काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुर सिंह लामाले यथास्थितीबाटै कांग्रेस अघि बढे आसन्न हुने निर्वाचनमा कसैले टिकट लिन तयार नहुने दाबी गरेका छन् ।
जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले चुनावको घोषणा भएको अवस्थामा परिस्थितीलाई कांग्रेसले क्यास गर्नुपर्ने बताए ।
‘यथास्थितीमा जाने हो भने चुनावमा कसैले टिकट लिदैन । गाउँ ठाउँमा पुग्नुहोस्‚ पुरानै ढंगबाट जाने हो भने वास्तविकता तलको के हो बुझ्नुहोस्‚’ उनले भने । बैठकमा उनले कार्यतालिका नआउँदै नियमित कि विशेष महाधिवेशन भनेर गफ गर्न जरूरी नरहेको पनि बताए ।
‘मंसिरभित्र महाधिवेशन गर्ने गरी तालिका निकालौ अनि म्याद थप गर्ने नगर्ने भन्ने कुरा हुन्छ त। अहिले देखि विशेष महाधिवेशन गर्छु भनेर हुन्छ र ? क्रियाशील सदस्यता नविकरण र वितरणको काम किन गराउन नसकेको ? ‚’ उनले भने ।
साथै उनले पार्टी मिलाउँछु र मिलेर जानुपर्छ भन्ने तर कसैले केही त्याग गर्न किन नसक्ने भन्दै थपे‚‘सबैले त्याग गर्न तयार भएमात्र मिल्छ । मिल्ने बाटोमा लागौँ । यतीभएमात्र नेपाली कांग्रेस रहन्छ ।’
महाधिवेशन नगरे कांग्रेस पार्टी संकटमा पर्ने भन्दै नियमित वा विशेष जे महाधिवेशन गरे पनि हुने भन्दै महाधिवेशन चाँडो भन्दा चाडो गर्न पनि अनुरोध गरे ।

