सिन्धुपाल्चोक - नेपाली कांग्रेस सिन्धुपाल्चोकले भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्षलाई एकताबद्ध भएर जुट्न अपिल गरेको छ।
नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति जंग बहादुर लामाले बुधबार जारी गरेको विज्ञप्तिमा भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका दर्जनौँ बजार क्षेत्र, सडक, पुल, भन्सार कार्यालय, प्रहरी कार्यालय, विद्यालय तथा सयौँ घरमा क्षति पुगेको उल्लेख गरिएको छ।
बाढीका कारण व्यापार व्यवसायमा संलग्न व्यापारी, भन्सार मजदुर, सवारी मजदुरलगायत हजारौँ नागरिक बेपत्ता भएको तथा सुरक्षा निकायका पोसाक र त्यहाँ कार्यरत सुरक्षाकर्मीसमेत बेपत्ता भएकोप्रति कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण आउन बाँकी रहेको भन्दै कांग्रेसले विपद्को यस घडीमा सबै पक्ष संवेदनशील बन्नुपर्ने जनाएको छ।
विज्ञप्तिमार्फत राष्ट्रिय विपद्को यस कठिन परिस्थितिमा सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, पेशाकर्मी तथा सञ्चार जगत् एकताबद्ध भएर बेपत्ता नागरिकको खोजी, उद्धार, राहत र पुनःस्थापनामा लाग्न नेपाली कांग्रेस सिन्धुपाल्चोकले हार्दिक अपिल गरेको छ।
कांग्रेसले विपद् प्रभावित नागरिकलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउँदै बेपत्ताको खोजी कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएको छ।


