Harsamaya

काठमाडौं - क्याम्पियन काठमाडौं स्कूल (सीकेएस)को आयोजनामा सञ्चालन भएको ‘सीकेएस साहित्य उत्सव-२०८३’ सोमबार सम्पन्न भएको छ । उत्सव शनिबारदेखि सुरु भएको थियो ।

समापन कार्यक्रममा साहित्यकार मुकुन्दराज शर्माले साहित्य मानव जीवनको अभिन्न अंग भएको बताउँदै साहित्यले मानिसका दुःख–सुख, राम्रो–नराम्रो, क्रोध, संवेदना लगायत जीवनका सम्पूर्ण पक्षलाई समेट्ने माध्यमका रूपमा काम गर्ने धारणा व्यक्त गरे ।

उनले भने, ‘साहित्य वास्तवमा हरेक मानिसका दुःख–सुख, राम्रो–नराम्रो, क्रोध, संवेदना र जीवनका सम्पूर्ण अनुभवलाई समेट्ने माध्यम हो । साहित्य यही चराचर जगत र मानव जीवनबाट सिर्जना हुने भएकाले जीवन र साहित्यबीच गहिरो अन्योन्याश्रित सम्बन्ध छ । साहित्य पढ्दा कहिले आफूलाई भेटिन्छ, कहिले समाज र संसारलाई चिन्ने अवसर मिल्छ । त्यसैले मानव जीवन र मानव निर्माणबाट साहित्यलाई अलग गरेर हेर्न सकिँदैन ।’

उनले साहित्य यही चराचर जगत र मानव जीवनबाट सिर्जना हुने भएकाले साहित्य र जीवनबीच अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गरे । साहित्य अध्ययन गर्दा कहिले आफूलाई र कहिले समाज तथा संसारलाई चिन्ने अवसर प्राप्त हुने भन्दै उनले मानव निर्माण र जीवनसँग साहित्यलाई अलग गर्न नसकिने बताए ।

त्यसैगरी कलाकार रश्मि भट्टले समाजमा उल्लेखनीय परिवर्तन आइसकेको उल्लेख गर्दै आफ्नो पहिचान, अस्तित्व र योगदान स्थापित गर्न प्रत्येक व्यक्तिले आफ्नै नामबाट चिनिने गरी काम गर्नुपर्ने धारणा राखिन् ।

उनले भनिन्, ‘अहिले समाजमा धेरै परिवर्तन भैइसकेको छ । समाजमा एउटा यादगार र आफ्नो नाम, पहिचान तथा अस्तित्व जोगाउनको लागि हामीले काम गर्नुपर्छ । बाबाको नामबाट आफ्नो पहिचान बनाउनु भन्दा पनि आफ्नो नामबाट बाउँआमाको नाम राख्नुपर्छ ।’

उनले बाबुको नामबाट मात्र पहिचान बनाउनु भन्दा पनि आफ्नै कर्म र योगदानका आधारमा आफूलाई स्थापित गर्नुपर्ने तथा आफ्ना उपलब्धिबाट बुबाआमाको नाम उजागर गर्नुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति: सोमबार, असार २९, २०८३  २०:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update