्काको आग्रह : १५औँ महाधिवेशन स्थगित गरी कांग्रेस एकताका लागि संवाद थाल्नुस्
नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का ।

काठमाडौं - नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई १५औँ महाधिवेशनको कार्यतालिका स्थगित गरी पार्टी एकताका लागि तत्काल संवाद थाल्न आग्रह गरेका छन्।

खड्काले सामाजिक सञ्जालमार्फत सभापति थापालाई विशेष महाधिवेशनबाट अघि बढेको निर्णयबारे गम्भीर आत्मसमीक्षा गर्न आग्रह गर्दै भदौ ३ गतेदेखि सुरु हुने भनिएको १५औँ महाधिवेशन केही समयका लागि सार्न सुझाव दिएका हुन्।

उनले १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा र अग्रज नेताहरूसँग थापाकै अग्रसरतामा तत्काल वार्ता तथा संवाद सुरु गर्नुपर्ने बताएका छन्।

खड्काले कांग्रेसका दुई अलग–अलग महाधिवेशन रोक्न नसके पार्टी विभाजन हुन सक्ने चिन्ता व्यक्त गरेका छन्। साथै, कांग्रेस विभाजनपछि अन्य राजनीतिक दलमा समेत विभाजनको प्रभाव पर्न सक्ने र देशमा जातीय, क्षेत्रीय तथा धार्मिक द्वन्द्व बढ्न सक्ने आशंका व्यक्त गरेका छन्।

उनले थापालाई कानुन, अदालतको निर्णय र पार्टी विधानका कारण समस्या नपर्ने विश्वास व्यक्त गर्दै विगतका घटनाक्रम र प्राप्त सुझावबाट गम्भीर समीक्षा गरी निर्णायक कदम चाल्न आग्रह गरेका छन्।

‘तत्काल निर्णायक र साहसिक कदम चाल्नुस् अनि सम्पूर्ण एकताको सिङ्गो कांग्रेसको सभापति बन्नुस्,’ खड्काले भनेका छन्।

खड्काले पार्टी एकताको प्रयासमा आफू कुनै पनि महत्वाकांक्षाबाट मुक्त भएर आवश्यक त्याग गर्न तयार रहेको समेत बताएका छन्।

प्रकाशित मिति: बिहीबार, असोज १, २०८३  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update