काठमाडौं - पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई शनिबार भक्तपुरको गुण्डुबाट पक्राउ गरिएको हो। प्रहरीले उनीमाथि जरुरी पक्राउ पुर्जी जारी गरी नियन्त्रणमा लिएको जनाएको छ।
शुक्रबार नयाँ सरकार गठन भएसँगै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो।
जेनजी प्रदर्शनबारे अनुसन्धान गर्न गठित उक्त आयोगले ओलीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको थियो। चैत २४ मा बुझाइएको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्ले पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध फौजदारी कारबाहीको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको हो।
भदौ २३ र २४ गते काठमाडौँको बानेश्वर क्षेत्रमा भएको जेनजी प्रदर्शनका क्रममा किशोरहरूमाथि गोली प्रहार भएको घटनामा आयोगले उनीहरूलाई जिम्मेवार ठहर गरेको छ।
उक्त प्रदर्शनका क्रममा ७६ जनाको ज्यान गएको थियो, जसलाई हालसम्मकै गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामध्ये एकका रूपमा हेरिएको छ।

