Harsamaya
‘साहित्य त सङ्लो, निर्मल र पारदर्शी हुनुपर्छ’
साहित्यकार डा. गोविन्दराज भट्टराई । ग्राफिक्स: हर समय/Har Samaya

साहित्यको उज्यालो संसारमा शब्दहरूले भावनाको सेतु बाँध्छन् र मन–मस्तिष्कलाई स्पर्श गर्छन् । त्यही जगतका एक दीपस्तम्भ हुन् डा. गोविन्दराज भट्टराई । ‘साहित्य त सङ्लो, निर्मल र पारदर्शी हुनुपर्छ’  भन्ने उहाँको दृष्टिकोणले नेपाली साहित्यलाई गहिरो अर्थ दिएको छ। 

भट्टराई नेपाली साहित्यको एक स्थापित, सशक्त र चिन्तनशील व्यक्तित्व हुन्। वि.स‌ं. २०१० मा जन्मिनुभएका डा. भट्टराई हाल कीर्तिपुर, ट्याङ्लाफाँटमा बसोबास गर्नुहुन्छ। उहाँका पिता पं. टेकनाथ र माता मन्दोदरा दुवै स्वर्गीय हुनुहुन्छ। अंग्रेजी विषयमा एमए र एम एड सम्मको अध्ययन पश्चात् विद्यावारिधिसमेत हासिल गर्नुभएका उहाँको पहिलो प्रकाशित कृति उपन्यास मुगलान हो । जुन वि.सं. २०३२ मा प्रकाशित भएको थियो। साहित्यिक यात्रामा निरन्तर अग्रसर रहँदै उहाँले अहिलेसम्म ७९ वटा कृति प्रकाशित गर्नुभएको छ भने १५ कृति प्रकाशनको पर्खाइमा छन् । हर समय परिवारले आज प्रस्तुत गर्दैछ, एक प्रेरणादायी साहित्य–वार्ता । जहाँ अनुभव, अध्ययन र सृजनाको संगम भेटिन्छ। प्रस्तुतकर्ता यराम सापकोटासँगको यो विशेष संवादले केवल साहित्यप्रतिको उहाँको दृष्टिकोण मात्रै उजागर गर्दैन, नयाँ पुस्तालाई पनि मार्गदर्शन दिन्छ।

यहाँको लेखन कार्य विशेषतः साहित्य कहिलेबाट शुरु भयो ?
मेरो साहित्य लेखन वि.सं. २०३१ बाट आरम्भ भयो । त्यसै बेला मैले लेखेको कृति हो मुगलान (उपन्यास) । 

साहित्य सिर्जनामा यहाँ कसबाट र कसरी प्रभावित हुनुभयो ?
अनेक पूर्वज हुनुहुन्छ-धरणीधर शर्मा, कविशिरोमणि लेखनाथ, माधव घिमिरे । सुरुमा ता पाठ्यक्रमको बालसाहित्यले तान्यो । मेरा पिताजीमा पनि साहित्यप्रेम गहिरो थियो । मलाई त्यसले भिन्न संगारको बाटो देखायो । पछि हाइस्कूल पढ्दा गुरु दाताराम यसका अभियन्ता हुनुहुन्थ्यो । 

आफ्नो वर्तमान लेखनप्रति यहाँ सन्तुष्ट हुनुहुन्छ ?
मेरो निरन्तर छ । एउटा लेखक सन्तुष्ट भयो भने उसको काल आएछ भन्ठान्नोस् । अन्तिमसम्मै आफ्नो लेखनप्रति म सन्तुष्ट हुन्नँ होला । 

अन्य नयाँ कृतिको तयारीमा पनि हुनुहुन्छ कि ?
मेरा तीन कृति अघिपछि सँगसँगै जाँदैछन् । ती हुन् अनुकृतिहरूमा गोविन्दराज भट्टराई (समीक्षा) र एक कवितासङ्ग्रह तर तयारीको प्रक्रिया कति चल्छ । 

साहित्य र सष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?
राष्ट्रको जिम्मेवारी धेरै हुन्छ । उनको कृति छापिदिने, वितरण गरिदिने, सम्मान पुरस्कार दिलाउने र मासिक भत्ताको व्यवस्था गर्ने । भारतीय साहित्यकारले पाएको चाराना सुविधा हाम्रोमा छैन । खासगरी जति आयस्ता हो– देशकै ऋण–धनजति हो ९० प्रतिशत सत्तामा बस्नेले सिध्याउँछन्, ठेकेदार, डन गुण्डासित भाग लगाउँछन् र कला साहित्यको लागि उछिट्टिएको कनिकामात्र हो । त्यो पनि पार्टी राजनीति गर्नेले तान्छन्, त्यस्तो भाग खाने झोले, चमेरे थुप्रै हुन्छन् । स्वतन्त्र लेखक पानी पिएर बाँचेका छन् ।
 
साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?

