Harsamaya
प्रज्ञा प्रतिष्ठानमा गरिएको नियुक्तिबारे चर्को आलोचना, ‘नैतिक पतन’व्यक्तिलाई कुलपति बनाएको आरोप
 नेपाल प्रज्ञा प्रतिष्ठान । तस्वीर : हर समय/Harsamaya

काठमाडौं - नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्तिको विषय विवादित बनेको छ । प्रतिष्ठानको कुलपतिमा सरकारले विवादित साहित्यकार कुमार नगरकोटीलाई नियुक्त गरेको भन्दै चर्को विरोध भइरहेको हो । कतिपय साहित्यकारहरुले उनलाई ‘नैतिक पतन कुलपति’ कुलपतिको संज्ञा दिएका छन् । 

पूराना राजनीतिक दलहरूले आफ्ना आफन्त र आफू निकटहरूलाई राजनीतिक नियुक्ति गरेको भन्दै बालेन्द्र शाह नेतृत्वको सरकारले प्रतिष्ठानका सबै नियुक्ति खारेज गरेको थियो । यससँगै योग्य र क्षमता भएका व्यक्ति प्रज्ञाको नेतृत्वमा पुग्ने सबैको अपेक्षा थियो।

सरकारले ‘मेरिटोक्रेसी’ (योग्यता र क्षमता)का आधारमा राजनीतिक भागबण्डा अन्त्य गर्दै खुला प्रतिस्पर्धाबाट प्राज्ञ छनोट गर्ने दाबीसमेत गरेको थियो। सोही अनुरुप कुलपति आह्वानका लागि सूचना नै जारी गरिएको थियो।

तर, सरकारले योग्य व्यक्तिलाई ल्याउने भने पनि त्यसो हुन सकेन। आफैँलाई ’नैतिक पतन’ भएको व्यक्ति बताउने नगरकोटी कुलपतिमा नियक्त भएपछि यो आम चासोको विषय बनेको छ । 

नयाँ कु्लपति नगरकोटी चारित्रिक मात्र नभएर राजनीतिक रुपमा पनि राजनीतिक रुपमा अछुत छैनन्। नगरकोटी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेल (गनेस)को चुनावी अभियानका क्रममा एक महिना खटिएका थिए। अहिले त्यसैको उपहारस्वरुप उनले कुलपति पद पाएको आरोप लाग्न थालेको छ ।

नैतिक पतनको आरोप
नगरकोटीले सामाजिक र नैतिक रुपमा पवित्र नभइकन आफैँलाई ‘नैतिक पतन’ भएको व्यक्ति बताएका थिए । वि.सं. २०७१ साल मंसिर १९ गतेको ‘शुक्रबार साप्ताहिक’ ले नगरकोटीको अन्तरवार्ता लिएको थियो । त्यहाँ नगरकोटीलाई तपाईंले गरेका पाप बताइदिनुहोस् न? जसले सामाजिक र नैतिक रुपमा तपाईंलाई पतन भएको देखाओस ? भन्दै प्रश्न गरिएको थियो।

उत्तरमा नगकोटीले भनेका थिए, ’मेरो पहिलो पाप बेश्यासँग यौन सम्पर्क भएको थियो। दोस्रो पाप मैले अर्काकी श्रीमतीसँग लामो समयसम्म यौन सम्पर्क राखेँ, तेस्रो पाप एउटी महिलासँग मैले काउलीबारीमा सम्भौग गरे। ती महिला ’कलगर्ल’ पनि होइनन् । कहिले नदेखेकी ती महिलासँग पहिलो भेटमै यौन सम्बन्ध राख्नु कुनै हालतमा सुन्दर कुरा होइन ।’

उनले सामाजिक र नैतिक रुपमा आफूलाई पतित भएको घोषणासमेत गरेका थिए। तर, तिनै व्यक्तिलाई व्यक्तिलाई संस्कृतिमन्त्री पौडेलले कुलपतिमा नियुक्त गरेसँगै सरकार र नगरकोटीको चर्को विरोध भइरहेको हो।

प्राज्ञिक थलोमा आफूलाई नैतिक रुपमा पतन भएको बताउने व्यक्तिलाई नै ल्याउँदा उनले कस्तो काम गर्लान्, कस्तो नैतिकता देखाउलान् भनेर साहित्यकारहरूले विरोध गरिरहेका छन्।

