काठमाडौँ - कास्कीको माटोमा आजभन्दा सात दशकअघि जन्मिएकी उषा शेरचन आमाबुवाका ६ सन्तानमध्ये माइली छोरी हुन् । छोराछोरीबीच विभेद गरिने समाजमा जन्मिएकी उषा सानैदेखि हक्की, निडर र आफ्ना सपनाप्रति अडिग स्वभावकी थिइन् ।
छोरीले घरधन्दा सम्हाल्नुपर्छ, धेरै पढ्नु पर्दैन भन्ने मान्यताविरुद्ध उनले आफ्नै परिवारसँग विद्रोह गरिन् । पोखरामै विद्यालय तहको शिक्षा पाएकी शेरचनको उच्च शिक्षा पढ्ने अठोटलाई कुनै बन्देजले रोक्न सकेन । आफ्ना सपनाहरू बोकेर उच्च शिक्षाका लागि २०को दशकमा उनी काठमाडौं आइन् ।
विद्यालय तहबाटै साहित्यमा लेखनमा रुचि राख्ने शेरचनले पढाइ सँगसँगै साहित्यलाई डोर्याइन् । उषाले आफ्ना पाइला कहिल्यै रोकिनन् । त्यो समयमा साहित्यिक क्षेत्रमा महिलाको उपस्थिति विरलै थियो । साहित्यिक कार्यक्रममा महिलाहरू देखिनु अस्वाभाविकजस्तै मानिन्थ्यो । तर उषा घरपरिवारको जिम्मेवारी सम्हाल्दैं कार्यक्रममा पुग्थिन् ।
पहिलो कविता जब गोरखापत्रमा प्रकाशित भयो त्यो क्षण उनको जीवनकै अविस्मरणीय खुसी बन्यो। आफ्ना शब्दहरूले पाठकमाझ स्थान पाएको त्यो अनुभूति आज पनि उनको स्मृतिमा ताजै छ ।
उषाले साहित्यसँगको सम्बन्धलाई कहिल्यै टुट्न दिइनन् । विवाह, परिवार र मातृत्वको जिम्मेवारीसँगै उनले सिर्जनाको यात्रालाई निरन्तर अघि बढाइन् । दुई सन्तानलाई सँगै लिएर साहित्यिक कार्यक्रममा सहभागी हुने उनी आमा र स्रष्टा दुवै भूमिकाप्रति उत्तिकै समर्पित रहिन् ।
कविता, कथा, मुक्तक र गीतमार्फत उनले नेपाली साहित्यलाई समृद्ध बनाएकी छन् । उनका सिर्जनामा महिलाको पीडा, संघर्ष, आत्मसम्मान र स्वतन्त्रताको स्वर मुखरित हुन्छ । नारी अधिकारका पक्षमा कलम चलाउँदै उनले अनेकौँ पुस्ताका महिलालाई बोल्न, लेख्न र आफ्ना सपनाहरू पछ्याउन प्रेरित गरेकी छन् ।
विभिन्न राष्ट्रिय सम्मान र पुरस्कारबाट सम्मानित उषा शेरचन आज नेपाली साहित्यको आकाशमा चम्किरहेकी उज्यालो नक्षत्र हुन् । मुक्तकको संसारमा आफ्नो विशिष्ट पहिचान बनाएकी उनी साँच्चै नै ‘मुक्ताआकाशकी मुक्तककार’ हुन् । शब्दलाई जीवन र जीवनलाई शब्द बनाएकी उषा शेरचनसँग हरसमयले गरेको विशेष संवादले उनको संघर्ष, सिर्जना र साहसको एउटा प्रेरणादायी यात्रा उजागर गरेको छ । उनै शेरचनसँग गरिएको कुराकानी यहाँहरूमाझ राख्न चाहन्छौं ।
तपाईंको पहिलो प्रकाशित कविता 'जिन्दगी' देखि आजसम्मको यात्रा हेर्दा उषा शेरचन भित्रको कवि र वर्तमान उषा शेरचनमा के परिवर्तन आएको छ?
