काठमाडौं - पछिल्लो २४ घन्टामा मुलुकका २८ जिल्लामा ३८ विपद्का घटना भएका छन् । उक्त घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएको राष्ट्रिय विपद् न्युनीकरण प्राधिकरणले जनाएको छ ।
विपद्का कारण १ करोड १४ लाख ७२ हजार रुपैयाँको क्षति भएको प्राधिकरणले जनाएको छ । आगलागीका १५ घटनामा २ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । आगलागीबाट १३ जिल्ला प्रभावित छन् । त्यस्तै, सर्पदंशका २ घटनामा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
आगलागी नियन्त्रण र उद्धारका लागि ६३ जना प्रहरी परिचालन गरिएको प्राधिकरणले जनाएको छ । पछिल्लो २४ घण्टामा बाढीका ५, पहिरोका ४, चट्याङका ५, र हावाहुरीका ३ वटा घटनाहरू भएका छन् । चट्याङका कारण ९ जना घाइते भएका छन् भने हावाहुरीबाट १ जना घाइते भएका छन् ।
बाढी प्रभावित क्षेत्रबाट ११ जनाको सफल उद्धार गरिएको प्राधिकरणले जनाएको छ । यसैगरी, वन डढेलोका २, अविरल वर्षाको १ र जनावर आक्रमणको १ घटना दर्ता भएका छन् ।

