सिन्धुपाल्चोक - प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा एमाले सिन्धुपाल्चोकका नेता तथा कार्यकर्तामाथि योजनाबद्ध र निर्मम आक्रमण भएको छ।
उम्मेदवार छनोटसम्बन्धी बैठकमा सहभागी हुन जाने क्रममा एमाले जिल्ला कमिटी सदस्य रमेश लामामाथि कोठे भन्ने स्थान नजिकै एकान्त ठाउँमा पार्टी अराजक समूहले धारिलो हतियार तथा फलामे रड प्रयोग गरी ज्यानै लिने उद्देश्यले आक्रमण गरेको एमालेको आरोप छ।
आक्रमणमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सदस्य श्याम लामासमेत गम्भीर घाइते भएका छन्। दुवैको अस्पतालमा उपचार भइरहेको छ।
नेकपा एमाले सिन्धुपाल्चोकले घटनालाई जघन्य, अमानवीय र लोकतन्त्र विरोधी अपराधको संज्ञा दिँदै दोषी पहिचान नगरी बस्ने हो भने त्यसको सम्पूर्ण जिम्मेवारी राज्य स्वयंले लिनुपर्ने चेतावनी दिएको छ।
पार्टीले जिल्लामा शान्ति–सुरक्षाको अवस्था कमजोर बन्दै गएको उल्लेख गर्दै निष्पक्ष र भयमुक्त निर्वाचन वातावरण तत्काल सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, चौताराको कडा ध्यानाकर्षण गराएको छ।

