सिन्धुपाल्चोक - आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ ले नौ जनाको उम्मेदवारी सिफारिस गरिएको छ।
सिफारिस सूचीमा अरुण नेपाल, सरेश नेपाल, होम नारायण श्रेष्ठ, कमल नेपाल, हेमगङ्गा मोक्तान, बादल तामाङ, युद्ध विक्रम तामाङ, आङदोर्जे शेर्पा र सुशिला पाख्रिन रहेका छन्।
सिफारिस गरिएका नेताहरूमध्ये अरुण नेपाल र सरेश नेपाल यसअघि बागमती प्रदेशसभा सदस्य तथा मन्त्री भइसकेका अनुभवी नेता हुन्। अरुण नेपाल एमालेको १३औँ राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदका प्रत्यासीसमेत बनेका थिए। उनी उपाध्यक्ष पदमा ईश्वर पोखरेल समूहबाट उम्मेदवार बनेका थिए।
त्यस्तै, सिन्धुपाल्चोक एमालेका जिल्ला अध्यक्षसमेत रहेका होम नारायण श्रेष्ठले पनि उम्मेदवारीका लागि आफ्नो नाम सूचीकृत गराएका छन्। श्रेष्ठ जुगल गाउँपालिकाका पूर्वअध्यक्ष हुनुका साथै गाउँपालिका राष्ट्रिय महासंघका सल्लाहकार समेत हुन्।
कमल नेपाल लिसङ्खुपाखार गाउँपालिकाका पूर्व अध्यक्ष तथा एमाले सिन्धुपाल्चोकका पूर्व जिल्ला अध्यक्ष हुन्। हेमगङ्गा मोक्तान पनि लिसङ्खु गाउँपालिकाकी पूर्व उपाध्यक्ष हुन्।
त्यसैगरी, बादल तामाङ एमाले बागमती प्रदेश कमिटीका पूर्व सदस्य हुन् भने युद्ध विक्रम तामाङ २०७९ सालको प्रदेशसभा निर्वाचनमा प्रदेशसभा सदस्यका प्रत्यासी बनेका थिए।
आङदोर्जे शेर्पा एमालेका महाधिवेशन प्रतिनिधि हुन् भने सुशिला पाख्रिन बाह्रबिसे नगरपालिकाकी पूर्व उपप्रमुख हुन्।
सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ मा कुल ५४ वटा वडा रहेका छन्।

