प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा एमाले सिन्धुपाल्चोकका नेता तथा कार्यकर्तामाथि योजनाबद्ध र निर्मम आक्रमण भएको छ। उम्मेदवार छनोटसम्बन्धी बैठकमा सहभागी हुन जाने क्रममा एमाले जिल्ला कमिटी सदस्य रमेश लामामाथि कोठे भन्ने स्थान नजिकै एकान्त ठाउँमा पार्टी अराजक समूहले धारिलो हतियार तथा फलामे रड प्रयोग गरी ज्यानै लिने उद्देश्यले आक्रमण गरेको एमालेको आरोप छ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
झापा–५ बाट एमाले अध्यक्ष ओलीको नाम सिफारिस : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ५ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको एकल नाम सिफारिस भएको छ ।
पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीले पार्टीको आज सम्पन्न क्षेत्रीय कमिटीको बैठकले अध्यक्ष ओलीको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको जानकारी दिए ।
उनी सोही क्षेत्रबाट विसं २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ को संसदीय चुनावमा निर्वाचित भएका थिए । तर, विसं २०६० मा सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा पराजित भएका थिए ।
गुल्मी- १ मा एमालेबाट प्रदीप ज्ञवाली एकल सिफारिस :
नेकपा एमाले गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ मा प्रदीप ज्ञवालीको एकल नाम सिफारिस भएको छ । यस्तै २ नम्बर क्षेत्रमा केन्द्रीय उपाध्यक्ष गोकर्ण विष्ट, रामकुमारी झाँक्री, राजेन्द्र अर्यालसहित ६ जनाको नाम प्रस्ताव गरिएको छ ।
एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछाका अनुसार १ नम्बर क्षेत्रमा नेता ज्ञवालीको एकल नाम क्षेत्रबाट आएको तर २ नम्बरबाट ६ जनाको नाम छलफलमा रहे पनि टुंगो लागेको छैन ।
एमाले १ नम्बर क्षेत्रबाट नौ जनाको उम्मेदवारी सिफारिस :
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ ले नौ जनाको उम्मेदवारी सिफारिस गरिएको छ।
सिफारिस सूचीमा अरुण नेपाल, सरेश नेपाल, होम नारायण श्रेष्ठ, कमल नेपाल, हेमगङ्गा मोक्तान, बादल तामाङ, युद्ध विक्रम तामाङ, आङदोर्जे शेर्पा र सुशिला पाख्रिन रहेका छन्।
सिफारिस गरिएका नेताहरूमध्ये अरुण नेपाल र सरेश नेपाल यसअघि बागमती प्रदेशसभा सदस्य तथा मन्त्री भइसकेका अनुभवी नेता हुन्। अरुण नेपाल एमालेको १३औँ राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदका प्रत्यासीसमेत बनेका थिए। उनी उपाध्यक्ष पदमा ईश्वर पोखरेल समूहबाट उम्मेदवार बनेका थिए।
सिन्धुपाल्चोक क्षेत्र नं. २ मा एमालेका शेरबहादुर तामाङसहित एक दर्जन नेताको उम्मेदवारी दर्ता : नेकपा एमाले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा आगामी निर्वाचनका लागि ११ जनाले उम्मेदवारी दर्ता गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि शनिबार मेलम्चीमा भएको २ नम्बर क्षेत्रको उम्मेदवार छनोटमा ११ जनाको उम्मेदवारी दर्ता भएको हो ।
उम्मेदवारी दर्ता गराउनेमा शेरबहादुर तामाङ, उपेन्द्र तामाङ, शुभाष कर्माचार्य, अशोक चौलागाईं, हस्त पण्डित, गम्भीरलाल श्रेष्ठ,बालकुमारी सापकोटा, दिलीप बस्नेत, मित्रलाल चौलागाईं, डोल्मा तामाङ र शिशिर बाइवा रहेका छन् ।
उम्मेदवारी दर्ता गर्नेहरूमध्ये नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शेरबहादुर तामाङ प्रमुख दाबेदारका रूपमा देखिएका छन्। उनी पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन्। तामाङकी पत्नी उषाकला राईलाई एमालेले समानुपातिक तर्फसमेत समेटेको छ।
तोकिएकै मितिमा निष्पक्ष र धाँधलीरहित निर्वाचन हुन्छ : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तोकिएकै मितिमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउने प्रतिबद्धता जनाएका छन् ।
शनिबार ललितपुरको पाटनमा आयोजित निर्वाचन २०८२ लक्षित गल्ली एप उद्घाटन कार्यक्रममा बोल्दै उनले अब युवा पुस्ता राजनीतिमा अगाडि आएको बताउँदै मुलुक परिवर्तनको बाटोमा अघि बढिरहेको बताए ।
उनले भने,‘देशमा चुनाव फागुन २१ मा हुँदै छ । यो चुनावमा यहाँहरू सबैलाई म आग्रह गर्न चाहन्छु । कृपया यस पटक हामीले गल्ती नगरौँ । राम्रो नेता र राम्रो नेतृत्व हामीले ल्याउन जरुरी छ ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो श्रीमतीसहित पक्राउ : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकाले भेनेजुएलाकोविरूद्ध ठूलो आक्रमण गरेको उल्लेख गर्दै वर्तमान राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरी देश निकाला गरिएको बताएका छन् ।
संयुक्त राज्य अमेरिकाले भेनेजुएला र राष्ट्रपति निकोलस मादुरो विरुद्ध सफलतापूर्वक आक्रमण गरी पत्नीसहित पक्राउ गरी देश बाहिर निकालिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल मार्फत जनाएका हुन् ।
मादुरोको पक्राउ ट्रम्पद्वारा पुष्टि गरिए अनुसार, संयुक्त राज्य अमेरिका र भेनेजुएला बिच तीव्र तनावको बीचमा आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपतिलाई बारम्बार नार्को–आतंकवादी सरकारको अध्यक्षता गरेको आरोप लगाएको जनाइएको छ ।
क्यानको वार्षिक खेल तालिका सार्वजनिक : नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता समेटिएको वार्षिक खेल तालिका सार्वजनिक गरेको छ । क्यानद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता समेटिएको वार्षिक क्यालेन्डर सार्वजनिक गरेका हुन् ।
क्यालेन्डरको राष्ट्रिय प्रतियोगिता जनवरीमा पुरुष प्रधानमन्त्री कपबाट हुनेछ । जसअन्तर्गत जनवरी ५ देखि २५ तारिखसम्म जिल्ला चरण र जनवरी २५ देखि फेब्रुअरी १० सम्म प्रदेश चरणका खेलहरू आयोजना गरिनेछन् । त्यस्तै, फेब्रुअरीमा पुरुष प्रधानमन्त्री कप प्रदेश चरण निरन्तरता पाउनेछ भने फेब्रुअरी १२ देखि २२ सम्म जय ट्रफी आयोजना हुनेछ । यही महिनामा राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपको जिल्ला चरण पनि सञ्चालन हुनेछ ।