परिवर्तन खासै छैन। मान्छेको सोचमा उमेर अनुसार फरक आउँछ । शारीरिक हिसाबले भन्ने हो भने ४५ किलोबाट ट्रिपल चौपल भए । मानसिक हिसाबले एकदमै परिवर्तन भएको अनुभूत नहुँदो रहेछ । कतिपय कुराहरू सायद होला, तर एक्ज्याक्टली यहीँ हो भन्ने नोटिस गर्ने खालको छैन ।
त्यतिबेलाको साहित्य र अहिलेको साहित्यमा के फरक छ ?
म भदौदेखि ७१ पुरा भएर ७२ लाग्छु । त्यतिबेला महिलामैत्री समाज थिएन । छोरीहरूलाई बल्ल स्कुल पठाउन सुरु भएको थियो । मेरै उमेरकाहरू कति सिग्नेचर गर्न सक्दैनन् ल्याप्चेमै छन् । कति स्कुलै नगएकाहरू पनि छन् । त्यो हिसाबले म भाग्यमानी हो । स्कुल जान पाएँ । मेरो हजुरबुबा, बुबाहरूको आफैँले खोलेको स्कुल थियो । मेरो प्रारम्भिक शिक्षा त्यहीँबाट भयो । त्यतिबेलाको वातावरण साहित्यमय थिएन । साहित्यिक कृतिहरू काठमाडौंमा पाए पनि पोखरामा पाउने ठाउँ थिएन । त्यो समाजसँग अहिलेको समाज दाँज्न मिल्दैन ।
तपाईंको सिर्जनामा नारी चेतना, मानवीय संवेदना र सामाजिक प्रश्नहरू निरन्तर देखिन्छन् । तपाईंलाई लेख्न के ले प्रेरणा दियो ?
जीवन र जगत नै हो । जीवन र जगतका यावत् कुराहरू नै सिर्जनाका स्रोतहरू, कच्चा पदार्थहरू हुन् । कतिपयले सोच्छ हामीले भोगेका कुरा मात्र लेख्छौ, होइन । हामीले जीवन र जगतमा देखिने यावत् कुराहरूलाई नोटिस गर्छौं । ध्यान दिन्छौँ । जस्तो अरुको दृष्टिकोण र साहित्यकारहरूको दृष्टिकोण फरक हुन्छ । म साहित्यकारको एंगलबाट फरक देख्छु । तर विभेद छ, थियो नै र अहिलेसम्म छ । मेरो पुस्ता चरम विभेदको बेलाको थियो । त्यतिबेलाको लेखनको लागि कच्चा पदार्थ कति कति । त्यही कच्चा पदार्थहरू नै पोख्ने हो ।
तपाईंलाई त्यतिबेलाको समाजको पीडाले लेख्न मन लाग्यो कि ?
कति कुराहरूमा विद्रोह गर्न मन लाग्छ । कति कुराहरू गलत भइरहेको छ भनेर सही सन्देश दिन मन लाग्छ । आफूलाई चित्तै नबुझेको कुराहरू, बाध्यताहरू थोपरिँदा ‘यो विसंगति यस्तो हो’ भन्न मन लाग्छ। कसैले मलाई ठ्याङ्ग केही भनेछ भने लेख्न मन लाग्छ । हिजै मलाई एक जनाले एउटा कुरा भनेको थियो। भन्नासाथ त्यो गीतको लाइन ठ्याक्क आइहाल्यो । अनि मैले गीत लेखिहालेँ । त्यस्तो पनि हुन्छ ।
साहित्यको सबै विधामा कलम चलाउनुहुन्छ । कथा, कविता, मुक्तक र उपन्यास कुन विधामा आफूलाई स्वतन्त्र महसुस हुन्छ लेख्नलाई ?