खेम थपलिया नामका फेसबुक प्रयोगकर्ताले नागरिक दैनिकको अनलाइन संस्करणमा नगरकोटीले आफैँले अन्तर्वार्ताका क्रममा भनेको ’म पापी हुँ’ शिर्षकको समाचार शेयर गर्दै लेखेका छन्, ’प्रज्ञाप्रतिष्ठानमा एउटा ’भयानक प्रतिक्रान्तिकारी’को इन्ट्री – लुसिफर कुलपति।’

अर्का विपी खनाल नामक फेसबुक प्रयोगकर्ताले त नगरकोटीका बारेमा आम प्रतिक्रिया नै मागेका छन्। उनले लेखेका छन्, ’एउटा अन्तरबार्तामा सार्वजनिक रूपमा आफू हदैसम्म अनैतिकतामा लिप्त भैसकेको स्वीकार गर्ने व्यक्ति प्रज्ञा प्रतिष्ठानमा कुलपति बन्नुभएको छ। तपाईंको प्रतिक्रिया के होला?’

दीपकराज बराल नामक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ’प्रज्ञा प्रतिष्ठानमा कुलपति? गीत नारायण गोपालले गाउनु भयो, दुर्गेशले पनि गाए! देवकोटाले मुनामदन लेख्नुभयो, निलोचोली सुवास घिसिङ्गले पनि लेखे! के दुर्गेश र सुवास गायक तथा साहित्यकार हुन् त? जुन ठाउँमा देशको संस्कृति तथा भाषा, साहित्यको संरक्षण, विकास गरिनु पर्ने, विद्वान साहित्यकार, भाषाविद्का पनि विज्ञ व्यक्ति प्रज्ञा प्रतिष्ठानमा कुलपति नियुक्त्त गरिनु पर्नेमा संसारलाई देशको बेइजत गराउने गरि आफ्नै अन्तर्वार्तामा नैतिक, सामाजिकरुपमा पतित हुँ भन्ने कवुल गर्ने, स्वयमशिद्व सामाजिक चरित्रहीन व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाउनु कति जायज छ? सबैको ध्यान जाओस्!’

यसरी चरणवद्ध विरोध भइरहँदा सरकार भने मौन छ । केही समय लाग्ला गलत हुँदैन भन्दै प्रधानमन्त्रीले बालेन शाहले भाषण गरेका थिए। तर, सरकार श्रृंङ्खलावद्ध रुपमा एकपछि अर्को कमजोरी गर्दै गएको थुप्रै घटनाले प्रस्ट पारिरहेको छ। 

प्रधानमन्त्री बालेन आफैँ कलाकार र कवि हुन्। उनले ’अश्रु’ कविता सङ्ग्रह नै बजारमा ल्याएका छन्। संस्कृतिमन्त्री आफैँ साहित्यकार भएकाले यसपटक साहित्यिक क्षेत्रमा थुप्रै सुधारका काम हुने अपेक्षा गरिएको थियो। तर, यतिबेला ती सबै आसा निरासामा परिणत भएको सरोकारवालाहरुको भनाइ छ । प्राज्ञिक क्षेत्रमा नैतिकता पतन भएका मानिसको नियुक्तिले सरकारको मूल्यांकन र पारदर्शितामा नै प्रश्न उठ्न थालेको छ । 

संस्कृतिमन्त्री पौडेल नै नैतिकताको घेरामा ?
नगरकोटी मात्र होइन, संस्कृतिमन्त्री पौडेलले पनि कुनैबेला आफ्ना असोभनीय रहरका बारेमा नयाँ पत्रिका दैनिकमा एउटा आर्टिकल लेखेका थिए। वि. सं. २०७५ चैत २३ गते शनिबार मन्त्री पौडेलले ‘जोगी जीन्दगी’ नामक लेख नयाँ पत्रिका दैनिकमा प्रकाशित गरेका थिए। उक्त लेखमा उनले आफ्ना जीवनका इच्छाबारे प्रस्ट पारेका थिए। 

