Harsamaya
आकर्षक विज्ञापनसहित हिँड्न नसके गुणात्मक स्रष्टा र सिर्जना दुवै ओझेल पर्छन् - मोमिला जोशी

मोमिला जोशी नेपाली कविता, निबन्ध र समालोचना विधामा कलम चलाउँछिन् । प्राध्यापन पेशामा आबद्ध उनी माता सनकादेवी र पिता सिद्धिप्रसाद जोशीबाट  वि.सं २०२४ मा धनकुटामा जन्मिएकी हुन् । स्नातकोतरसम्मको अध्ययन गरेकी जोशी प्राध्यापन पेशामा आबद्ध छिन् ।  उनको रूपरेखा पत्रिकामा ...‘प्रतीक्षा फेरि चिताको’ शीर्षकको पहिलो कविता प्रकाशित भएको थियो । 

मोमिलाले आधा दर्जनजति पुस्तक सम्पादन गरिसकेकी छिन् । हालसम्म उनका पैयुँ फुल्न थालेपछि (कविता सङ्ग्रह–२०५२), नीलो–नीलो आकाश र दुई थोपा आँसु (निबन्ध-कवितासङ्ग्रह–२०५३), जूनकीरीहरू ओर्लिरहेछन् (कवितासङ्ग्रह–२०५५), दुर्गम उचाइमा फुलेको आँधी (कविता सङ्ग्रह–२०६०), ईश्वरको अदालतमा आइटसाइडरको बयान (निबन्धसङ्ग्रह–२०६३),भीमसेन थापाको सुसाइड नोट (कविता सङ्ग्रह–२०७०) लगायत दुईवटा पुस्तक अङ्ग्रेजी भाषामा पनि प्रकाशन भइसके ।

आधा दर्जन जति संघ संस्थामा सक्रिय उनी दुई दर्जनभन्दा बढी पुरस्कारले सम्मानित भएकी छिन् । कला साहित्य डट कम प्रतिष्ठानको अध्यक्ष रहेकी उनले नेपाली कला साहित्य यात्रामार्फत् देश तथा विदेशमा नेपाली साहित्यको वाणी सम्प्रेषण गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएकी छिन् ।

‘कुनै पनि सिर्जनामा स्रष्टा यदि अनुभूति–भाव–विचार–चिन्तन हुँदै दर्शनको उचाइ या गहिराइसम्म पुग्दछ भने उसले त्यहाँसम्म पुग्दा हिँंडेको लामो यात्रामा निश्चय नै दिन, रात, घाम, छाया, हुरी, बतास, उकाली, ओराली, चिसो, तातो, फूल, काँडा, आकाश, समुद्र, बगर, उजाड, हरियाली, दुःख, सुख, स्वीकृति, अस्वीकृति, प्रेम, घृणा, त्रास, आनन्द, भीड, एकान्त आदिसँग जम्काभेट हुन्छ नै । लेखक आफू पनि जीवन सम्बद्ध हास्य, करुण, शृङ्गार, वीर, अद्भुत, भयानक, रौद्र, बीभत्स र शान्तजस्ता रसानुभूति गर्छ र भावकलाई पनि त्यो अवस्थासम्म पुर्याउँछ ।’ मोमिलाको लेखन सम्बद्ध आत्म स्वीकृति हो यो । नेपाली विषयको स्नातकोत्तर परीक्षामा छात्रातर्फ सर्वप्रथम भएकी उनका रचनाले बौद्धिकताको उपल्लो धुरी छोएको छ भन्दा पटक्कै अतिशयोक्ति हुँदैन ।

प्राध्यापक अभि सुवेदीबाट प्रयोगशील सर्जकको उपाधि पाएकी उनलाई निबन्ध लेखनमा वाक्य निकै लामा भएको आरोप लगाइए पनि उनी यसलाई आंशिक स्वीकार गर्छिन् र भन्छिन्– ‘म यस्तो आरोपबाट मुक्तिका लागि प्रयत्नरत रहनेछु ।’ तर अङ्ग्रेजी शब्दको मोह अत्यधिक भएको आरोप लगाए पनि उनको कुनै गुनासो छैन । समालोचक तथा प्रा.डा. गोविन्दराज भट्टराईले मोमिलालाई महाकवि लक्ष्मीप्रसाद देवकोटा र शंकर लामिछानेपछिको सशक्त हस्ताक्षरको उपाधि दिएबाट उनका काव्य/निबन्धकारिताले सगरमाथाको शिर छोएकोमा उनका पाठकले शंका मान्नु पर्दैन ।