स्कुलमा पढ्दा सबैभन्दा मनपर्ने विधा उपन्यास थियो । त्यसपछि कथा मनपर्थ्यो । मूलतः फेरि लेखनको हिसाबले म कवि हुँ । मेरो लेखनको सुरुवात कविताबाटै भएको थियो । त्यतिबेला मुक्तकको नाम पनि सुनेको थिइनँ । महिला मुक्तककारहरू त्यतिबेला थिएनन् । मुक्तकको इतिहास त धेरै पहिलादेखि भए पनि बीचमा भीमदर्शन रोका दाईहरू, भूपि शेरचन दाईहरू, चेतन कार्की दाई, हरिभक्त कटुवाल दाईहरू, यादव खरेल दाईहरू र मोहन हिमांशु थापा दाईहरूबाट फेरि सुरु भएको थियो । त्यसपछि बीचमा फेरि सेलाएको थियो । पोखरेली युवा सांस्कृतिक परिवारले हरिभक्त कटुवाल दाईको प्रमुख आतिथ्यमा २०३४/३५ सालतिर टिकटमा मुक्तक गरेदेखि मैले मुक्तकबारे थाहा पाएँ । मुक्तक लेखनको सुरुवात त्यहीँबाट भयो । त्यतिबेलासम्म मुक्तक लेखनमा महिलाहरूले कलम चलाउने नै थिएनन् । फुटकर लेख्नेहरू थिए होला । तर मुक्तकै लेख्ने सिनियर दिदी मञ्जु काँचुली हुनुहुन्थ्यो । पोखरामा हरिदेवी कोइराला भाउजुले पनि लेख्नुहुन्थ्यो । मेरो साथी सुलोचना मल्लले पनि कविता लेख्थ्यो । त्यो मुक्तकै भन्न त मिल्दैन होला । अरु पनि एक दुई जना हुनुहुन्थ्यो फुटकर लेख्ने । हरिदेवी कोइराला भाउजु त लोकगायिकामै स्थापित हुनुभयो ।
कविता त मैले सबैभन्दा पहिला लेखेँ । कथा चाहिँ कलेजमा विद्यार्थी कालमा लेँख्थेँ । त्यतिबेला अहिलेको जस्तो डिजिटल जमाना थिएन, नोटकपीमा लेख्ने हो । म संग इगलको नोटकपी थियो । त्यसमा कविता, कथा लेख्थेँ । त्यतिबेला लेखेको एउटा मात्रै बिउ कथा बाँकी छ । आजभन्दा पाँच दशक पहिला लेखेको लोक कथा जुन पत्रिकामा छापिएको भएर बच्यो । बाँकी पाण्डुलिपि हरायो । त्यसपछि कथा लेखनप्रति वितृष्णा भयो । कम्प्लिट्ली छोडिदिएँ । कविता, मुक्तक र गीत लेखे ।
गीतमा पनि म इन्सिडेन्ट्ली आएको हो । गीत लेख्नमा बुलु मुकारुङ भाई, नरेन्द्रराज प्रसाईँ, इन्दिरा प्रसाईँको हात छ । नरेन्द्रराज प्रसाईँले जीवनी लेख्ने । उहाँ त अब्बल जीवनीकार हो । उहाँले उहिलेदेखि नै पत्रिकाहरूमा सानो सानो सबैको जीवनी लेख्नुहुन्थ्यो । त्यो जीवनीमा मेरो‘मैले सबैसँग भेटे पनि यो मनले तिम्रै साथ रोजेको हुन्छ’ भन्ने मुक्तक थियो । त्यो मुक्तक पवित्रा सुब्बालाई एकदम राम्रो लागेछ । त्यतिबेला त ल्यान्डलाइन थियो । पवित्र सुब्बाले नरेन्द्रराज भाईबाट मेरो नम्बर लिएर फोन गर्नुभयो । उहाँले ‘दिदी मलाई मुक्तक एकदमै मनपर्यो म एल्बम निकाल्दै छु, त्यो एल्बमको लागि गीत चाहियो हजुरको’ भन्नुभयो । मैले दुई वटा गीत लेखेर दिएँ ।
