काठमाडौं - सेना दिवसमा विदेशी सेनाले टुँडिखेलमा दिएको प्रस्तुतिले सामाजिक सञ्जालमा चर्चा पाएको छ । धेरैले अमेरिकी सेना आएर परेड खेलेको भनेर सेनाको आलोचनासमेत गरेका छन् । केहीले यसलाई एमसीसी आएपछि अमेरिकी सेना नेपाल आएको भनेर सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । तर नेपाली सेनाले भने यो नियमित ब्याण्ड पर्फमेन्स भएको जनाएको छ ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले विगत वर्षहरूमा जस्तै यो वर्ष पनि आर्मी डेको प्रोगाममा विदेशी ब्याण्ड टोली आएको बताए । त्यसैगरी नेपाली सेनाको ब्याण्डसँगै भारतीय सेना, अमेरिकी सेना, बेलायती सेनाले ब्याण्डले ब्याण्ड डिस्प्ले गरेको उनले जानकारी दिए ।
‘उनीहरूकोमा पर्फमेन्स देखाउन हाम्रो ब्याण्ड पनि जान्छ’, बस्नेतले भने, ‘भारतको आर्मी डेमा हाम्रो ब्याण्डले त्यहाँ पर्फमेन्स देखाएको थियो ।’ त्यो भिडियो धेरै आएको थियो । विगत १० वर्षदेखि आर्मी डेमा विभिन्न देशका ब्याण्डहरू आएर पर्फमेन्स गर्ने गरेको उनले बताए ।
‘अमेरिकाले मात्रै होइन विभिन्न देशका ब्याण्ड टोलीले पालैपालो पर्फमेन्स देखाएको छ’, उनले भने, ‘मिलिट्री टु मिलिट्री’ कोअपरेशन अन्तर्गत सेना दिवसमा भाग लिने विश्वव्यापी प्रचलन हो ।’
अहिले युथ एक्स्चेन्ज कार्यक्रम अन्तर्गत भारतको नेसनल क्याडेट कोर्स, पाकिस्तानको नेसनल क्याडेट कोर्स, माल्दिभ्स र भुटानको नेसनल क्याडेट कोर्सको टिम नेपालमा छ । त्यो टिम आर्मीले लिड गरेर ल्याएको उनले बताए ।

