Harsamaya
डेब्यु फिल्म ‘लज्जावती’ बाट चम्किए नायक श्री कृष्ण निरौला, हात परे थप दुई ठूला प्रोजेक्ट
नवनायक श्री कृष्ण निरौला । ग्राफिक्स : हर समय/Har Samaya

काठमाडौं - चलचित्र ‘लज्जावती’बाट नेपाली रजतपटमा मुख्य अभिनेताका रूपमा डेब्यु गरेका नवनायक श्री कृष्ण निरौलाको अभिनयको यतिबेला चौतर्फी चर्चा सुरु भएको छ । 

फिल्मले बक्स अफिसमा अपेक्षाअनुसारको व्यापारिक सफलता हासिल गर्न नसके पनि श्री कृष्णको जीवन्त अभिनय र काम गर्ने शैलीले भने दर्शक तथा चलचित्रकर्मीको मन जित्न सफल भएको छ ।

चलचित्र प्रदर्शनपछि हलमा फिल्म हेर्ने दर्शकहरूले उनको अभिनय क्षमताको खुलेर प्रशंसा गरिरहेका छन् । पहिलो फिल्म व्यावसायिक रूपमा अपेक्षाकृत कमजोर रहे पनि अभिनयमा देखाएको प्रभावशाली प्रस्तुतिका कारण उनलाई चलचित्र क्षेत्रबाट नयाँ अवसरहरू आउन थालेका छन् ।

श्री कृष्णसँग गरिएको कुराकानीका क्रममा उनले आफूलाई थप दुईवटा नयाँ चलचित्रको प्रस्ताव आइसकेको खुलासा गरेका छन् । डेब्यु फिल्मबाटै राम्रो प्रतिक्रिया पाउँदै लगातार दुईवटा चलचित्रको अफर पाउनुलाई चलचित्र वृत्तमा उनको सम्भावना र सफलताको संकेतका रूपमा हेरिएको छ ।

पहिलो गाँसमै ढुंगा लागेजस्तो भए पनि यसबाट पाठ सिक्दै नायक निरौला अहिले स्क्रिप्ट छनोटमा निकै गम्भीर बनेका छन् । उनी भन्छन्, ‘अब संख्यात्मकभन्दा पनि गुणात्मक काममा ध्यान दिनेछु ।’

हाल उनी प्राप्त भएका नयाँ स्क्रिप्टहरू अध्ययन गर्दै आफूलाई उत्कृष्ट लाग्ने कथा छनोट गर्ने तयारीमा छन् । पहिलो फिल्मबाटै आफ्नो अभिनय क्षमता प्रमाणित गरिसकेका श्री कृष्णले आगामी दिनमा राम्रो कथा र उत्कृष्ट टिमसँग काम गर्न सके बक्स अफिसमा समेत सफलता हासिल गर्न सक्ने अपेक्षा गरिएको छ । दर्शकहरू पनि उनको आगामी चलचित्रले व्यावसायिक सफलताको झन्डा गाड्नेमा आशावादी देखिएका छन् ।

श्री कृष्ण निरौलाका लागि ‘लज्जावती’ केवल एउटा फिल्म मात्र नभैइ, २६ वर्ष लामो संघर्षपछि प्राप्त भएको महत्वपूर्ण उपलब्धि पनि मान्न सकिन्छ । लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय रहे पनि प्रमुख भूमिकामा देखिने अवसरको प्रतीक्षा गरिरहेका निरौला ‘लज्जावती’मार्फत पहिलोपटक मुख्य भूमिकामा देखिएका हुन् ।

फिल्म ‘लज्जावती’को ग्रस कलेक्सन कमजोर देखिएको छ । साउन  साउन २९ गतेदेखि प्रदर्शनमा आएको ‘लज्जावती’ ले २ हजार ९ सय १६ टिकट बिक्री गर्दै ७ लाख ६८ हजार ४ सय ५० रुपैयाँको व्यापार गरेको चलचित्र विकास बोर्डले जनाएको छ । 

व्यावसायिक परिणाम कमजोर भए पनि डेब्यु फिल्मबाटै अभिनयका कारण चर्चा बटुल्न सफल श्री कृष्ण निरौलाका लागि भने ‘लज्जावती’ले नेपाली चलचित्र क्षेत्रमा नयाँ ढोका खोलिदिएको देखिन्छ । 

प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update