उनले आफ्ना रहरबारे लेखेका थिए, ’अलग अलग देश, वर्ग, भूगोल र जातिका स्त्रीसँग शारीरिक सम्पर्क राख्ने, मन परेका लेखकलाई कहिले पनि नभेट्ने तर मनपरेकी लेखिकालाई सकभर नछाड्ने मेरो रहर छ । पेन्टिङ सिक्ने र सकेसम्म पेन्टरलाई गर्लफ्रेन्ड बनाउने तथा उस्तै परे बिहे मेरो इच्छा छ ।’ नगरकोटीलाई कुलपतिमा नियुक्ति गरेसँगै मन्त्री पौडेलको नैतिकतामाथि समेत प्रश्न उठ्न थालेको छ ।

’मन्त्री पौडेलले आफ्नो मर्यादा भूलेका छन्। पहिलेनै सेटिङ गरेर कु्लपतिका लागि योग्य व्यक्तिको खोजी भन्दै सूचना जारी गरिएको थियो त्यो सबै नाटक रहेको अहिले सावित भएको छ। सरकारले किन यस्तो नाटक गरेको भन्ने प्रश्न आम जनता र लेखकको मनमा उब्जीएको छ,’ नाम नखुलाउने सर्तमा एक लेखकले भने।

लेखक नारायण ढकाल, बुकहिल प्रकाशनका प्रकाशक भुपेन्द्र खड्का र रेखा शाहहरूले तयार पारेको लिस्ट नै सरकारले प्रज्ञा प्रतिष्ठान, संगीत तथा नाट्य प्रतिष्ठान र ललित कला प्रतिष्ठानमा सदर गरेको ती लेखकको आरोप छ।

’यति बेला तीनै प्रतिष्ठानमा बिचौलिया र नाफाखोर हाबी भएका छन्। पहिले बौद्धिकताको दुरुपयोग हुन्थ्यो, अहिले त बौद्धिकता र आदर्श पनि नचाहिने भयो,’ उनले भने।

यस्तै कुलपति नगरकोटीले प्रधानमन्त्री बालेनबाट नै उपकुलपति ताकेता गरिएको आरोपसमेत लगाएका थिए। कुलपतिकै यस्तो भनाइले के प्रधानमन्त्रीको नाममा पनि यस्ता चलखेल भएका हुन् भन्ने प्रश्न उठाइदिएको छ। उनले प्रधानमन्त्रीले नै उपकुलपति तोकेर पठाएको बताएका थिए ।

प्रज्ञामा ‘बुकहिल’ हाबी
नेपाल प्रज्ञा प्रतिष्ठानमा नयाँ पदाधिकारी तथा सदस्यहरूको नियुक्तिमा प्रस्ट रुपमा बुकहिल हाबी भएको आरोप समेत लागेको छ । मन्त्री पौडेलले निजी प्रकाशन गृह बुकहिलबाट पुस्तक प्रकाशित भएका लेखक तथा साहित्यकारलाई प्राथमिकता दिएका छन्।

त्यसैले सामाजिक सञ्जाल प्रयोगकर्ता गोपाल दाहालले ‘प्रज्ञा–प्रतिष्ठानमा संयोग पनि कस्तो’ भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। प्रधानमन्त्री बालेन शाह, संस्कृति मन्त्री गणेश पौडेल, कुलपति कुमार नगरकोटी, उपकुलपति अविनाश श्रेष्ठ र सदस्य सचिव रोशन शेर्छाका कृतिहरू बुकहिलबाटै प्रकाशित भएका छन्।

यस्तै, सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा नियुक्त गायिका रेखा शाह र पदाधिकारी तथा सदस्य सिफारिस समितिका सदस्य नारायण ढकालका पुस्तक पनि सोही प्रकाशन गृहबाट प्रकाशित भएकाले नियुक्तिमा एकपक्षीयता र पहुँच हाबी भएको प्रस्ट देखिएको उनको भनाइ छ । 

प्रज्ञाको नियुक्तिमा सुदूर उपेक्षामा, जेनजी अगुवाकै असन्तुष्टी
प्रज्ञा प्रतिष्ठानमा भएको नियुक्तिमा सुदूरपश्चिमलाई उपेक्षा गरिएको भन्दै सरकारको आलोचना भइरहेको छ।