यहाँको साहित्य लेखन कहिलेबाट सुरू भयो ?
सचेत लेखनको प्रारम्भ कविताबाट नौ वर्षको उमेरदेखि भएको हो । यो कविताको शीर्षक ‘एक दुःखी थियो’ जुन कविता जिल्लाव्यापी प्रतिस्पर्धामा प्रथम पनि भएको थियो ।

कसबाट र कसरी प्रभावित हुनुभयो ?
यसमा मलाई लाग्छ, शायद मभित्र सानैदेखि अस्तित्वको भोक लुकेको थियो । हुन सक्छ, त्यो भोकले नै मलाई साहित्यकलातिर आकर्षित गरेको हुनुपर्छ । यही कारणले गर्दा म सानैदेखि चित्रकला, संगीत, नृत्य र कविता सबै कुरामा मग्न हुन्थेँ । यही भोकले मलाई निकै संवदेनशील पनि बनाएजस्तो लाग्छ । कहिले दाइलाई पढ भन्यो, मलाई किन पढ भनेन भनेर रुन्थेँ, म । मायाको तीव्र चाह उर्लियो भने आफूतिर ध्यानाकर्षण गर्नका लागि म कृत्रिम बिरामी भइदिन्थेँ र अर्को प्रभाव भनेको म वरिपरिको परिवेश पनि हो । मेरी ठूली दिदी प्रमिला जोशीको प्रेमिल प्रेरणा र वात्सल्यपूर्ण साथ त थिँदै थियो भने मेरा बुवा अत्यन्तै प्रतिभाशाली हुनुहुन्थ्यो र त्यसले मलाई थप ऊर्जाशील बनाउने गथ्र्यो ।

कसरी बढिरहेको छ त लेखन गतिविधि ?
भागदौड भरि सङ्षपूर्ण जीवनको दैनिक रफ्तारको फेर समाएर नेपाली कला साहित्य डट कम प्रतिष्ठानसँग सम्बद्ध संस्थागत गतिविधिसँगै मेरो लेखनको गतिविधि पनि अघि बढिरहेकै छ । उनको पछिल्लो कृतिको रूपमा प्रकाशन भएको निबन्ध सङ्ग्रह ’प्रश्नहरू त बाँकी नै रहन्छन्’ हो । 

वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ?
सन्तुष्टि त एक अर्थमा पूर्णविराम नै हो, तर मान्छेको इच्छा आकाङ्क्षाको रङ्ग समयसापेक्ष बदलिरहने भएकाले सम्पूर्ण सन्तुष्ट कहाँ हुन सकिन्छ र ! पूर्णता भन्ने त शायद नहोला नै ! फेरि जहाँ पनि प्रश्नहरू त बाँकी नै रहन्छन् ...!

निकै लामो समयको प्रतीक्षापछि अर्थात् १७ वर्षपछि तपाईंको दोस्रो निबन्ध सङ्ग्रह ...प्रश्नहरू त बाँकी नै रहन्छन् शीर्षकको नयाँ कृति प्रकाशनमा आएको छ । यसमा तपाईं केही भन्न चाहनुुहुन्छ?
हजुर, नयाँ निबन्धसङग्रह प्रकाशनमा आइसकेको छ। अलिक अगाडि नै आउनुपथ्र्यो, तर प्रकाशनको तयारीकै क्रममा सम्पादन गरिसकेको तैयारी निबन्ध सामग्री कम्प्युटरबाट उडेर रिकभर हुन नसक्दा निकै ढिला भयो । तर पुनः नहारिकन यो घटना हत्केलामा भाग्यरेखा नभएको ठानी कर्मले भाग्यरेखा कोर्दै अघि बढियो । यसमा हात लागे ठोक्कर नै सही, अस्तित्वको वक्ररेखा हिँड्न मलाई सहर्ष मन्जुर भएकाले पुनः पुस्तक निकाल्न सफल भइयो । यसमा पाठक अर्थात् भावकलाई मेरो अनुरोध के छ भने यो पुस्तक पढ्नु नै भएन भने त केही लागेन, तरपढेर भाव ग्रहण गर्नुभयो भने त आँखामा होइन, हृदयमा जरुर आसन जम्ला भन्ने विश्वास लिएकी छु । सत्यसत्य यी निबन्धले तपाईंजस्तै सच्चा भावकको हृदयमा वास मागिरहेछन्...! यद्यपि प्रश्नहरू त बाँकी नै रहन्छन् ।

साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ?
कला साहित्य र स्रष्टा भनेको राष्ट्रका त्यस्ता धरोहर हुन्– जसले बाटो बिराएको बेला देशलाई नै मार्गनिर्देश गर्न सक्छ अर्थात् राष्ट्र भनेको हार्डवेयर हो भने स्रष्टाले गरेको सिर्जना सफ्टपावर हो । यद्यपि कला साहित्य र स्रष्टालाई केवल राष्ट्रको गहना भनेर उपयोगिता भन्दा पर केवल सो–पिसका रूपमा मात्र हेर्ने गरिन्छ । यो सत्यले साहित्य र स्रष्टालाई अनुत्पादक मानी उनीहरूप्रति सम्मान समेत गर्न नसकेको र उनीहरूप्रतिको जिम्मेवारीबोध समेत अत्यन्त कमजोर रहेको बताउँदछ ।

तपाईंको साहित्यिक आदर्श के हो ?
विशिष्ट विद्रोह चेतनासहित असल प्रतिपक्षको भूमिकायुक्त ‘असतो मा सद्गमय, तमसोमा ज्योतिर्गमय, मृत्योर्मा अमृतं गमय’ नै मेरो साहित्यिक आदर्श हो । मेरो विचारमा विद्रोह चेत भनेको विरोध होइन–सत्यको खोज हो । यसरी समाजमा भइरहेका असत्य, अँध्यारो, मृत्युको बोध गराउने जीवनविरोधी सम्पूर्ण कृत्यको अनुष्ठानमय उत्खनन गर्नु र त्यसबाट मुक्तिको खोजी गर्नु मेरो साहित्यक कर्मको धर्म या आदर्श मानेकी छु ।

वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ?
सत्यमा व्यक्ति स्वार्थबाट माथि उठेर झोले कार्यकर्ता नबनी मार्गदर्शक बन्ने दायित्व वास्तविक लेखकको काँधमा रहेको हुन्छ । यद्यपि राजनीतिक दलले जुनसुकै विचारलाई आफ्नो आदर्श माने पनि या सरकारले जुनसुकै वैचारिकता अँगाले पनि अर्थात् काम गर्ने शैलीमा आफ्नै रङ्ग र शैली भए पनि यो अनौठो कुरा भएन । तर दल सरकारमा पुगेपछि त्यो सरकार कुनै एक दलको नभएर देश नेपालको सरकार अर्थात् नेपाल सरकार हो । अझ भन्दा नेपाल सरकार कुनै एक दलको नभएर सिङ्गो देश नेपाल र आम नेपाली जनताको हो भन्ने लाग्छ । यसैले नैतिकवान् सही सरकारले राष्ट्रको गौरवपूर्ण विभिन्न प्राज्ञिक थलोलाई राजनीतिक भर्ती केन्द्र बनाउनुभन्दा विवेकसम्मत ज्ञान एवम प्रथालाई सर्वोपरि मानेर कर्म गर्नुपर्ने हुन्छ किनकि हाम्रोजस्तो लोकसम्मत मुलुकमा सरकार त फेरिरहन्छ । बाँकीरहने त उही राष्ट्र र नागरिक नै हुन । यद्यपि आज केवल आफ्नो स्वार्थलाई मात्र सम्झनुले नै लेखकले आफ्नो लेखकीय दायित्व बिर्सेको जस्तो लाग्छ । यसैले आज बोक्नुपर्ने लेखकीय दायित्व सबैका लागि बराबरी घामजूनले जस्तै सकेसम्म स्वाभिमानपूर्वक सबैलाई सम्झेर बोक्नुपर्ने देखिन्छ ।