एक दिन ईश्वरवल्लभ दाईको गीतहरू संकलन गर्ने हिसाबले रेडियो नेपालमा म र पद्मावती दिदी गयौं । त्यहाँ बुलु मुकारुङ भाईलाई पहिलो चोटी भेटे । उहाँ प्रख्यात संगीतकार भइसक्नुभएको थियो । रेडियो नेपालमा राष्ट्रिय गीत महोत्सव हुँदो रहेछ हरेक वर्ष । बुलु भाइले ‘दिदी तपाईं त कस्तो राम्रो कविता लेख्नुहुन्छ, मुक्तक लेख्नुहुन्छ, गीत त पक्कै लेख्नुहुन्छ होला, मलाई एउटा राष्ट्रिय गीत लेखेर दिनुस्’ भन्नुभयो । ‘ए भाई मैले त गीत त लेख्दिनँ’भने । ‘हैन लेखेर दिनु’ भन्नुभयो। मैले घरमा आएर सोचेर ‘नेपाली तिम्रो छातीमा देश दुख्छ कि दुख्दैन, मुटुमा तिम्रो पुर्खाको रगत बग्छ कि बग्दैन’ भन्ने गीत लेखेर दिए । गीत उत्कृष्ट भित्र पर्यो । मेरो पहिलो गीत रेकर्डिङ त्यही गीत भयो ।
नेपाली समाज र राजनीतिलाई तपाईं एक साहित्यकारको आँखाले हेर्दा अहिलेको सबैभन्दा चिन्ताजनक पक्ष के लाग्छ ?
हरेक कुराको दुई पक्ष हुन्छ । राम्रो पक्ष, नराम्रो पक्ष। असल पक्ष, खराब पक्ष । त्यसकारण म आशावादी पनि छु, निराशावादी पनि । हामी जनआन्दोलनमा होमियौँ । सडक कविता क्रान्ति गर्यौँ । म सँग फोटो छ सडक कविता क्रान्तिको । भवानी दाईको अगुवाइमा त्यतिबेला साहित्यकारहरू सडकमा निस्केका थिएँ । अहिले सम्झिदा बरु त्यो बेला नै राम्रो थियो जस्तो लाग्छ । यस्तो बेथिति थिएन । १२, १, २ बजेसम्म खुला बाहिर हिँड्दा डराउनुपर्ने थिएन । विशाल बजार रातैभरि खुल्थ्यो । जतिखेर हिँड्दा नि सुरक्षाको प्रत्याभूति थियो। मिनी हङकङ त हाम्रो नेपालै थियो। दक्षिण एसियासँग कम्पेयर गर्दा हाम्रै देश अगाडि थियो । माओवादी जनयुद्धले हामीलाई धेरै पछाडि धकेल्यो । त्यसपछि फेरि भूकम्प आयो। त्यसले पनि धेरै धक्का दियो । देश त अगाडि बढेको जस्तो लाग्दैन ।
तर डिजिटली हेर्ने हो भने फेरि विश्व माझ देश पुगेको छ । अबकाहरूले ३०-३५ वर्षको दौरानमा नेताहरूले गरेको गल्ती नदोहोर्याइकन इमानदार हिसाबले ३ करोड नेपालीको लागि सोच्ने हो भने त्यो परिवर्तन आउन बेरै छैन । किनभने अचेल हाई टेक्नोलोजी छ, जे पनि छिनभरमा हुन्छ। पहिला जस्तो वर्षौँ लाग्ला भनेर सोच्नुपर्दैन । ३ करोड नेपालीको भविष्य निर्माण गर्न ३ चुड्कीमै सकिन्छ, तर मन वचन कर्मले । नेता मात्र असल भएर हुँदैन । जनता पनि असल हुनुपर्यो । जनताहरू आफ्नै पार्टीको लघुपुच्छर भएर पार्टीले गल्ती गरे पनि ठीक भनेर हिँड्ने हो भने त फेरि गलतै हुन्छ । गलत गर्नेलाई गलत भन्नुपर्छ । सही भन्नेलाई सही भन्नुपर्छ । ३०-३५ वर्ष हेर्यो पहिलाकोलाई । अहिले ५ वर्ष नयाँलाई हेरौँ, गर्न सक्यो भने ठीकै छ, गर्न सकेन भने फेरि चुनाव छँदैछ ।
सामाजिक सञ्जालले साहित्यको गहिराइ घटाएको हो?