आज लेख्ने धेरै भए । बढ्दो शिक्षित प्रतिशत, सामाजिक सन्जाल र खुला समाजले छोपिएका अनि लुकेका वर्गलाई पनि साहित्यतिर तान्दैछ । हिजो गर्छु भन्नेलाई कठिन थियो । स्रष्टा स्वतन्त्र थिएनन् । 

कस्तो साहित्य लेखिनुपर्छ भन्ने ठान्नु हुन्छ ?
साहित्य सर्वप्रथम सौन्दर्य–बाग हो । त्यसैले सर्वप्रथम यो कलात्मक हुनुपर्छ । शब्दले तानोस्, वाक्यले तानोस्, विचारले तानोस्, कुनै दर्शनले पनि तानोस् । कुनै नवीनतम दृष्टिकोणले तानोस् । राजनीतिको दहमा हिलो पानी खेल्नेजस्तो कुरा होइन साहित्य । यो सङ्लो, निर्मल र पारदर्शी हुनुपर्छ । 

लेखनप्रति के ले प्रेरणा दिन्छ जस्तो लाग्छ ?
एउटा शब्द छ अन्तःप्रेरणा त्यो आफैंभित्र हुन्छ । हुनु छ भने त्यहाँ एउटा बत्ती बल्छ । कुनैबेला कुनै परिस्थिति र परिवेशले झिल्का पर्दा त्यसले छुन्छ । त्यसलाई व्यक्त गर्न मन हुन थालेपछि आफैं बाटो पत्ता लाग्दै गर्छ । तर राम्रा पुस्तक नपढी, स्रष्टा आदर्श नमानी भित्रको बिर्को खुल्दैन । 

लेख्न कस्तो वातावरण चाहिन्छ भन्ने मान्नुहुन्छ ?
शान्त र एकान्त, हावा लाग्ने, उज्यालो र सफा । नजिकै पानी उमाल्ने केटल र इलामको कमान टी धूलो । त्यहाँ तीन–चारवटा कप पनि होउन् । कहिलेकाहीं दिग्दार लाग्दा, भोक लाग्दा, आलस्यले छुँदा कोही साथीभाइ आउँदा त्यता मन जान्छ । उत्तम कोटीका बिस्कुटका पाकेट पनि होउन् । लेख्नु माने अत्यन्तै राम्रा डायरीमा राम्रो कलमले गरेको स्पर्श हो । छेउमा शब्दकोशहरू र कुनै कुरा अड्किँदा फुकाउन गुगलमा पस्नुपर्छ । राम्रो ल्यापटप र त्यसले तिर्खाउँदा पिउने वाइफाइ कनेक्टेड होस् । सिद्धहस्त टङ्कणशिल्पी सधैँ भरि साथै हवस् ।

सृजनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला ?
कल्पना एउटा हतियार हो, सुवास वा अत्तर हो र साहित्यको सिर्जनाभूमि पनि तर सजीवता अनि कल्पना परिपूरक होइनन् दुवै नमिली उत्तम साहित्य जन्मिँदैन ।  

तपाईं साहित्यकार नहुनुभएको भए के हुने सम्भावना थियो ?
कसले भन्न सक्छ ? हजार सम्भावना हुन्छन् । कुनै एक मार्ग लिँदा जे पनि हुन सकिन्थ्यो । त्यो कुरा लेखान्तले भन्ला । के यस्तो विकल्प सचेततापूर्वक रोज्न पाइने कुरा हो र ?

