Harsamaya
सिन्धुपाल्चोक–२ मा विरासत जोगाउने दाउमा वंशलाल, युवराज र शेरबहादुरको आ-आफ्नै रणनीति
ग्राफिक्स: हर समय/Har Samaya

नवलपुर - पशुपति शम्शेर राणाले करिब ३० वर्ष वर्चश्व जमाएको क्षेत्र हो सिन्धुपाल्चोक क्षेत्र नम्बर २ । त्यसैले पनि यो क्षेत्रको निर्वाचन परिणाम कस्तो आउला भनेर धेरैले रुचिपूर्वक हेर्दै आएको पाइन्छ । 

२०६० यता शक्ति गुमाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका शम्शेरले २०७४ मा कांग्रेससँग मिलेर अन्ति चुनाव लडे । उक्त निर्वाचनमा एमालेका शेरबहादुर तामाङ ३८ हजार ४०१ मत पाएर निर्वाचित भएका थिए । तामाङलाई त्यतिबेला माओवादीको पनि साथ थियो । कांग्रेससँग चुनावी एकता गरेका राप्रपाका शम्शेरले भने ३० हजार ३६९ मत पाए ।

२०७९ को निर्वाचनको नतिजा पनि रोचक रह्यो । यो क्षेत्रमा माओवादीको साथ पाएसँगै कांग्रेसले इतिहासमै पहिलो जित निकाल्यो । जिल्लाको क्षेत्र नम्बर १ बाट राजनीति गर्दै आएका पूर्वमन्त्री मोहन बस्नेत आएसँगै यो क्षेत्रमा कांग्रेसले ऐतिहासिक जित निकालेको थियो । बस्नेतले ३९ हजार ३८१ मत पाउँदै निर्वाचित हुँदा एमालेका शेरबहादुरले २७ हजार ५१५ मत ल्याएका थिए । 

यही विरासत जोगाउन भन्दै कांग्रेसले यसपटक वंशलाल तामाङलाई टिकट दिएको छ । वंशलाल उनै नेता हुन् जसले इन्द्रावती गाउँपालिकाको अध्यक्ष बनेर विकासमा प्रतिबद्ध रहेको परिचय दिइसकेका छन् । संघीय निर्वाचनमा पहिलोपटक प्रतिस्पर्धामा उत्रेका उनी सानैबाट कांग्रेस राजनीतिमा भिजेकाले यसपटक यो क्षेत्रको मतदाताको आकर्षित रहेको बताइन्छ । उनी अहिले पाँचपोखरी,हेलम्बुको गाउँ बस्तीमा मतदाता संग मत माग्न व्यस्त छन् । 

२०३० सालदेखि यो क्षेत्रको राजनीतिक केन्द्रमा रहेका ८४ वर्षे शम्शेरले भने ३५ वर्षे इन्जिनियर गोपीकृष्ण चौलागाईलाई आफ्नो उत्तराधिकारी बनाएका छन् । शम्शेरले ६० सालयता आफू पराजित भएसँगै यो क्षेत्रमा विकासका गतिविधि रोकेको दाबी गरेका छन् । केही दिनअघिमात्र उनले चौलागाईंलाई जिताउन आग्रहसमेत गरेका छन् ।  

यो क्षेत्रबाट पटकपटक जित निकालिसकेका एमालेका शेरबहादुर यसपटक पनि जित निकाल्ने दाउमा छन् । संविधान सभा निर्वाचन देखि प्रतिनिधि सभा निर्वाचन जितेर पशुपति शम्शेरको एकल राज तोडेका तामाङ मन्त्रीसमेत भइसकेका छन् । कुनै पनि दलले चुनावी गठबन्धन नगर्दा जित आफ्नो पक्षमा पर्ने दाबीका साथ तामाङ चुनावी मैदानमा छन् । 

यता नेकपाबाट उम्मेदवार बनेका दुलाल बागमती प्रदेश सभा सदस्य हुँदै पटक–पटक प्रदेश मन्त्री भइसकेका छन् । दुलाल नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड निकट नेता हुन् । बागमती प्रदेशमा मन्त्री हुँदा दुलालले यो यो क्षेत्रमा विकासका योजनाहरु भित्र्याएका कारण क्षेत्रबासीमा लोकप्रिय छन् । दुईपटक प्रदेश सभा सदस्य निर्वाचित दुलाल पहिलो प्रयासमै संघीय संसद छिर्ने दाउमा छन् ।

रास्वपाले यहाँ झलक श्रेष्ठलाई उम्मेदवार बनाएको छ। अघिल्लो निर्वाचनमा रास्वपाकी माया गुरुङले २ हजार ४५३ मत पाएकी थिइन्। झलक घरदैलोका साथै सामाजिक सञ्जालबाट चुनावी माहोल आफ्नो पक्षमा पार्ने रणनीतिका साथ अघि बढेका छन्। देशभर नयाँ दलप्रति आकर्षण बढिरहेको समयमा श्रेष्ठले पनि जित आफ्नो पक्षमा पार्ने दाउमा लागेका देखिन्छन्।

यो क्षेत्रमा समानुपातिकतर्फ २०७९ मा एमालेले २३ हजार ९९५ मत पाउँदा कांग्रेसले २० हजार ७०६ मत ल्याएको थियो। माओवादी केन्द्रले १५ हजार ५५६ मत पाएको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टीले ५ हजार १५४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ हजार ६२१ मत ल्याएका थिए।

यो क्षेत्रमा चौतारा साँगाचोकगढी नगरपालिकाका १, ५, ६, ७, ८, ११, १२, १३ र १४ नम्बर वडा, मेलम्ची नगरपालिका, इन्द्रावती, पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिका समेटिएका छन्। यस क्षेत्रमा ६३ मतदान स्थल र १ सय ६६ केन्द्र रहेका छन्। निर्वाचन आयोगका अनुसार यो क्षेत्रमा कुल मतदाता १ लाख ३८ हजार १३ रहेका छन्।

फागुन २१ गते हुन लागेको निर्वाचनका लागि यो क्षेत्रका १८ जनै उम्मेदवार मतदाता रिझाउन घरदैलो उत्रन थालेका छन्। उम्मेदवारहरु सहरी मतदाता रिझाउन काठमाडौंका पार्टी प्यालेसदेखि बाङ्क्वेटमासमेत कार्यक्रमहरु गर्न थालेका छन्।

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update