नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक भोलि बिहानसम्मका लागि स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक भोलि बिहान ८ बजेसम्मका लागि स्थगित भएको हो । यता विशेष महाधिवेशन पक्षधर नेताहरू भने अहिले धमाधम मनोनयन दर्ता गरिरहेका छन् ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
सद्भावना र जनअधिकार पार्टीसँग प्रभु साहको आजपाद्धारा पार्टी एकीकरणको घोषणा : आम जनता पार्टी (आजपा)ले मङ्गलवार एकै दिन दुई पार्टीसँग एकीकरण गरेको छ । रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टी (नेसपा) र ईमदाद गद्दी नेतृत्वको जन अधिकार पार्टी नेपालसँग पार्टी एकता गर्दै अन्य विभिन्न पार्टीका सयौँ नेतालाई आजपाले पार्टी प्रवेश गराएको छ ।
धनुषाको महेन्द्रनगरमा आजपाले धनुषा क्षेत्र नं. ४ को विशेष क्षेत्रीय भेला गरेको थियो । ‘भ्रष्टाचारीलाई खबरदारी तथा लघुवित्त पीडितलाई न्याय दिलाउने’ सङ्कल्प धनुषाको महेन्द्रनगर आयोजित क्षेत्रीय भेला सम्पन्न गर्दै आजपाले महतो नेतृत्वको नेपाल सद्भावना पार्टीसँग पार्टी एकीकरणको घोषणा गरिएको छ । सोही भेलामार्फत धनुषा मिथिला नगरपालिका निवासी राम जीवन महतोले पनि आजपामा प्रवेश गरेका छन् ।
हाम्रो पार्टी नेपाल रास्वपामा समाहित : खगेन्द्र सुनार नेतृत्वकाे हाम्रो पार्टी नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मा समाहित भएको छ । मङ्गलवार पाँच बुँदे सम्झौता गर्दै हाम्राे पार्टी नेपाल रवि लामिछाने नेतृत्वको रास्वपामा समाहित भएको हो । रास्वपा सभापति रवि लामिछाने , महामन्त्री कवीन्द्र बुर्लाकोटी र हाम्रो पार्टीका सभापति खगेन्द्र सुनार, पदाधिकारी, सदस्य लगायतको उपस्थितिमा सम्झौता गरिएको हो ।
विशेष महाधिवेशन पक्षधरको पहिलो सर्त: सभापति देउवालाई आउने निर्वाचनमा प्रतिष्पर्धा गर्न नदिने : नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले सभापति शेरबहादुर देउवाले आउने निर्वाचनमा प्रतिष्पर्धा गर्न नहुने बताएका छन् ।
मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिँदै सभापति देउवालाई फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा चुनाव लड्न नदिने आफूहरूको बटमलाइन भएको जानकारी दिए ।
मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा डा. सुनिल रञ्जन सिंह नियुक्त : मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा डा सुनिल रञ्जन सिंह नियुक्त भएका छन् । प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिसमा मङ्गलवार डा. सिंहलाई मधेश प्रदेशको मुख्य न्यायाधिवक्ताको पदमा नियुक्त गरेका छन् ।
नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम आजदेखि लागू हुने गरी सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका–१४ निवासी डा. सिंहलाई मुख्य न्यायाधिवक्ताको जिम्मेवारी दिइएको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख रहेको छ ।
यारी भन्सार कार्यालय तीन महिनाका लागि बन्द : हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द गरिएको छ । अत्यधिक जाडोका कारण हिल्सामा रहेको चीनको ताक्लाकोटबाट व्यापारी र अन्य सामग्रीको आयात रोकिएर कारोबार नभएपछि तीन महिनाका लागि भन्सार कार्यालय बन्द गरिएको हो ।
यही पुसबाटै चीनको ताक्लाकोटबाट व्यापारी र सामानहरु आयात हुन छोडेपछि पुसको दोस्रो हप्ताबाट यारी नाका भन्सार कार्यालय बन्द गरेर कर्मचारी सदरमुकाम सिमकोटको सम्पर्क कार्यालयमा आइपुगेका कार्यालयका प्रमुख रामराज जैसीले बताए ।
इरानमा प्रदर्शनका क्रममा कम्तीमा ६४६ जनाको मृत्यु, जनजीवन सामान्य बन्दै : इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका कारण केही समय बन्द रहेको सञ्चार सेवा आंशिक रूपमा खुल्न थालेपछि केही नागरिकले पहिलो पटक बाहिरी संसारसँग सम्पर्क गर्न सकेका छन् ।
उनीहरूले राजधानी तेहरानमा देखिएको सुरक्षा व्यवस्था र केही स्थानमा भएको क्षतिको अवस्था साझा गरेका छन् । पछिल्ला दिनहरूमा राज्यविरुद्धको प्रदर्शनका क्रममा कम्तीमा ६४६ जनाको मृत्यु भइसकेको बताइएको छ ।
तेहरानका बासिन्दाका अनुसार मोबाइल फोनमार्फत बाहिर कल गर्न सकिए पनि सन्देश सेवा अझै पूर्ण रूपमा सञ्चालनमा आएको छैन। इन्टरनेट पहुँच पनि सरकारी रूपमा स्वीकृत वेबसाइटसम्म सीमित रहेको बताइएको छ ।