नयाँ लेखकलाई यहाँको सुझाव के होला ?
नयाँ लेखकको कर्तव्य हो पढ्नु, स्तरीय साहित्य फेरि पढ्नु र अनि पनि पढ्नु । एफएमतिर पसेर गजल गाएर पाएको प्रशंसा व्यर्थको हो, पानीको फोकाझैँ साहित्यको होइन त्यो । एक असल कविता रच्ने प्रयत्न गर्नोस्, एक राम्रो उपन्यास लेख्ने प्रयत्न गर्नोस् । साहित्यका मापदण्ड यिनै हुन् । हजार गजल हाइकु ताङ्का र लघुकथा लेखेर सर्वत्र फिँजाए पनि ती क्षणिक कुरा हुन् । दूरदर्शी स्रष्टा त्यस्ता कर्ममा अमूल्य समय लगाउँदैनन् । 

तपाईंको साहित्यिक योगदानको महत्त्व केमा खोज्ने ?
एक व्यक्तिले त्यस्तो ठूलो प्रभाव पार्न सक्दैन । फेरि साहित्य भनेको राजनीति गर्नेले जस्तो असत्यको सहाराले उक्लिने मार्ग पनि होइन । साहित्य त देश–विदेशका परिस्थितिको अन्तरक्रियाबाट उत्पन्न हुने कला–चेतमात्र हो । त्यो बुझ्ने र ग्रहण गर्ने वर्ग पनि सीमित छ । साहित्यको फल तुरुन्त लाग्दैन बस काम गर्ने प्रतिक्षा गर्ने । विगत २५ वर्षमा मैले उत्तरआधुनिक विमर्शमा डायास्पोरा साहित्य, इको–लेखन, साइबर, विश्वका नवलेखन, विनिर्माण, जातीय लेखन, नारीवादजस्ता सात नयाँ विषयबारे परिचय गराएँ । नेपाली समालोचनाको वर्तमान गति तिनकै वरिपरि छ भन्दा हुन्छ । अर्को कुरा मेरो अध्ययन र चिन्तनको मूल विषय त अनुवाद हो । त्यस विषयमा विद्यावारिधि गर्ने म पहिलो नेपाली विद्यार्थी हुँ । त्यसलाई २५ वर्ष लगाएर संस्थागत गर्दैछौँ हामी । विश्वविद्यालयको पाठ्यक्रममा अनुवाद विधा पनि समावेश भएको छ । 

तपाईं विभिन्न विधामा छरिनुभएको छ प्राथमिकताचाहिँ के होला ?
प्रश्न गर्नुपर्दैन, त्यो हो सिर्जना । तर सिर्जनाले मात्र एउटा वाङ्मय निर्माण हुँदैन । समीक्षा, समालोचना र अनुवादजस्ता अनेक प्रकारका उपोत्पादन पनि साहित्य नै हुन् ।
 
साहित्य कसका लागि हुनुपर्दछ भन्ने ठान्नु हुन्छ ?
साहित्य सर्वप्रथम आफ्नै लागि हो । साहित्य जनताको लागि भन्ने नारा धेरै बिक्छ र एउटा राजनीतिले आदेश गर्छ, त्यसलाई पुरस्कृत गर्छ । त्यस्तो प्रकारको साहित्य भनेको शुष्क र हृदयहीन हुन्छ । त्यो तयार पारेको सिद्धान्त खाकामा फाराम भर्नेमात्र हो । साहित्य ता कल्पना र चिन्तनले बन्छ । त्यस्तो निर्देशित लेखनमा अन्तरहृदय खुल्दैन । सिर्जना भनेको नित्य हृदयको आवाज हो, त्यो अनिर्देशित र स्वस्फूर्त हुन्छ । राजनीतिको घोडा चढ्नेहरूले साहित्यलाई पनि घोडै ठान्छन् र चढिरहेछन् तर त्यो क्षणिक हुन्छ र नाशवान् हुन्छ । पञ्चायतकालभरि लेखिएका स्तुति प्रशंसाका ठेली थिए; ती आज कहाँ पुगे ? वाल्मीकि, व्यास, कालीदास, होमर, दाँतेदेखि महान् शक्तिहरूको सम्झना गर्दछौँ रातोदिन शेक्सपियर, वर्डस्वर्थ, रुमी, ओमर खैयाम, टयागोर, टाल्सटाय, महाकवि १० जना संसारका सर्वश्रेष्ठ साहित्यकारको नाम रोजौं तिनीहरूले जनताको लागि लेखे कि आफ्नै अन्तरहृदयको आवाजलाई सुनेर कलाको तपस्यामा जोडे ?

यति विचार गर्दा पुग्छ । त्यो भाषामा गरिने कला–खेल हो; जनताको कर्म त स्वतः भइहाल्छ । लेखक पनि जनताकै प्रतिनिधि आवाज हो ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update