Harsamaya
साहित्यकार मोमिला जोशीलाई तीन प्रश्न
ग्राफिक्स : हर समय/Har Samaya

धनकुटामा वि.सं. २०२४ मा जन्मिएकी मोमिला जोशी नेपाली कविता, निबन्ध र समालोचनामा क्रियाशील स्रष्टा हुन्। नेपाली विषयमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी जोशी प्राध्यापन पेशासँगै साहित्यिक लेखनमा पनि सक्रिय छिन्।

उनको पहिलो कविता ‘प्रतीक्षा फेरि चिताको’ रूपरेखा पत्रिकामा प्रकाशित भएको थियो। हालसम्म उनले ‘पैयुँ फुल्न थालेपछि’, ‘नीलो–नीलो आकाश’ र ‘दुई थोपा आँसु’, ‘भीमसेन थापाको सुसाइड नोट’ लगायत आधा दर्जन कविता/निबन्ध संग्रह प्रकाशित गरिसकेकी छन्। दुईवटा कृति अङ्ग्रेजी भाषामा पनि प्रकाशित छन्।

उनी दर्जनौं संघसंस्थामा आबद्ध छिन् र दुई दर्जनभन्दा बढी सम्मान प्राप्त गरिसकेकी छिन्। कला साहित्य डट कम प्रतिष्ठान की अध्यक्ष समेत रहेकी जोशीले नेपाली साहित्यलाई देश–विदेशमा प्रचारप्रसार गर्न महत्वपूर्ण भूमिका खेलेकी छिन्। उनका काव्यले बौद्धिक गहिराइ छोएको भन्दै प्रा.डा. गोविन्दराज भट्टराईले उनलाई देवकोटा र शंकर लामिछानेपछिको सशक्त नामको रूपमा चिनाएका छन्।

धनकुटामा जन्मिएर नेपाली साहित्यमा मौलिक योगदान दिँदै आएकी मोमिला जोशीसँग हर समयले राखेको तीन प्रश्न  ।

तपाईंको साहित्यिक आदर्श के हो ?
विशिष्ट विद्रोह चेतनासहित असल प्रतिपक्षको भूमिकायुक्त ‘असतो मा सद्गमय, तमसोमा ज्योतिर्गमय, मृत्योर्मा अमृतं गमय’ नै मेरो साहित्यिक आदर्श हो । मेरो विचारमा विद्रोह चेत भनेको विरोध होइन–सत्यको खोज हो । यसरी समाजमा भइरहेका असत्य, अँध्यारो, मृत्युको बोध गराउने जीवन विरोधी सम्पूर्ण कृत्यको अनुष्ठानमय उत्खनन गर्नु र त्यसबाट मुक्तिको खोजी गर्नु मेरो साहित्यिक कर्मको धर्म या आदर्श मानेकी छु ।

तपाईंका विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?
मेरो विचारमा अहंकारको प्रवेश भयो भने प्रेम र लेखनी दुवैलाई विरूप बनाइदिन्छ यसैले अहंकारहीन भएर साँच्चो प्रेम गर्नुजस्तै लेखनी पनि अहंकार फुकालेर लेख्नुपर्छ– जसको आवाज र स्पर्शले हाम्रो हृदय र मस्तिष्कका तारलाई उत्तिकै झङ्कृत पारून्– जसलाई आँखा चिम्लेर परमानन्दको बोध गरेझैं अँध्यारोमा पनि चिन्न सकियोस्, महसुस गर्न सकियोस् जसलाई प्रकृतिको प्रत्यक्ष सिर्जना शिरीष र गुलाबभन्दा अलि प...र शिरीषजस्तो, गुलाबजस्तो कसैलाई प्रेमिल उपहार दिन पनि सकियोस् अनि जसको प्रासङ्गिकता कहीँ, कतै र कहिल्यै नमरून्।

नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि ?
हरेक मान्छे आफैंमा युनिक हुने हुनाले हरेक लेखकले पनि आ-आफ्नै स्वतन्त्र रङ्ग, ढङ्ग,सुर र लयमा आफ्नो लेखनीको युनिक पहिचानसहित जीवन र लेखनको मार्ग पहिल्याउन सके त्यो नै निकै ठूलो लेखकीय न्याय हुने छ । यद्यपि यो त्यतिबेलामात्र सार्थक हुन्छ– जतिखेर एउटा लेखक साँचो लेखक नै भएर आडम्बरहीन बाँच्छ र सोहीअनुसार लेख्छ ।
फेरि पनि प्रश्नहरू त बाँकी नै रहन्छन्... ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  ०७:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update