विगत २८ वर्षदेखि नेपालको निर्यात व्यवसायको संसारमा आफ्नो बलियो पहिचान बनाएका स्थापित व्यवसायी एवं समाजसेवी हरि ढकाल आख्यानकारका रूपमा नेपाली साहित्यको आकाशमा उदाएका छन् ।
व्यापारका अंकगणितसँग जीवन बिताएका ढकालले यसपटक मानिस, समाज, समय र चेतनाका जटिल समीकरणलाई शब्दमा उतारेका छन्। उनको पहिलो कथासंग्रह ‘महाप्रश्न’ यही यात्राको सशक्त सुरुआत हो।
नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात प्रेक्ष्यालयमा आयोजित भव्य समारोहबीच उनको पहिलो आख्यान कृति ‘महाप्रश्न’ कथा संग्रहको लोकार्पण गरिएको छ ।
गोरखामा जन्मिएका ढकाल विगत २८ वर्षदेखि निर्यात व्यवसायमा सक्रिय छन्। व्यापारिक सरगर्मी र देश-विदेशको दौडधूपबाट फुर्सद निकालेर शब्दहरूसँग मितेरी गाँसेका ढकालको यो कृति केवल ११ वटा कथाहरूको सँगालो मात्र होइन, विगतको सामाजिक यथार्थ र वर्तमानको युवा मनोविज्ञानबीचको एउटा बलियो पुल हो ।
इटर्नल पब्लिकेशन प्रा.लि. द्वारा प्रकाशित तथा हरिहर तिमल्सिनाद्वारा सम्पादित यस कृतिले पाठकलाई केवल कथा मात्र सुनाउने छैन, जीवन र समाजका अनेकन् ‘महाप्रश्न’ माथि घोत्लिन बाध्य पार्ने विश्वास लोकार्पण कार्यक्रमका वक्ताहरूले व्यक्त गरेका छन्।
यसै सन्दर्भमा इटर्नल पब्लिकेशन प्रा.लि.का प्रबन्ध निर्देशक तथा पुस्तकका लेखक हरि ढकालसँग हर समयले गरेको संवादको अंश यहाँ प्रस्तुत गरिएको छ :
विगत २८ वर्षदेखि तपाईं निर्यात व्यवसायमा हुनुहुन्छ, व्यवसाय र साहित्यलाई सँगै लैजान कत्तिको गाह्रो हुने रहेछ ? व्यापारभन्दा साहित्यिक रचना कत्तिको फरक पाउनुभयो?
पक्कै पनि बिजनेसभन्दा साहित्यिक रचना गर्नलाई गाह्रै पर्छ। यो त्यसै सिर्जित हुने चिज होइन । यसमा अलिकति लगाव र सोच्ने शैली पनि त्यही अनुसारको हुनुपर्छ। म सानैदेखि साहित्यिक क्षेत्रमा रुचि राख्थेँ, तर समयको अभावले गर्दा लेख्न बसिहाल्न सकिरहेको थिइनँ। तर, सिर्जना आफैंमा अन्तर्निहित शक्ति, सामाजिक परिवेश, सामाजिक घटना, पात्र र यी सबै चिजको समीश्रणको एउटा सुन्दर माला हो । रचना व्यक्ति अनुसार फरक हुन्छ कसैलाई गाह्रो होला । कसैलाई सजिलो। मलाई नै भन्नुपर्दा यो त्यस्तो विधि अप्ठ्यारो ‘महाभारत’ चाहिँ होइन।
भर्खरै लोकार्पण भएको तपाईंको कृति ‘महाप्रश्न’ कस्तो प्रकारको कथा संग्रह हो ? यसले कस्ता विषयवस्तु बोकेको छ?
‘महाप्रश्न’ एउटा सामाजिक र मनोवैज्ञानिक कथा संग्रह हो। यसमा समाजमा व्याप्त कुरीतिको विरुद्ध मनोवैज्ञानिक ढंगले आवाज उठाइएको छ। त्योभन्दा पनि फरक, राज्य र देशलाई एउटा नयाँ ढंगले अगाडि बढाउनुपर्छ र परिवर्तन गर्नुपर्छ भनेर संघर्ष गरिरहेका युवा वर्गहरूको आवाजलाई यसले वस्तुगत रूपमा प्रस्तुत गरेको छ।
यो कथा संग्रह विशेषगरी कुन पुस्ताका पाठकहरूलाई लक्षित गरेर लेखिएको हो ? उनीहरूले किन पढ्नुपर्छ?
यो पुस्तक हाम्रो पुस्ता र अहिलेको नयाँ पुस्ता (जेन्जी) का लागि लक्षित छ । उनीहरूले पढ्नै पर्छ भन्छु म । किनभने आजभन्दा १५-२० वर्ष अगाडिको समाज कस्तो थियो ? कस्तो संस्कार थियो ? भन्ने कुरा उनीहरूले बुझ्न जरुरी छ । यसमा पुराना पार्टीगत हिसाब, धार्मिक आस्था र सामाजिक मनोवृत्तिका कुराहरू समेटिएका छन् । जुन अहिले हराइसकेका छन्। पहिले-पहिले एकान्त वा खोल्सो भयो भने ‘भूत आउँछ, तर्साउँछ’ भन्ने चलन थियो । जुन अहिले छैन।
त्यस्तै, समाजमा कस्ता वेथितिहरू थिए ? सामन्ती र हुनेखाने वर्गले गरीब वर्गलाई कसरी शोषित गर्थे ? भन्ने कुरा पनि यसमा छ। यो गाउँबाट सहर आउँदा भोग्नुपर्ने अप्ठ्यारा र घुलमिल हुने संघर्षको कथा पनि हो। म आफैं पनि त्यही मध्यको एउटा पात्र भएको हुनाले यो नयाँ पुस्ताका लागि विशेष मार्गदर्शक हुन सक्छ।
व्यापारको सिलसिलामा तपाईं विदेश भ्रमण गरिरहनुहुन्छ लेख्ने प्रेरणा र समय कसरी मिलाउनुहुन्छ?
