Harsamaya
भेनेजुएलाका राष्ट्रपति  निकोलस मादुरो श्रीमतीसहित पक्राउ : राष्ट्रपति ट्रम्प
राष्ट्रपति निकोलस मादुरो ।

एजेन्सी - संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकाले भेनेजुएलाकोविरूद्ध ठूलो आक्रमण गरेको उल्लेख गर्दै वर्तमान राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरी देश निकाला गरिएको बताएका छन् ।  

संयुक्त राज्य अमेरिकाले भेनेजुएला र राष्ट्रपति निकोलस मादुरो विरुद्ध सफलतापूर्वक आक्रमण गरी पत्नीसहित पक्राउ गरी देश बाहिर निकालिएको  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  सामाजिक सञ्जाल मार्फत जनाएका हुन् ।  

मादुरोको पक्राउ ट्रम्पद्वारा पुष्टि गरिए अनुसार, संयुक्त राज्य अमेरिका र भेनेजुएला बिच तीव्र तनावको बीचमा आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपतिलाई बारम्बार नार्को–आतंकवादी सरकारको अध्यक्षता गरेको आरोप लगाएको जनाइएको छ ।  

अमेरिकाले भेनेजुएलाको तेल ओसारपसारमा संलग्न रहेको दाबी गर्ने जहाजहरूमा पनि प्रतिबन्ध लगाएको थियो । सोही समयमा, अमेरिकी सेनाले लागुऔषध तस्करीमा संलग्न भएको आरोप लगाउँदै यस क्षेत्रमा भेनेजुएलाका डुङ्गाहरू विरुद्ध कारबाही बढाएको छ । भेनेजुएलाले अमेरिकाविरुद्ध काम गरेको आरोप लगाउँदै ट्रम्पले मादुरोलाई पदबाट हट्न आव्हान गरेको जनाइएको छ ।

यसैबीच, भेनेजुएला सरकारले शनिबार विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्र संघको बडापत्र उल्लङ्घन गरेको र क्षेत्रीय शान्ति र स्थिरतालाई खतरा पुर्याएको आरोप लगाउँदै भेनेजुएलाको भूभागविरुद्ध अमेरिकाले गरेको सैन्य आक्रमणको  निन्दा गरेको छ ।

प्रकाशित मिति: शनिबार, पुस १९, २०८२  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update