पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारको निर्णयप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् ।शनिबार जारी गरिएको प्रेस विज्ञप्तिमा पूर्वराष्ट्रपति भण्डारीले सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकारले गठन गरेको ‘भाद्र २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग २०८२’ को प्रतिवेदन कार्यान्वयन गर्ने वर्तमान सरकारको निर्णयप्रति ध्यानाकर्षण भएको जनाएकी हुन् । उक्त आयोगको प्रतिवेदन पूर्ण नभएको विभिन्न अध्ययनहरूले देखाएको उल्लेख गर्दै सरकार गठन भएको पहिलो दिनमै प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय लिनु हतारपूर्ण भएको बताएकी छन् ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री लेखक पक्राउ : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई शनिबार भक्तपुरको गुण्डुबाट पक्राउ गरिएको हो। प्रहरीले उनीमाथि जरुरी पक्राउ पुर्जी जारी गरी नियन्त्रणमा लिएको जनाएको छ। शुक्रबार नयाँ सरकार गठन भएसँगै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीको सहयोगमा नेपाल प्रहरीको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेबाट नियन्त्रणमा लिएको हो । उनलाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । शुक्रबार बालेन्द्र शाहको मन्त्रिपरिषद् बैठकले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो : गृहमन्त्री सुदन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिइएको घटनालाई न्यायको सुरुवात भएको बताएका छन्। शनिबार सामाजिक सञ्जालमा लेख्दै गृहमन्त्री गुरुङले कानुनभन्दा माथि कोही हुँदैन भन्दै उक्त कारबाही कसैप्रति प्रतिशोध नभई कानुनी प्रक्रिया अनुसार अघि बढाइएको स्पष्ट पारेका छन्।
ओली त्रिवि अस्पतालमा भर्ना: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अस्पतालमा भर्ना भएका छन् । अध्यक्ष ओलीलाई त्रिभुवन विश्वविद्यालय शिक्षणको ‘एनेक्स वान’ को ५०१ नम्बर बेडमा भर्ना गरिएको हो । शनिबार बिहान पक्राउ परेका ओलीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो । शुक्रबार बालेन शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद्ले ओलीलाई फौजदारी मुद्दा चलाउने आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
देशभर ‘हाई अलर्ट’: पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस रमेश लेखकलाई पक्राउ गरेपश्चात् देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। देशभर सुरक्षा चुनौती बढेको भन्दै उच्च सुरक्षा सतर्कता अपनाइएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयले देशभर सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’ गराएका हुन् । प्रहरी जवानदेखि एसपीसम्मका प्रहरीलाई केन्द्र र जिल्लाहरुमा स्ट्यान्डबाई बस्न प्रहरी प्रधान कार्यालयले सर्कुलर जारी गरेको छ ।
सरकारका १०० कार्यसूची सार्वजनिक: सरकारले शासकीय सुधारसम्बन्धी १०० कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेअनुसार उक्त कार्ययोजना शनिबार सार्वजनिक गरिएको हो। कार्यसूचीमा सरकारले प्रशासनिक खर्च कटौती र कार्यकुशलताका लागि संघीय मन्त्रालयको संख्या घटाएर १७ कायम गर्ने निर्णय गरेको छ। यसका साथै निजामती कर्मचारी, शिक्षक र प्राध्यापकहरूले कुनै पनि राजनीतिक दलको सदस्य वा स्वार्थ समूहसँग आबद्ध हुन नपाउने र सार्वजनिक प्रशासनमा रहेका दलीय ट्रेड युनियनहरू खारेज गर्ने घोषणा गरिएको छ।
एक करोड बढीको क्षति: पछिल्लो २४ घन्टामा मुलुकका २८ जिल्लामा ३८ विपद्का घटना भएका छन् । उक्त घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएको राष्ट्रिय विपद् न्युनीकरण प्राधिकरणले जनाएको छ । विपद्का कारण १ करोड १४ लाख ७२ हजार रुपैयाँको क्षति भएको प्राधिकरणले जनाएको छ । आगलागीका १५ घटनामा २ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । आगलागीबाट १३ जिल्ला प्रभावित छन् ।
इनिशाको डमी लास बोकेर प्रदर्शन: इनिशाको हत्या गरिएको र दोषिलाई कार्वाहीमा ढिला भएको भन्दै शनिबार वीरेन्द्रनगरमा अधिकारकर्मी र अभियन्ताहरुले इनिशाको लासकाे डमी बोकेर प्रदर्शन गरेका छन् । महिला अधिकारकर्मी तथा सामाजिक अभियन्ता सावित्री सुवेदी र रञ्जना कामीसहितको उपस्थितिमा वीरेन्द्रनगरमा प्रदर्शन गरेका हुन् । उनीहरुले हातमा नेपालको संविधान समातेर आखामा कालोपट्टी बाँधेर इनिशाको न्यायको माग गरेका हुन् । इनिशाको लासको डमी बनाएर उनीहरुले प्रदर्शन गरेका थिए ।

