सिन्धुपाल्चोक - नेकपा एमाले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा आगामी निर्वाचनका लागि ११ जनाले उम्मेदवारी दर्ता गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि शनिबार मेलम्चीमा भएको २ नम्बर क्षेत्रको उम्मेदवार छनोटमा ११ जनाको उम्मेदवारी दर्ता भएको हो ।
उम्मेदवारी दर्ता गराउनेमा शेरबहादुर तामाङ, उपेन्द्र तामाङ, शुभाष कर्माचार्य, अशोक चौलागाईं, हस्त पण्डित, गम्भीरलाल श्रेष्ठ,बालकुमारी सापकोटा, दिलीप बस्नेत, मित्रलाल चौलागाईं, डोल्मा तामाङ र शिशिर बाइवा रहेका छन् ।
उम्मेदवारी दर्ता गर्नेहरूमध्ये नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शेरबहादुर तामाङ प्रमुख दाबेदारका रूपमा देखिएका छन्। उनी पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन्। तामाङकी पत्नी उषाकला राईलाई एमालेले समानुपातिक तर्फसमेत समेटेको छ।
तामाङ क्षेत्र नं. २ बाट पटक–पटक संसदीय निर्वाचनमा होमिँदै आएका नेता हुन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी नेपाली कांग्रेसका नेता मोहन बस्नेतसँग पराजित भएका थिए। उनले यस क्षेत्रबाट २ पटक जितेका छन् भने २ पटक पराजित भएका छन् ।
यसैगरी, एमाले मेलम्ची नगर कमिटीका अध्यक्ष उपेन्द्र तामाङ, केन्द्रीय सदस्य एवम् पूर्व सभासद शुभाष कर्माचार्य पनि उम्मेदवारको सूचीमा परेका छन्।
यस्तै अशोक चौलागाईंले पनि उम्मेदवारी दर्ता गरेका छन् । उनी एमाले बागमती प्रदेश कमिटीका सदस्य हुन् भने मेलम्चीमा सम्पन्न महाधिवेशन प्रतिनिधि निर्वाचनमा पराजित भएका थिए। यस्तै हस्त पण्डितले पनि उम्मेदवारी दाबी गरेका छन् । उनी केन्द्रीय सदस्य एवम् पूर्व जिल्ला अध्यक्ष, महाधिवेशन प्रतिनिधि तथा २०७९ सालको प्रदेशसभा निर्वाचनमा क्षेत्र नं. २ (प्रदेशसभा ‘ख’) बाट एमालेका तर्फबाट प्रदेशसभा सदस्यको प्रत्यासी रहिसकेका नेता हुन्।
त्यस्तै, गम्भीरलाल श्रेष्ठ पूर्व केन्द्रीय सदस्य हुन् भने बालकुमारी सापकोटा पूर्व जिल्ला समन्वय समितिकी उपप्रमुख एवम् महाधिवेशन प्रतिनिधि हुन्। यस्तै, दिलीप बस्नेत चौतारा साँगाचोकगढी नगर कमिटीका सचिव हुन्। मित्रलाल चौलागाईं महाधिवेशन प्रतिनिधि हुन् भने डोल्मा तामाङ केन्द्रीय सदस्य हुन्। साथै, शिशिर बाइवा पाँचपोखरी थाङपाल गाउँपालिका कमिटीका अध्यक्ष हुन्।
कार्यक्रममा पार्टीका जिल्ला तथा क्षेत्रीय नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उम्मेदवार छनोट प्रक्रिया पार्टी विधानअनुसार अगाडि बढाइने जनाइएको छ।
क्षेत्र नं. २ मा ४९ वटा वडा छन् ।