तीनवटै प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य–सचिव तथा प्राज्ञसभा सदस्य नियुक्त भएका छन्। नियुक्तिको विवरणअनुसार २९ जना पदाधिकारी नियुक्त हुँदा सुदूरपश्चिमबाट एक जना पनि समेटिएका छैनन्।

जेनजी अगुवा रक्षा बमले तीनवटै प्रज्ञा प्रतिष्ठानमा भएको नियुक्तिमा सुदूरपश्चिमलाई उपेक्षा गरिएको भन्दै सरकारप्रति व्यङ्ग्य गरेकी छन्। सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा नयाँ पदाधिकारी तथा प्राज्ञसभा सदस्य नियुक्त गरेपछि बमले सामाजिक सञ्जालमार्फत सरकारको निर्णयप्रति असन्तुष्टि जनाएकी हुन्।

उनले हालै नियुक्त गरिएका तीनवटै प्रज्ञा प्रतिष्ठानका पदाधिकारीमा सुदूरपश्चिमको प्रतिनिधित्व शून्य रहेको उल्लेख गर्दै सरकारलाई व्यङ्ग्य गरेकी छन्। उनले लेखेकी छन्, ‘उफ्! कति झिक्कै माया हो सुदूरलाई।’

पूर्वउपप्रधानमन्त्री तथा नेता भीम रावलले पनि प्रज्ञा प्रतिष्ठानको नियुक्तिलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै रावलले तीनवटै प्रज्ञा प्रतिष्ठानमा भएको नियुक्तिमा सुशासन, न्याय र निष्पक्षताको झल्को नदेखिएको टिप्पणी गरेका छन्।

‘बालेन्द्र शाह नेतृत्वको रास्वपा सरकारले तीनवटा प्रज्ञा प्रतिष्ठानमा गरेको नयाँ पदाधिकारी र सदस्यहरूको नियुक्तिमा रास्वपाले दाबी गर्दै आएझैँ सुशासन, न्याय र निष्पक्षताको कुनै झल्को देखिन्न। सदस्यहरूमा ८३ सदस्य मनोनयन हुँदा सुदूरपश्चिमबाट जम्मा नौ जना मात्र, त्यो पनि एकजना बाहेक सबै कैलाली र कञ्चनपुरबाट।’

रावलले प्रधानमन्त्री बन्नुअघि बालेन्द्र शाहले सुदूरपश्चिम भ्रमणका क्रममा दिएको ‘झिक्कै झिक्कै माया’ भन्ने अभिव्यक्तिलाई समेत नियुक्तिसँग जोडेर प्रश्न गरेका छन्।

‘प्रधानमन्त्री हुनु अघि बालेन्द्र शाहजीले सुदूरपश्चिममा गएर “झिक्कै झिक्कै माया” भनेको यही हो त? त्यो भनाइ नक्कली रहेछ भन्ने प्रमाणित भएन र?’ उनले प्रश्न गरेका छन्।

रावलले नियुक्त भएका पदाधिकारी तथा सदस्यहरूको सामाजिक समूहगत प्रतिनिधित्वबारे पनि आफ्नो विश्लेषण सार्वजनिक गरेका छन्। उनका अनुसार पदाधिकारीतर्फ बाहुन ६, नेवार ८, मधेसी २, जनजाति ९, थारू २, दलित १ र क्षेत्री १ जना रहेको देखिन्छ।

त्यस्तै, सदस्यतर्फ बाहुन १५, नेवार ८, मधेसी ६, जनजाति १२, क्षेत्री ६ (१ शाही र १ राणा), दलित ५, थारू २ तथा दशनामी र मुस्लिम १÷१ जना रहेको रावलले उल्लेख गरेका छन्।

तर, नियुक्त व्यक्तिहरूको उमेर, शिक्षा, अनुभव र योग्यता नामावलीमा नखुलाइएकाले त्यस आधारमा विश्लेषण गर्न नसकिएको उनले बताएका छन्।

यस्तै नैतिक पतन भएको व्यक्तिले देशको प्राज्ञिक क्षेत्रको नेतृत्व गर्न सक्छ? भन्दै आम प्रश्न उठिसकेपछि सरकारले बर्खास्त गर्ने कि स्वयं नगरकोटीले राजीनामा दिने भनेर आम साहित्यकार र बौद्धिक वर्गले सरकारलाई प्रश्न गरिरहेका छन्।

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३  ०८:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update