घटेको छैन । पहिला थोरै साहित्यकारहरूले थोरै लेख्नुहुन्थ्यो । एक जनाले लेखेपछि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मले पढ्नुहुन्थ्यो । समीक्षा पनि हुन्थ्यो । तर अचेल त एकदमै राम्रो सिर्जनाहरू विश्वमै कम्पिटिसन गर्न सक्ने सिर्जनाहरू नेपाली साहित्यमा छन् । जस्तो हीरा त हीरै हो नि । जुन कुनामा भए नि चम्केको छ । हीरा बालुवामा मिसिएको छ कि, कोहिनूर बनाएर श्रीपेचमा लगाएको छ त्यो मात्रै फरक हो । त्यसकारण त्यो खस्केको छ भनेर म भन्दिनँ । गहिरिएर जति अध्ययन हुनुपर्ने हो नभएको हो ।
नयाँ पुस्ताले साहित्यलाई कसरी ग्रहण गरिरहेको छ ?
लेखन भन्ने कुरा नराम्रो कुरा होइन । चाहे राम्रो लेखोस् वा नराम्रो । चोरी गर्ने, डकैती गर्ने, मारकाट गर्ने, हिंसा गर्ने, अवैध कुराहरू गर्ने पो नराम्रो । अरूलाई घात गर्ने पो नराम्रो । सिर्जना गर्ने त नराम्रो कुरा होइन । सिर्जनाले मान्छेलाई नराम्रो बाटो लाउँदैन । एक प्रकारको ध्यान जस्तै हो । मेडिटेसन जस्तै हो। त्यसकारण जसले जसरी लेख्छ, लेख्छ । उहाँहरूले लेखेकोमा केही भन्नु छैन । तर अब त्यसमध्येमा फिल्टर गरेर जाने समालोचकहरूको हातको कुरा हो । अचेल त समालोचकहरूको खडेरी परेको छ । त्यसकारण यही हो भनेर केही परिभाषित नै गर्न सक्दिनँ ।
अनि नेपाली साहित्यमा महिला स्रष्टाको उपस्थिति कस्तो छ ?
गज्जब छ । तर दुःखको कुरा पारिजात दिदीमा ट्याक्कै अड्किरहेको छ अहिलेसम्म । पारिजात दिदीको चिरफार जति हुनुपर्ने भइसक्यो । जस्तो भनौँ डाक्टर बानिरा गिरी दिदी, प्रेमा शाह दिदीदेखि लिएर मञ्जु काँचुली दिदीहरू हुनुहुन्छ । मञ्जु काँचुली दिदीको राम्रो किताबहरू छ । अहिले सरस्वती प्रतीक्षा, मोमिला, कुमारी लामा, उमा सुवेदी, प्रभा बरालदेखि एकसे एक बहिनीहरू छन् । एकसे एक हुनुहुन्छ । त्यसकारण निराश हुनुपर्ने अवस्थै छैन । एउटा कुरा फेरि पुरुषको लेखनको इतिहास कहिलेदेखि ? नारीको इतिहास कहिलेदेखि ? वास्तवमा भारसहित हिँड्नु र भारविहीन हिँड्नुमा फरक छ । त्यो हिसाबले कम्पेयर गर्ने हो भने सत्प्रतिशत लोग्ने मान्छेहरूले राम्रो लेख्छ भने एक प्रतिशत स्वास्नीमान्छेले नराम्रो लेख्यो भने त्यो सत्प्रतिशतसँग दाँज्न मिल्ने कुरा हो । तर पनि सिर्जनालाई त त्यसो भन्न मिल्दैन। त्यसकारण सिर्जनाकै हिसाबले कम्पिटिसन गर्ने हो भने पनि कम छैन ।
तपाईंको जीवन र लेखनमा महिलाको संघर्ष र आत्मसम्मानको विषय किन यति बलियो रूपमा उठाउनुभएको छ ?