जसरी—
फूल होस् या काँडा
कसैकोमा आफू कहिल्यै धाउँदैनन्
हेर्नेको आँखै छेकिन्छ बरु बादलले
घामजून त कहिल्यै छेकिन्‍नन् ।

तपाईं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ?
निरन्तर साधना र लेखनका क्रममा लेखन पनि खारिँदै जाने भएकाले सन्तुष्टितर्फ उन्मुख जरुर हुँला ! यद्यपि पूर्ण सन्तुष्टि मलाई जस्तै शायद कसैलाई नहोला ! किनकि प्रश्नहरू त बाँकी नै रहन्छन् ।

साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ?
मूलतः समयसापेक्ष भएर हेर्नुपर्ने हुन्छ । सबै छर्लङ्ग हुन्छ । यद्यपि मूल फरकचाहिँ के लाग्छ भने मूलतः डिजिटल युगले आजको लेखनलाई सकारात्मक र नकारात्मक दुवै रूपले फरक बनाएको छ । सकारात्मक यस अर्थमा कि चाह्यो भने सामाजिक सञ्जालका माध्यमबाट स्रष्टा र सिर्जना दुवै भाइरल बन्न सक्छ । तर आकर्षक विज्ञापनसहित हिँड्न सकेन भने गुणात्मक स्रष्टा र सिर्जना दुवै ओझेल पर्न सक्ने जोखिम रहन्छ भन्ने लाग्छ । यसमा गुटबन्दी र स्वार्थले पनि विशेष भूमिका खेलिरहेझै लाग्छ ।यद्यपि प्रश्नहरू त बाँकी नै रहन्छन् ।

तपाईंका विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?
मेरो विचारमा अहंकारको प्रवेश भयो भने प्रेम र लेखनी दुवैलाई विरूप बनाइदिन्छ यसैले अहंकारहीन भएर साँच्चो प्रेम गर्नुजस्तै लेखनी पनि अहंकार फुकालेर लेख्नुपर्छ– जसको आवाज र स्पर्शले हाम्रो हृदय र मस्तिष्कका तारलाई उत्तिकै झङ्कृत पारून्– जसलाई आँखा चिम्लेर परमानन्दको बोध गरेझै अँध्यारोमा पनि चिन्न सकियोस्, महशुस गर्न सकियोस् जसलाई प्रकृतिको प्रत्यक्ष सिर्जना शिरीष र गुलाबभन्दा अलि प...र शिरीषजस्तो, गुलाबजस्तो कसैलाई प्रेमिल उपहार दिन पनि सकियोस् अनि जसको प्रासङ्गिकता कहीँ, कतै र कहिल्यै नमरून्।

सृजनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला ?
एउटा सफल लेखकको सिर्जमामा सजीवता र काल्पनिकता दुवै हुनु जरुरी छ किनकि लेखनीमा यथार्थभन्दा पर काल्पनिकतामात्र भयो भने त्यो सुन्दर त हुन्छ, तर आकाशको फल आँखा तरी मर् भनेजस्तो मात्र हुन सक्छ भने लेखनीमा यथार्थ मात्र भयो भने पनि एकरसतानको वितृष्णाजस्तो लेखनीमा नरङ्गिएरै मन सादा/सादा हुन सक्छ– जसले गर्दा सिर्जनाको अस्तित्वको विशिष्ट लेबल गुम्न सक्छ ।

नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि ?
हरेक मान्छे आफैंमा युनिक हुने हुनाले हरेक लेखकले पनि आ-आफ्नै स्वतन्त्र रङ्ग, ढङ्ग,सुर र लयमा आफ्नो लेखनीको युनिक पहिचानसहित जीवन र लेखनको मार्ग पहिल्याउन सके त्यो नै निकै ठूलो लेखकीय न्याय हुने छ । यद्यपि यो त्यतिबेलामात्र सार्थक हुन्छ– जतिखेर एउटा लेखक साँचो लेखक नै भएर आडम्बरहीन बाँच्छ र सोहीअनुसार लेख्छ ।
फेरि पनि प्रश्नहरू त बाँकी नै रहन्छन्... ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update