Harsamaya
जनताको भरोसा माओवादीमाथि : प्रचण्ड
संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

गोरखा - नेकपा (माओवादी केन्द्र) द्वारा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम आज गोरखा सदरमुकाममा सम्पन्न भएको छ । कार्यक्रममा पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुख्य वक्ता र संयोजकका रूपमा सहभागी भएका थिए ।

कार्यक्रममा संयोजक प्रचण्डले देशको वर्तमान राजनीतिक अवस्था, जेन–जी आन्दोलनका मुद्दा तथा पार्टीको आगामी कार्यदिशाबारे आफ्ना विचार प्रस्तुत गरे । उनले जेनजी पुस्ताले उठाएका विषयहरू माओवादी आन्दोलनकै निरन्तरता भएको बताउँदै ती मुद्दा पूरा गर्न पार्टी प्रतिबद्ध रहेको स्पष्ट गरे ।

‘जेन–जी आन्दोलनले उठाएका मुद्दा हामीले बिगत संविधानसभा चुनावदेखि नै उठाउँदै आएका हौँ। अब ती मुद्दा पूरा गर्न हाम्रो पहल र जोड हुनेछ,’ उनले भने। अन्तरिम सरकारबारे टिप्पणी गर्दै प्रचण्डले हालको सरकारलाई समर्थन जनाउने निर्णय संविधानसम्मत प्रक्रियामार्फत भएको उल्लेख गरे ।

‘केपी ओलीको सिफारिसमा राष्ट्रपतिले बनाएको अन्तरिम सरकारप्रति हामीले समर्थन जनाएका थियौँ, तर हाम्रो मत संसदबाट अनुमोदन गरेर र संविधान संशोधन गरेर मात्र संसद विघटन गरौँ भन्ने थियो,’उनले भने ।

चुनाव नजिकिँदै गएपछि प्रचण्डले सबै राजनीतिक दललाई निर्वाचन तयारीमा जुट्न आग्रह गरे । ‘अब चुनाव घोषणा भइसकेको अवस्थामा चुनाव सफल पार्नु नै हाम्रो पहिलो कार्यभार हो । सरकारलाई निष्पक्ष निर्वाचनको वातावरण बनाउन आग्रह गर्दछु । चुनाव हुनेछ कि हुँदैन भन्ने होइन, अब चुनावमा लाग्नु बाहेक कुनै विकल्प छैन,’उनले भने ।

देशभर माओवादी केन्द्रप्रतिको जनविश्वास बढ्दै गएको दाबी गर्दै प्रचण्डले पार्टीको संगठन विस्तार तीव्र गतिमा अघि बढिरहेको जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update