Harsamaya
आर्टिस्ट सुनिल रंजितलाई तीन प्रश्न
ग्राफिक्स: हर समय/Har Samaya

सुनिल रंजित, आर्टिस्ट हुन् । उनी आफूलाई ‘भिजुअल आर्टिस्ट’ भन्न रुचाउँछन् । उत्तरढोका लाजिम्पाटमा रहेको सिर्जना कलेज अफ फाइन आर्टका उनी सञ्चालक हुन् । उक्त कलेजले प्रत्येक वर्ष विभिन्न कलाको प्रदर्शनी गर्ने गर्दछ। आर्टको सेरोफेरोमा रहेर हर समयले ‘भिजुअल आर्टिस्ट’ सुनिल रंजितलाई तीन प्रश्न गरेको छ ।

आर्ट गरेर बाँच्न सकिन्छ ?
आर्ट मात्रै गरेर बाँच्ने भन्ने कुरा हाम्रो देशमा मात्र होइन विश्व भरिनै अलिकति गाह्रै कुरा हो । तर, राम्रो रचना गरी राख्ने मान्छेलाई गाह्रो छैन। अचेल नेपालमा आर्ट कलेक्टरहरू पनि छन् । जसले आर्ट किन्दै राख्छन् । जुन आर्टको भ्यालु बढ्दै जान्छ । आफूसँग पैसा हुँदा कलेक्सन गर्यो अनि केही समय पछि त्यो कलाको भ्यालु बढ्छ। जस्तै विदेशका कैयौँ आर्टिस्टहरूको पेन्टिङ मिलियनमा बिक्री हुन्छ  त्यसकारण आफूसँग अलि अलि पैसा हुनेले अलि अलि आर्ट एण्ड क्राफ्टमा खर्च गर्छ, कलेक्सन गर्छ । मान्छेहरूले आफ्नो पुस्तामा नभएपनि अर्को आउने पुस्ताले त्यसको भ्यालू बुझ्दछ। एउटा पेन्टिङ बेचेर अति धनी भएको कथाहरू पनि छन् ।

आर्टमा नेपाल सरकारले गरेको लगानीबारे के भन्नुहुन्छ ?
आर्टिस्टले साँच्चै देशका लागि एक किसिमको जनशक्ति तयार पार्ने जिम्मेवारी बोध भएर हामीले काम गरिरहेको हो । सिर्जना कलेज अफ फाइन आर्टले सिर्जना कन्टेम्पोररी ग्यालरी भन्ने थियो जहाँ हामीले देश विदेशबाट आउने कलाकारहरूलाई सम्मान गर्ने, जिन्दगी भरि आर्टमा लागेर आफ्नो जीवनको उतरार्धमा पुगिसकेको आर्टिष्टहरूलाई बटुलेर मद्दत गर्ने लगायत काम गर्थ्यौ । जुन राज्यले गर्नुपर्ने हो । राज्यले त्यस्तो बजेट छुट्याएको छैन । फाइन आर्ट एकेडेमीलाई जम्मा वर्षको ३ करोड कि कति बजेट आउँछ, ४-५ वटा गाडी छ, पेट्रोल नै कति जाला, ५०औं स्टाफ छ । त्यो बजेटले के हुन्छ ? राज्यले गर्नु पर्ने काम र गर्न सक्ने ठाउँ धेरै छ । राज्यमा मुख्य पदमा बस्ने मान्छेहरूलाई मतलब नै छैन ।

नयाँ आउने नेताहरूमा बिस्तारै लगानी गर्ने सोच आउँला, तर त्यस्तो बजेट छुट्याएको पाइन्न । बजेट छुट्यायो भने निकै राम्रो । जस्तै बंगलादेशको उदाहरण दिँदा त्यो नेपाल भन्दा धेरै पछि बनेको देश हो। तर त्यहाँ सिस्टमले कस्तो बनाई दिएको छ भने कुनै पनि बिजनेस हाउसले , बैंक, विभिन्न ठूलो संस्था आदिले आर्ट एण्ड क्राफ्टमा उनीहरूको नाफाको केही प्रतिशत खर्च गरे बापत  सरकारले के-के सुविधा दिने कानुन बनेको छ । त्यो गरे पश्चात् त्यहाँका आर्टिस्टहरुले काम पाए । व्यापारी न परे जहाँ पाए त्यहाँ कहाँ खर्च गर्छ ? राम्रै ठाउँमा पैसा हाल्छ । उनीहरूले आर्टिस्टहरुलाई स्पोन्सर गर्ने, कार्यक्रम गराउने, पेन्टिङ किन्ने लगायत गरेपछि त्यहाँ आर्टले स्पेस पायो । अरू चीज नभए पनि आर्टमा उनीहरूको निकै राम्रो भैरहेको छ । त्यस्तै नीति नियम यहाँ बनाउनु पर्ने हो ।अब यो बनाउनलाई पनि बुद्धि हुनुपर्यो । 

कस्ता आर्टहरू किन्न सुझाव दिनुहुन्छ ?
आर्ट त किन्ने तर जे पनि किन्ने होइन । अलिकति आफूले बुझेर , अलिकति अध्ययन गरेर किन्नु पर्छ । सेयरमा लगानी गर्दा अन्धाधुन्ध लगानी त गरिँदैन । बजारको बारेमा अलिकति बुझेर, गहन अध्ययन पश्चात‍्मात्र हामी लगानी गर्छौ । त्यस्तै आर्टमा पनि त्यो कस्तो आर्ट हो ? इतिहास के हो ? आर्टिस्ट कतिसम्म पुग्न सक्छ ? कहिले देखि कस्ता आर्ट गरेका छन् लगायत सबै कुराहरू विचार गर्नुपर्छ । भिडाउन आयो भन्दैमा किन्नु भएन । तर, रियल आर्ट भ्यालू  भएको आर्टिस्टको आर्टहरू संकलन गर्नुपर्छ। आर्ट भनेको सम्पति हो । देशकै सम्पति हो । दौडधुपमा लाग्ने आर्टिस्टको किन्यो भने समयले आर्टिस्टलाई फ्याँक्छ अनि किनेको आर्टको मूल्य पनि सोचे बमोजिम नहुन सक्छ।

 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  ११:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update