जनकपुरधाम - आम जनता पार्टी (आजपा)ले मङ्गलवार एकै दिन दुई पार्टीसँग एकीकरण गरेको छ । रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टी (नेसपा) र ईमदाद गद्दी नेतृत्वको जन अधिकार पार्टी नेपालसँग पार्टी एकता गर्दै अन्य विभिन्न पार्टीका सयौँ नेतालाई आजपाले पार्टी प्रवेश गराएको छ ।
धनुषाको महेन्द्रनगरमा आजपाले धनुषा क्षेत्र नं. ४ को विशेष क्षेत्रीय भेला गरेको थियो । ‘भ्रष्टाचारीलाई खबरदारी तथा लघुवित्त पीडितलाई न्याय दिलाउने’ सङ्कल्प धनुषाको महेन्द्रनगर आयोजित क्षेत्रीय भेला सम्पन्न गर्दै आजपाले महतो नेतृत्वको नेपाल सद्भावना पार्टीसँग पार्टी एकीकरणको घोषणा गरिएको छ । सोही भेलामार्फत धनुषा मिथिला नगरपालिका निवासी राम जीवन महतोले पनि आजपामा प्रवेश गरेका छन् । महतो पर्यावरण सहिद स्वर्गीय दिलीप महतोका बुबा हुन् । सोही कार्यक्रमका बिच विभिन्न पार्टीमा आबद्ध सयौँ नेता, युवा, समाजसेवीहरूले समेत आजपामा प्रवेश गरेका छन् ।
धनुषाका विभिन्न पालिकाका निर्वाचित वडा अध्यक्षहरू समेत आजपामा प्रवेश गरेको आजपा प्रवक्ता चन्द्र भूषण साहले जनाएका छन् । नेसपासँग पार्टी एकता गर्नुभन्दा अघि मङ्गलवार बिहान वीरगन्जमा आजपाले ईमदाद गद्दी नेतृत्वको जन अधिकार पार्टी नेपालसँग पार्टी एकीकरण गरेको छ । पार्टी एकतासँगै नेपाल सद्भावना पार्टी र जन अधिकार पार्टीको सिङ्गो कमिटी आजपामा समाहित हुँदै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ‘मोबाइल’ चुनाव चिन्हबाट प्रतिस्पर्धामा उत्रिने सहमति भएको छ । आजपा अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले दुवै पार्टीसँग एकीकरण गर्दै पार्टीमा प्रवेश गर्नेहरू स्वागत गर्दै उज्ज्वल राजनीतिक भविष्यका लागि शुभकामना दिएका छन् ।
आजपामा पार्टी प्रवेश गर्ने एवं पार्टी एकीकरण गर्दै संयुक्त रुपमा अगाडी बढ्ने सहमतिले पार्टी थप बलियो बन्दै गइरहेको साहले जनाएका छन् । पार्टी एकतासँगै पार्टीमा प्रवेश गर्ने नव प्रवेशीलाई उचित जिम्मेवारी दिँदै मुलुक र जनताको हितमा सशक्त काम गर्दै अगाडी बढ्ने उनले बताए । यसअघि आजपाले जनादेश पार्टी, लघुवित्त पीडित सङ्घर्ष समिति, सहकारी पीडितका लागि सङ्घर्ष गर्दै आएको समिति लगायतसँग चुनावी सहमति एवं गठबन्धन गरेको छ । पछिल्लो समय विभिन्न पार्टीले आजपासँग पार्टी एकताका साथै विभिन्न पार्टीका नेता, समाजसेवी, युवा, विद्यार्थी लगायत व्यक्तिहरू प्रवेश गर्ने लहर चलेको छ ।

