काठमाडौं - सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले पीडित महिलाको निवेदनका आधारमा अनुसन्धान गरी उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार प्रेम सम्बन्धमा रहँदा खिचिएका तस्वीर तथा भिडियो सामाजिक सञ्जाल टेलिग्राममार्फत सार्वजनिक गरी महिलाको चरित्र हत्या गरेको आरोपमा इलामको माई नगरपालिका–१ का २९ वर्षीय विकल्प राई पक्राउ परेका छन् । उनलाई कात्तिक १९ गते काठमाडौंको पर्यटन मार्ग क्षेत्रबाट पक्राउ गरिएको हो ।
त्यस्तै, सामाजिक सञ्जाल ‘एक्स’ मार्फत पीडित महिलाको अश्लील भिडियो तथा तस्वीर सार्वजनिक गरिदिने धम्की दिँदै चरित्र हत्या गरेको आरोपमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–५ का ३० वर्षीय सुजन पाण्डे पक्राउ परेका छन् । उनलाई पनि कात्तिक १९ गते काठमाडौंको तारकेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुवै जनामाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुरमा अनुसन्धान भइरहेको छ । काठमाडौं जिल्ला अदालतबाट विकल्प राईलाई पाँच दिन र सुजन पाण्डेलाई चार दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको साइबर ब्युरोले जनाएको छ ।

