अरूका लागि बल्ने बत्ती बनेर थाकेँ,
उनीहरूको अँध्यारो उज्यालो पार्दै,
तर कहिल्यै कसैले सोध्यो र ?
“तिमी आफैँलाई कसरी उज्यालो दिन्छौ?”
हरेक रात म आफैँ पोलिँदै गइरहेँ,
अरूको खुसीमा आफ्ना आँसु बगाएँ।
सायद मेरो बल्दो उज्यालोले कसैको बाटो देखायो,
तर मेरो मनमा मात्र खरानी जम्दै गयो।
अब बुझेँ
बत्ती बन्नेहरूको भाग्य जल्नु नै हो,
उनीहरू उज्यालो दिन्छन्, तर हराउँछन्।
तर म हराउन चाहन्न,
म आफ्नै भित्र निदाइरहेको सूर्य खोज्दै छु।
अब म आगो बन्नेछु
जसले उज्यालो मात्र होइन, न्यानोपन पनि दिनेछ,
जो आफैँमा बल्छ र अरूलाई बल्न सिकाउँछ।
अब म कसैको छायामा होइन,
मेरो आफ्नै प्रकाशमा बाँच्नेछु।
अरूका सपना पूरा गर्दै
बिर्सिएको मेरो सपना,
अब म तिनै खरानीबाट पुनः जन्माउँदै छु।
थाहा पाएँ
माया सधैँ आत्म त्याग होइन,
कहिलेकाहीँ आफैँलाई माया गर्नु नै
साँचो उदारता हो, साँचो स्वतन्त्रता हो।
अब म बत्ती होइन,
आगो हुँ -जसलाई पोलिन डर छैन,
जो विनाशमा पनि पुनः जन्मिन्छ,
र आफ्नो उज्यालोसँग नयाँ बिहान बनाउँछ।
अब म आफैँलाई उज्यालो दिने आगो बनेर
जीवनको नयाँ अध्याय लेख्दै छु…