त्यो त मैले उठाउनै पर्छ । साहित्यकारहरू समाज र राजनीतिको लागि असल प्रतिपक्षको भूमिकामा हुन्छन् । त्यसकारण देखेका कुराहरू उठाउनै पर्छ । समाजलाई ऐना देखाउनै पर्छ। यदि साहित्य समाजको दर्पण हो भने त्यो दर्पण देखाइदिनु पर्यो नि । हाम्रो कर्तव्य हो ।
तपाईंको कृतिहरूमध्ये तपाईंको आत्मासँग सबैभन्दा नजिक कृति कुन हो ?
त्यस्तो केही पनि छैन मेरो । कुनै कृति मेरो आत्मासँग नजिक छैन, टाढा पनि छैन । किनभने मलाई मेरो सिर्जनाहरू प्यारा लाग्छन् चाहे राम्रो होस् वा नराम्रो होस् । अरूले त प्रकाशन गर्दा नि रोजेर प्रकाशन गर्छ । म त्यस्तो खालको मान्छे होइन ।
यो ‘अन्त्यको अस्ताउँदो घाम, एक नागरिकको अन्तिम प्रश्न’ शीर्षकले नै गम्भीर चिन्तन बोकेको देखिन्छ। यस कृति मार्फत तपाईं समाजलाई कस्तो प्रश्न सोध्न चाहनुहुन्छ ?
त्यो चाहिँ पढ्नै पर्छ, अहिले भन्न मिल्दैन । तपाईं पढ्नुस् अनि मलाई भन्नुस् । मेरो दोस्रो कविता निस्केको चाहिँ २० वर्ष पूरा पुगेर २१ वर्ष भयो । २१ वर्षको दौरानमा जम्मा भएका कविताहरू सबै त्यो भित्र छ । अन्तिम कविता लेखेर कविता पनि नलेख्ने पक्षमा छु । त्यसैले म अन्तिम प्रश्न गरेर छोड्ने वाला छु। त्यसपछि नयाँ च्याप्टर सुरु हुन्छ ।
धेरै लेखिसक्नुभयो, अब के बाँकी छ ?
केही सपना बाँकी छैन। जे गर्नुपर्ने एउटा स्रष्टाको हिसाबले, ह्युमन बिइङको हिसाबले गरिसके । जिन्दगी देखि कुनै गुनासो छैन । यो गरौं उ गरौं भन्ने कुनै सपना छैन । म त माथि जाने तयारीमा बसिराखेको छु । मलाई एउटै मात्रै डर के छ भने दीर्घ रोगी भएर बाँच्न नपरोस् । अँ, एउटा सपना त बाँकी छ । हाम्रो जेनेरेसनले धेरै पीडाहरू भोग्यो ! अब तपाईंहरूको जेनेरेसनले, आउँदो पुस्ताले कुनै पनि कुराहरू भोग्न अभिशप्त नहोस् । नेपाल मात्रै होइन, विश्वका मानवहरूले बाँच्न पाउन ।
आजको नेपालमा साहित्यले समाज परिवर्तन गर्न सक्ने शक्ति अझै बाँकी छ कि साहित्य अभिलेख मात्रै रहेको छ ?
