Harsamaya

कैलाली - कैलालीको लम्कीचुहा नगरपालिकाकी नगर माता अर्थात् नगर प्रमुख छिन् सुशिला शाही । नगरलाई समृद्ध बनाउन उनले गरेका कामहरूले उनी चर्चित छिन् । नगरको भौतिक विकासमा मात्रै होइन शाहीले तल्लो वर्गका मानिसहरूको जीवनस्तर उठाउन पनि विभिन्न कार्यक्रम अघि सारेकी छिन् । युवा जोशका साथ नगर निर्माणमा लागेकी उनले नगर भित्र रहेका महिला, दलित, वृद्धवृद्धा र बालबालिकाको जीवनस्तर उकास्न विभिन्न कार्यक्रम गर्दै आएकी छिन् । 

उनले अहिले नगरभित्रका बरघर र चौकीदारको जीवनस्तर र कामलाई सहज र छिटो छरितो बनाउन मोबाइल र साइकल वितरण गरेकी छिन् । एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले नगरभित्र रहेका ५० जना बरघर र ४८ जना चौकीदारलाई मोबाइल र साइकल वितरण गरेको हो । ७ लाख २५ हजारको मोबाइल ३ लाख ६० हजारको साइकल वितरण गरिएको नगरपालिकाकी मेयर  शाहीले जानकारी दिइन् । 

मोबाइल पाएपछि सूचना प्रवाहमा बरघरहरूलाई सहज हुने मेयर शाहीको विश्वास छ । ‘उहाँहरूले सुरक्षा दिन दौडधुप गर्नुपर्छ भन्नुभएको थियो’ उनले भनिन् ‘सोही अनुसार कार्यपालिकाबाट निर्णय गरेर ५० वटा मोबाइल बरघरलाई र ४८ वटा साइकल चिरागीहरूलाई हस्तान्तरण गरेका छौं  ।’ 

Sushila-Shahi-Lamki--1762183062.jpg

मोबाइल पाएपछि खुशी भएका बरघर जयराम चौधरी बल्ल उत्साहजनक रुपमा काम गर्ने जागर आएको बताउँछन् । लामो समयदेखि बरघरको जिम्मेवारी लिएपनि कसैले ध्यान नदिँदा काममा उत्साह नभएको उनले बताए । अहिले काम गर्ने जागर र उत्साह दुवै थपिएको उनको भनाई छ । 

लम्कीचुहा वडा नम्बर ५ की बरघर ललिता चौधरी मोबाइलले काम गर्न सजिलो हुने प्रतिक्रया दिन्छिन् । उनले आउने जनप्रतिनिधिहरूलाई पनि यस्तै काम गर्न सल्लाह दिइन् । 

लम्कीचुहा वडा नम्बर २ का चौकीदार सोहन चौधरी साइकल पाएर मख्ख छन् । गाउँ गाउँ हिँडेर पुग्ने उनी साइकल पाएपछि गाउँ घुम्न सजिलो हुने बताउँछन् । नगरपालिकाले आफ्नो काम सजिलो बनाइदिएकोमा उनी जनप्रतिनिधिलाई धन्यवाद दिन्छन् । 

Sushila-Shahi-Lamki-1-1762183061.jpg

पश्चिम नेपालका केही जिल्लामा बरघर र चौकीदार राख्ने प्रचलन छ । बरघर भन्नाले गाउँलेहरू मिलेर एक वर्षका लागि चुनेर बनाइएको मुखिया, गाउँको अगुवा वा बडघर भन्ने बुझिन्छ । कैलाली र कञ्चनपुरमा बरघरलाई ‘भलमन्सा’ पनि भन्ने चलन छ । थारू समुदायको प्रतिनिधित्व गर्ने र शान्ति सुव्यवस्था कायम राख्ने काम बरघरले गर्छन् । बरघरको सहायकका रूपमा चौकीदार चुनिएका हुन्छन् । बरघरले थारूको मौलिक सञ्चार प्रणाली अनुसार सूचना प्रवाह गर्ने गर्छन् भने चौकीदारले सूचना प्रवाह र गाउँको सुरक्षा गर्ने गर्दछन् । 

यसैले समृद्ध, सुसुचित र सूरक्षित नगर निर्माणको लागि नगरपालिकाले साइकल र मोबाइल वितरण गरेको बताएको छ ।

Sushila-Shahi-Lamki-2-1762183061.jpg

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  २१:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update