लेख्न ठ्याक्कै यो वा त्यो समय भन्ने हुँदैन। व्यापारकै सिलसिलामा विदेश भ्रमण गर्दा केही नयाँ वा फरक देख्ने बित्तिकै मलाई ‘ओहो! यसका केही लेख्न पाए हुन्थ्यो’ भन्ने लाग्छ। समाजमा कतै अन्याय भएको देखेँ त्यसको विरुद्ध कलम चलाइहाल्न मन लाग्छ। अलिकति फुर्सद भयो कि लेख्न बस्छु। एकान्त र मन स्थिर भएको बेला लेख्न मनपर्छ। मेरो अर्को पुस्तकको पनि तयारी भइरहेको छ।
हाम्रो समाजमा लेखक वा साहित्यकारहरू कुनै न कुनै राजनीतिक दल वा विचारधारासँग बाँधिएका हुन्छन् भन्ने आरोप लाग्छ नि, यसमा तपाईंको धारणा के छ?
त्यो टोटल्ली गलत हो। लेखक सधैं अविच्छिन्न र स्वतन्त्र हुनुपर्छ। साहित्य सिर्जना गर्नु आफैंमा सजिलो पाटो होइन । यसका लागि गहन अध्ययनको आवश्यकता पर्छ। हाम्रो नेपाली समाजमा जे कुरालाई पनि पार्टी र नेतासँग जोड्ने, आफूले केही गर्न सकिएन भने देशले केही गरेन वा देशले बिगार्यो भन्ने चलन छ। म त्यतातिर जान चाहन्नँ। कसैलाई पनि दोष नदिइकन निष्पक्ष र स्वच्छन्द भएर लेख्नु नै वास्तविक लेखक वा साहित्यकारको धर्म हो।
अहिलेको डिजिटल युगमा सामाजिक सञ्जालका कारण युवाहरूमा अध्ययनको कमी र नकारात्मकता बढेको देखिन्छ, यसलाई कसरी सुधार्न सकिएला?
कुनै पनि चिजमा बायस नभई लेख्नु लेखकको धर्म हो। अहिले डिजिटल प्लेटफर्मबाट विभिन्न नकारात्मक र अभद्र सूचनाहरू हाम्रो दिमागमा संकलन भइरहेका छन्। फेसबुक वा अन्य प्लेटफर्म खोल्दा चाहिने-नचाहिने समाचारले मथिङ्गल नै बिगार्छ। अहिले अध्ययनशील प्रवृत्ति कम छ र भ्रामक कुरामा ध्यान बढी छ।
म नयाँ पुस्तालाई भन्छु पुस्तक पढ्ने बानी बसालौँ । अध्ययन गरौँ । राम्रा कुराहरू नोट गरेर राखौँ । जुन कालान्तरमा काम लाग्छ। देशलाई आर्थिक र सामाजिक रूपले मात्र होइन, साहित्यिक रूपले पनि सुशासित गर्न सकिन्छ। बंगलादेशको साहित्यप्रति विश्व नतमष्तक छ । रुसका लियो टल्सटोय र एन्टोन चेखोभ जस्ता लेखकहरूले साहित्यलाई धनी बनाएका छन्। नेपालमा पनि प्रतिभा नभएका होइनन् । तर, साहित्यप्रतिको सम्मान अलि कम छ। युवाहरूले सकारात्मक सोचेर, अध्ययन गरेर अगाडि बढ्ने हो भने साहित्यले देश रूपान्तरण गर्न सक्छ।
अन्त्यमा, यो तपाईंको पहिलो कृति हो। पाठक वर्गले यो पुस्तक कहाँबाट प्राप्त गर्न सक्छन् र उनीहरूलाई के भन्न चाहनुहुन्छ?
पहिला पत्रपत्रिकामा त लेख्थेँ, तर कृतिका रूपमा यो मेरो पहिलो प्रयास हो। सिर्जनाका लागि आर्थिक रूपमा मात्र नभएर बौद्धिक र सामाजिक रूपमा पनि सक्षम र बलियो हुनुपर्छ। यो पुस्तक अहिले कान्तिपथस्थित ‘एजुकेसनल बुक सप’ र ‘रत्न पुस्तक भण्डार’ मा उपलब्ध छ। पोखराका केही स्थानहरूमा पनि उपलब्ध गराउने कुरा भइरहेको छ र चाँडै नै हामी यसलाई डिजिटल प्लेटफर्ममा पनि ल्याउनेछौँ।
पाठक वर्गलाई के अनुरोध गर्दछु भने, एकचोटि यो किताब पढेर यसका राम्रा र नराम्रा पक्षबारे आफ्ना अमूल्य सुझाव र प्रतिक्रिया दिनुहोला । म त्यसलाई सहर्ष स्वीकार्नेछु ।
तस्वीरहरू :-