साहित्य लेखेर मात्रै भएन । पढ्ने पाठकहरू हुनुपर्यो । कतिले त मलाई पर्सनली पनि भन्छन् ‘तपाईंको साहित्य पढेर यस्तो लाग्यो’। कतै न कतै झिल्को जाँदो रहेछ । ग्रहण गर्नेले कसरी ग्रहण गर्छ, त्यसमा भर पर्छ। पहिला मनोरञ्जनका अन्य साधन थिएन । रेडियो नेपाल र पुस्तक मात्रै थियो । हदै भए सिनेमा थियो । अहिले त त्यस्तो साधन कति छ कति । त्यसमध्ये यति हुनु भनेको निराशाजनक अवस्था होइन । योङ्ग जेनेरेसनमा पनि पठनपाठनको संस्कृति बढिरहेको छ । डिस्कसनहरू गरिरहेको हुन्छ । जस्तो आव्हानले, मार्टिन चौतारी, बुकाहोलिक्स र साग्रिला संवादले गरिरा हुन्छ । त्यस्ता कार्यक्रम त थुप्रै भइराखेकै हुन्छ ।
नयाँ पुस्ताका लेखक, कविहरूलाई तपाईंको सुझावहरू केही छ ?
अचेलका लेखक, कविहरू एकदमै स्मार्ट हुनुहुन्छ । धेरै राम्रो लेखिराख्नुभएको छ । उहाँहरूलाई सुझाव दिनुपर्ने त केही छैन । हाम्रो पालासम्म हामीले समान रूपमा कुनै सुविधा पाएनौं । छोराहरूको लागि अर्कै नियम कानुन थियो, छोरीहरूको लागि अर्कै । मेरो जेनेरेसनको पुस्ताले त छोराछोरीलाई फरक गरेर हुर्काएको छैनौं । छोराहरू सरह नै उनीहरूले अवसरहरू खोज्नु पर्यो ।
मलाई एकदमै चित्त नबुझ्ने अचेल कार्यक्रमहरूमा महिलाहरूलाई किस्ती बोकाउने, खादा लगाउने, माला लगाउन लगाइन्छ । पार्टीमा पनि झण्डा बोकेर अगाडि अगाडि गाउन, नाँच्न लगाइन्छ । कार्यक्रममा मञ्चमा पुरुषहरू हुन्छन् महिलाहरू नदेख्दा चित्तै बुझ्दैन । अबको छोरी पुस्ताहरूसँग मेरो असहमति त्यो छ। मैले कविता पनि लेखेको छु ।
अबको पुस्ताले चाहिँ कस्तो साहित्यहरू लेख्नुपर्छ ? के-के चिजमा विशेष ध्यान दिएर कलम चलाउनुपर्छ ?
अबको पुस्ताले कलम चलाउँदा खेरि नोबेल पुरस्कार भित्र्याउने वातावरण तयार गर्ने गरेर लेख्नुपर्छ । विश्वभर पुग्ने साहित्य लेख्नुपर्छ । मदन पुरस्कारमा मात्रै सीमित नभएर नोबेल पुरस्कारसम्म पुग्ने बाटो तय गर्नुपर्छ ।
अन्त्यमा पाठक र हर समयका दर्शकलाई तपाईं के सन्देश दिन चाहनुहुन्छ?
डिजिटलको जमाना छ । टिकटकले खाइराखेको छ । मान्छेमा धैर्य भन्ने छैन । एउटा उमेर पुगिसकेकोहरुले अध्ययन नगरे पनि सबैले पुस्तक पढ्न जरुरी छ । त्यसले धेरै ज्ञानका दायराहरु फराकिला गर्छन । अध्ययनशील हुनुपर्छ । सबै मान्छेहरू पढ्नकै लागि जन्मिएको त हुँदैन । तर आफूलाई केमा सोख छ, के मा प्यासन छ, त्यसलाई बढावा दिएर दि बेस्ट हुन जरुरी छ । त्यो छोराछोरी दुवैलाई लागू हुने कुरा हो । हाम्रो जेनेरेसनमा डाक्टर नै हुनुपर्छ, इन्जिनियर हुनुपर्छ, पाइलट हुनुपर्छ भन्ने थियो । च्वाइस भनेको डाक्टर, इन्जिनियर, पाइलट तीनवटा मात्रै क्षेत्र थियो । अहिले कति छ, कति । जुनसुकै क्षेत्रमा पनि तपाईंले नाम कमाउन गाह्रो छैन । दाम कमाउन गाह्रो छैन । तर मिहनेत त गर्नै पर्छ ।



