काठमाडौं - काठमाडौं उपत्यकामा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारी साधन ट्राफिक प्रहरीले खोजतलास गरी सम्बन्धित धनीलाई फिर्ता गरेको छ ।
शुक्रबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले २५ वटा स्कुटर र २५ वटा मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण गरेका हुन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार चालु आर्थिक वर्षमा चोरी तथा हराएका ३०३ वटा सवारी साधन फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको छ ।
त्यस्तै, मोटरसाइकल चोरीमा संलग्न रहेको आशंकामा ३४ जनालाई पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी परिसरमा पठाइएको छ । कारबाहीका क्रममा तीन वटा चारपाङ्ग्रे गाडी र दुई वटा मोटरसाइकल भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रवक्ता सुवेदीले सवारी साधन चोरी नियन्त्रणका लागि जनशक्ति र प्रविधिको प्रयोग बढाइएको बताए । उनले अर्काको सम्पत्ति खोसेर आफ्नो खुसी खोज्ने कार्य गम्भीर अपराध भएको उल्लेख गर्दै चोरीमा संलग्नलाई कानुनी कारबाही गरिने बताए ।
ट्राफिक प्रहरीले सवारी साधन चोरीबाट जोगाउन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्यान्डिल लक तथा डिस्क लक प्रयोग गर्न, सुरक्षा साइरन र जीपीएस जडान गर्न तथा सुनसान स्थानमा पार्किङ नगर्न आग्रह गरेको छ ।
सवारी साधन चोरी भएमा ट्राफिक प्रहरीको हटलाइन १०३, नेपाल प्रहरीको १०० नम्बरमा सम्पर्क गर्न वा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ ।

