काठमाडौं - सिन्धुपाल्चोक - २ कांग्रेसका उम्मेदवार बंशलाल तामाङलाई जिताउन काठमाडौँमा युवाहरूको भेला भएका छन् । सोमबार मेलम्ची नगरपालिका भित्रका युवाहरू कार्यक्रममा एकजुट देखिएका छन् ।
युवा भेलालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य शिव सुनारले पार्टीभित्र परिवर्तन भइसकेको बताउँदै भ्रष्टाचार अन्त्य गर्न कांग्रेसले अग्रणी भूमिका खेल्ने दाबी गरे। उनले उम्मेदवार तामाङ इन्द्रावती गाउँपालिकाको नेतृत्वमा रहँदा इमान्दार रूपमा काम गरेको र विदेशमा आर्जित ज्ञान–सीपलाई विकासमा प्रयोग गर्ने तयारी गरेको बताए।
त्यस्तै, नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्व जिल्ला सचिव तथा महाधिवेशन प्रतिनिधि बिल बहादुर तामाङले युवाहरू राजनीतिप्रति सचेत हुनुपर्ने बताए। उनले भने, “राजनीति कतातर्फ गइरहेको छ भन्ने कुरामा युवा सचेत हुनुपर्छ। नेतृत्वले गलत गर्यो भने हामीले औँला उठाउन सक्नुपर्छ। लोकतान्त्रिक राज्य निर्माण र लोकतन्त्रको संरक्षणका लागि नेपाली कांग्रेसलाई विजयी गराउन आवश्यक छ।”
त्यस्तै प्रतिनिधि सभा क्षेत्र नं. २ का उम्मेदवार बंशलाल तामाङले नेपाली कांग्रेसले आत्मसमीक्षा गर्दै सुधारको बाटो समातेको उल्लेख गरे। उनले सन्तुलित विकासको अवधारणा कांग्रेसले अघि बढाउने बताए।
उनका अनुसार हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकालाई “अर्गानिक भ्याली” का रूपमा विकास गरी युवालाई रोजगारी सिर्जना गर्न सकिनेछ। उनले पाँच वर्षभित्र बृहत् योजना बनाएर क्षेत्र नं. २ लाई विकसित बनाउने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै मेलम्ची नगरपालिका–१० का वडाध्यक्ष तथा वडासभापति अमृत खनालले मेलम्ची नगरपालिकामा कांग्रेस विजयी भएपछि विकासले गति लिएको र युवामैत्री कार्यक्रमहरूलाई प्राथमिकता दिइएको बताए।
युवा नेता भिम बिकले कांग्रेस उम्मेदवार तामाङलाई विजयी गराउन आफूहरू सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे।

