Harsamaya
इन्द्रावतीका गाउँबस्तीमा कांग्रेस उम्मेदवार बंशलाल तामाङको घरदैलो 
सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं. २ का नेपाली कांग्रेसका उम्मेदवार बंशलाल तामाङ ।

सिन्धुपाल्चोक - सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं. २ का नेपाली कांग्रेसका उम्मेदवार बंशलाल तामाङ यतिबेला आफ्नै गृहपालिका इन्द्रावती गाउँपालिकामा मतदाता भेटघाट तथा मत माग्ने अभियानमा व्यस्त रहेका छन्।

मंगलबारबाट सुरु भएको अभियानअन्तर्गत तामाङले इन्द्रावतीका विभिन्न गाउँबस्तीमा पुगेर मत माग्न थालेका हुन्।

तामाङले २०७४ सालमा आफू गाउँपालिका अध्यक्ष निर्वाचित हुँदा गरेको कामबाट इन्द्रावतीवासी परिचित रहेको उल्लेख गर्दै भौतिक पूर्वाधारदेखि विकासका अन्य कामहरू देखिने गरी सम्पन्न भएको दाबी गरे। उनले यसपटक पनि आफूलाई मत दिएर विजयी गराउन मतदातासँग आग्रह गरे।

जनताको समस्या नै आफ्नो समस्या भएको बताउँदै तामाङले कांग्रेसले चुनाव जिते विकास सम्भव हुन्छ भन्ने विश्वास दिलाउन सकिने बताए।

इन्द्रावती गाउँपालिका वडा नं. ४ प्रचारप्रसार समितिले आयोजना गरेको कार्यक्रममा पाँच पालिकाको समग्र अवस्था हेर्दा नेपाली कांग्रेसले चुनाव जित्ने दाबी गरिएको थियो। कार्यक्रममा एकजुट भएर अभियानमा लागेको र यही गतिमा अघि बढे चुनाव जित्ने विश्वास व्यक्त गरिएको थियो।

तामाङले इन्द्रावती गाउँपालिकाका सबै १२ वटै वडामा पुगेर मत माग्ने कार्यक्रम रहेको जनाइएको छ।

प्रकाशित मिति: बुधबार, माघ २८, २०८२  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update