काठमाडौं - खगेन्द्र सुनार नेतृत्वकाे हाम्रो पार्टी नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मा समाहित भएको छ । मङ्गलवार पाँच बुँदे सम्झौता गर्दै हाम्राे पार्टी नेपाल रवि लामिछाने नेतृत्वको रास्वपामा समाहित भएको हो ।
रास्वपा सभापति रवि लामिछाने , महामन्त्री कवीन्द्र बुर्लाकोटी र हाम्रो पार्टीका सभापति खगेन्द्र सुनार, पदाधिकारी, सदस्य लगायतको उपस्थितिमा सम्झौता गरिएको हो ।
यस्तो छ पाँच बुँदे सम्झौता
नव युवाहरू (जेनजी) ले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको मर्मलाई आत्मसाथ गर्दै घाइते तथा सहिद परिवारका मागहरु यथोचित सम्बोधन गर्न प्रतिबद्धता जनाउने ।
दलित तथा उपेक्षित उत्पीडित वर्गमाथि हुने जातीय विभेद, हिंसा तथा भेदभावका विरुद्ध पार्टीमा नीतिगत व्यवस्था गर्ने ।
संविधान प्रदत्त दलितहरूका हक अधिकार कार्यान्वयन गर्ने/गराउने ।
हाम्रो पार्टी नेपालको विभिन्न जिम्मेवारीमा रहनु भएका साथीहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा सम्मानजनक समाहित गर्ने ।
राष्ट्रिय मुद्दामा हातेमालो गर्दै देशको निकास र विकासमा ऐक्यबद्धता जनाउने ।

