Harsamaya
आफूले पैसा र समय खर्चेर पढेको रचनाप्रति आफ्नो धारणा राख्‍नु पाठकको स्वतन्त्रताको कुरा हो : प्रा.डा. कक्षपति
प्रा. डा. सावित्री कक्षपति। ग्राफिक्स : हर समय/Har Samaya

प्रा. डा. सावित्री कक्षपतिले करिब ३४ वर्ष नेपाली भाषा साहित्य, नाटक र पाश्चात्य समालोचना विषयमा प्राध्यापन गरिन् । वि.सं. २०१६ मा पाल्पाको तानसेनमा जन्मिएकी उनका नेपाली साहित्य, लोकसंस्कृति तथा समालोचनाका विषयमा पुस्तकहरू प्रकाशन भएका छन् । बालकृष्ण समका नाटकमा रङ्गशिल्प विषयमा विद्यावारिधि गरेकी उनी भन्छिन्–‘सुरूमा बालकृष्ण समका नाटकको रङ्गशिल्प के सम्भव छ र भन्ने मलाई लाग्दथ्यो । बालकृष्ण समका नाटक रङ्गमञ्चीय दृष्टिले असम्भव छैनन् कि अर्थात् मञ्चनयोग्य छैनन् कि भन्ने लागेको थियो । 

उनका नाटकको मञ्चनमा मलाई कता-कता अपूर्ण पो भयो कि भन्ने लागिरहेको थियो । हामीलाई त्यही दृष्टिले पढाइएको पनि थियो । पछि प्रचण्ड मल्ल र हरिहर शर्माले हामी यहाँ नाटक मञ्चन गरिरहेका छौँ, तर तपाईंले किन यसो भनेको भनी प्रश्न गर्नुभयो । मेरो प्रश्नपछि उहाँहरूले समको कुनचाहिँ नाटक रङ्गमञ्चीय दृष्टिमा असम्भव छ र भनेपछि बिस्तारै म पनि कन्भिन्स भएँ । बालकृष्ण समका नाटकमा लामा/लामा संवाद भएका र छन्दोबद्ध अनि लयबद्ध भएका संवादको मञ्चन गाह्रोजस्तो लागेको थियो । त्यसैले मैले मेरो अध्ययन पनि समका नाटकको रङ्गशिल्प शीर्षक छानेकी हुँ ।’

यस्तै नेपाली नाटकप्रति विदेशीको रुचिबारे सावित्री कक्षपतिको कथन छ– ‘केही समयअघि हामीले बैङ्लोरमा नेपाली नाटक देखाउँदा त्यहाँ भारतीयमात्र नभएर धेरै विदेशी दर्शक थिए । उनीहरूले सिनेमा हेरेभन्दा बढी मानिसको जीवनका वास्तविक भोगाइ नै देखियो भनेर निकै प्रशंसा गरेका थिए त्यतिखेर । हामीले विदेशमा हाम्रा नाटकको तुलना नै अलग्गै हुन्छ । सबैले नेपाली कथालाई आफ्नै कथामा ढालेर हेर्न र बुझ्न सकिने कला भएर दर्शक भावुक हुन्छन् । हाम्रा नाटकमा गाउँ र सहर दुवै छ अनि कला र वास्तविकता समेटिएको हुन्छ । हाम्रो देशको अद्वितीय कला संस्कृति, भेषभूषा, जातीय अनि भाषिक विविधता र हाम्रो अलौकिक भौगोलिक बनावट पनि हुन सक्छ हाम्रा नाटकमा । त्यसैले विश्वका दर्शकले नेपाली नाटकलाई आफ्नै कथा मानेर रुचिका साथ हेर्छन् ।’ 

यहाँको साहित्य लेखन कहिलेबाट सुरू भयो ? 
वि.सं. २०३१/३२ तिर कलेज पढ्दै गर्दा ।

कसबाट र कसरी प्रभावित हुनुभयो ?
खासै त्यस्तो कोहीबाट त होइन । साहित्यको विद्यार्थी थिएँ । साहित्यका विभिन्न पुुस्तक पढ्ने सन्दर्भ र क्याम्पसमा हुने साहित्यिक कार्यक्रमले लेख्ने प्रेरणा दिएको हो । 

कसरी बढिरहेको छ त लेखन गतिविधि ? 
सांस्कृतिक अध्ययनमा रूचि भएकाले कुनै सिर्जना पढ्दा त्यही कुराको प्रक्षेपण स्रष्टाबाट कसरी भएको छ भन्ने कुरालाई नजिकबाट नियाल्ने प्रयास गर्ने गरेकी छु । लोकवार्तामा रूचि भएका कारणले अनुसन्धानमूलक कार्यपत्र लेख्ने गरेकी छु ।

वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ? 
केही राम्रा रचना सिर्जना भएका छन् । लेखन र प्रकाशनको घनत्व बढिरहेको अवस्था छ । आफ्ना अनुभूति पोख्ने सन्दर्भमा धेरै लेखक बजारमा देखिएका छन् । तर त्यसलाई मैले नराम्रो भनेर असन्तुष्टि जनाउनुपर्ने आवश्यकता देख्दिनँ । बाढी र भेलले बगाएर ल्याउने न हो शालिग्राम । ठीक त्यही स्थिति देख्दछु । अहिलेको लेखनले शास्वत र गहन लेखाइलाई सतहमा ल्याउने काममा सहयोग गरिरहेको छ । धेरै राम्रा-राम्रा सिर्जना भइरहेका छन् । लेखकले जीवनलाई नजिकबाट भोगेका र देखेका अनुभूतिलाई लेखनमा उतारेका छन् । लेखनका लागि आफूले निर्माण गर्न खोजेको कथ्यलाई प्रामाणिकता दिनका लागि सम्बन्धित ठाउँमा गएर खोजबिन गरी लेख्ने प्रवृत्ति बढिरहेको अवस्था छ । त्यस्ता लेखनले जीवनलाई जुरुक्कै उठाएर राखिदिएका छन् । त्यस्ता धेरै रचनाले म प्रभावित भएकी छु र भविष्यमा अझ स्तरीय लेखन आउने कुरामा आशावादी छु । अहिलेका कतिपय लेखनले बोध गराउने जीवनदृष्टि कुनै विदेशी लेखकको लेखनभन्दा कम छैन । त्यसैले म वर्तमान लेखनप्रति सन्तुष्ट छु । 

कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि ? 
उत्तरवर्ती नेपाली रङ्गकर्मको रूपरेखा, पाठकीय अभिव्यञ्जनामा सिर्जनाको प्रक्षेपण र अन्तध्र्वनि नामका तीन कृति प्रकाशनका लागि अन्तिम रूप दिइरहेकी छु । 

साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ? 
ठूलो जिम्मेवारी छ । साहित्यकारलाई म सामाजिक अभियन्ताको रूपमा लिने गर्दछु । तिनले रचना गर्ने सन्दर्भमा आफ्नो व्यक्तिगत अनुभूति पोख्न ऊ स्वतन्त्र छ । तर त्यसलाई प्रकाशनमा ल्याएर सार्वजनिकीकरण गर्ने हो भने बडो सजग भएर लेखिनुपर्छ, ताकि त्यसले कुनै पनि विवाद नल्याओस् । अहिलेका पाठक पहिलेका जस्ता खुरुखुरु पढ्ने खालका छैनन् । चेतनाको स्तर बढेको आजका पाठकले हरेक ठाउँ र अभिव्यक्तिमा तर्क खोज्ने गर्दछन् । साहित्य लेखनबाट लेखकले आनन्द प्राप्तिमात्र गरेका छन् अथवा लेखनको प्रक्षेपणले सामाजिक रूपान्तरणमा सहयोगी भूमिका खेलेको छ कि छैन भन्ने कुरालाई बडो चनाखो भएर हेर्दै तिनको जीवनदृष्टिलाई नियाल्ने गरेका छन् । आफूले पैसा र समय खर्चेर पढेको रचनाप्रति आफ्नो धारणा राख्नु फेरि पाठकको स्वतन्त्रताको कुरा पनि हो । एउटै कृतिमाथि पनि विभिन्न पाठकको विभिन्न दृष्टिकोण आउन सक्ने पर्याप्त सम्भावना रहेको हुन्छ । आ-आफ्नो पहिचानप्रति सचेत रहेका आजका पाठकका अगाडि लेखनको माध्यमबाट समाज र राष्ट्रको मुद्दालाई जिम्मेवारीपूर्ण तरिकाले पस्किनुपर्छ ।
 
तपाईंको साहित्यिक आदर्श के हो ?
प्रायः साहित्यकारले आफ्नो लेखन स्वान्तःसुखाय हो भन्ने गरेका छन् । यदि स्वान्तःसुखका लागि मात्र लेख्ने गरिएको हो भने त्यसलाई किन सार्वजनिक गरेर विशाल पाठकका बीच पुर्याउने काम गरेको होला त ! त्यससम्बन्धी मेरो जिज्ञासा शान्त पार्ने तथ्य मैले भेट्न सकेकी छैन । किनभने लेखकको सिर्जनाले तिनलाई दिएको स्वान्तःसुखाय पाठकले पनि पाउन सक्दैन भनेर कसरी ठोकुवा गर्न सकिन्छ र !  यदि स्वान्तःसुखाय नै हो भने लेखेर राखे भइहाल्यो नि । फेरि त्यसलाई प्रकाशन गरेर पाठकका बीचमा पुर्याएर आफ्नो सिर्जनाबारे तिनका प्रतिक्रिया सुन्न आतुर किन हुन्छ त लेखक ? जबसम्म लेखनले समग्र पाठकको मन छुने वा तिनलाई तरङ्गित गर्ने सामथ्र्य राख्दैन–तबसम्म त्यसलाई गहन स्थान दिन कसरी सकिन्छ र ? 

वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ? 
गर्न त गरेका छन्, तर कहिलेकाहीँ विभिन्न चश्मा लगाएर शास्वत कुरालाई पनि मेरो खेमाको मात्र हो भन्नेजस्तो गरी कतिपय लेखक र पाठक प्रस्तुत भइदिँदा दुःख लाग्ने गर्दछ । तपाइँले यहाँ लेखकको मात्र कुरा गर्नुभएको छ । तर मैले लेखक सँगसँगै समानान्तर रूपमा पाठक पनि हिँडिरहेको देखिरहेकी छु । त्यसैले पाठकको कुरा गरेकी हूँ । किनभने पाठकले माग गर्ने हो र मागअनुसारको आपूर्ति साहित्यको बजारमा पनि हुन्छ । यस अवस्थामा केही लेखकले आफ्नो दायित्वलाई हल्का बनाएको हो कि अथवा तिनबाट आंशिक दायित्वमात्र बहन भइरहेको छ भन्ने लाग्दछ । 

तपाईं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ? 
निश्चित रूपमा छु । म कृति लेखेर धमाधम प्रकाशन गरी प्रकाशनको सूचीलाई लम्ब्याउने लेखकभित्र सायद पर्दिनँ । तर फेरि लेख्दै नलेखेको भने होइन । फुटकर रूपमा विभिन्न पत्रपत्रिकाले मागेको अवस्थामा समालोचना र सांस्कृतिक लेख लेखेकी छु र ती छापिएका छन् । त्यस अर्थमा मलाई अल्छी लेखक भन्नुभए पनि हुन्छ । तर त्यस्तो खालको मेरो लेखनको पनि मैले परिस्थितिगत विश्लेषण गर्ने गरेकी छु । भन्नुपर्दा म मेरो पठनको अनुभूतिलाई गाईवस्तुले घाँस खाएर पछि मजाले चपाउँदै निल्दै गरेको अवस्थासँग तुलना गर्ने गर्दछु । 

साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?
लेखकले लेखनमा आफू जतिसुकै स्वतन्त्र छु भने पनि अनौपचारिक रूपमा लेखनलाई पाठकले नदेखिने गरेर इनभिजिबल रूपमा निर्देशन गरेको हुन्छ । अहिले पाठकको रूचि केमा रहँदै जान थालेको छ, तिनले भोगेका वर्तमान जीवनको प्रस्तुति लेखनमा छ कि छैन, त्यसले समसामयिक जीवनबोधलाई सम्बोधन गरेको छ कि छैन भनेर त्यसलाई गहिरिएर बुझ्नुपर्ने परिस्थितिको निर्माण भएको छ । पहिलेजस्तो नितान्त काल्पनिक कुरामात्रै लेखिएको पुस्तक पठनमा आजका पाठकको रूचि त्यत्ति भएजस्तो देखिरहकी छैन । हिजोको लेखन यही यात्रामा बढेर आएको हिजोको लेखनभन्दा फड्को मार्नुपर्ने स्थिति देखिएको छ । किनकि पाठकले विभिन्न किसिमले जीवनभोगाइमा फड्को मारेको अवस्थामा आफूलाई सम्बोधन गरिएको रचना नै पढ्न मन पराउँछन् । 

तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?
साहित्यमा जीवन, पर्यावरण र संस्कृति पनि लेखिनुपर्छ । निर्विवाद हुने किसिमका सबै किसिमका पाठक अट्न सक्ने हुनुपर्छ लेखन । कुनै नामधारी चिन्तनबाट रङ्गिएर त्यसैलाई जबरजस्ती स्थापित गर्ने खालका लेखनले लेखक आफैँलाई घाटा हुन्छ भन्ने मेरो ठहर छ । नितान्त शू्न्य दिमागले कुनै पूर्वाग्रहविना निर्माण भएको नितान्त मानवजीवनबारे लेखिएका अग्र्यानिक साहित्य मलाई मन पर्छ । र त्यस्तै साहित्य लेखिनुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update