Harsamaya
मंसिर १७ : दिनभरका घटनाक्रम एक नजरमा

मधेश प्रदेशमा नयाँ सरकार बनाउनका लागि दलहरूलाई आह्वान गरिएको छ । प्रदेश प्रमुख कार्यालयले आज मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा स्वीकृत गरेको जानकारी गराउँदै नयाँ सरकार निर्माण गर्नका लागि दलहरूलाई आह्वान गरेको छ ।

प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा २ बमोजिम अगामी शुक्रवार १९ गते साँझ ५ बजे भित्रमा सरकार गठनका लागि दाबी पेस गर्नका लागि दलहरूलाई आह्वान गरेको छ ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

‘बहुदलीय व्यवस्थाका पिल्लर, दलहरुको गतिविधिलाई नियन्त्रण गरेर चुनाव हुन सक्दैन’: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बहुदलीय व्यवस्थामा पिल्लर राजनीतिक दल भएको भन्दै दलहरुको गतिविधिलाई नियन्त्रण र नेतालाई अपमान गरेर चुनाव हुन नसक्ने धारणा राखेका छन् । 

बुधबार प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले चुनावी वातावरण बनाएपछि मात्रै निर्वाचन हुने बताउँदै चुनाव–चुनाव भनेर मात्रै केही नुहने बताएका हुन् । 

उनले भने, ‘चुनाव भन्ने भन्दापनि गर्ने कुरा हो । चुनाव गर्ने हो भने चुनाव हुने खालको तयारी गर्नुपर्छ । चुनावको लागि अनुकूल वातावरण नबनाइकन कसरी चुनाव हुन्छ ? त्यसको लागि वातावरण त बनाउनुपर्यो नि । चुनावको वातावरण बनाउँदा यो सच्चाईलाई याद गर्नुपर्यो कि हामी बहुदलीय व्यवस्थामा छौं यसका पिल्लर राजनीतिक पार्टी हुन् । पार्टीलाई किनारमा राखेर नेतालाई अपमान गरेर, कर्नर पारेर, स्थानहद तोकेर र दलहरुलाई नियन्त्रण गरेर बहुदलीय व्यवस्थामा चुनाव हुन सक्दैन ।’ 

श्रीलंकाली प्रधानमन्त्रीसँग प्रधानमन्त्री कार्कीको टेलिफोन वार्ता : प्रधानमन्त्री सुशीला कार्की र श्रीलङ्काली समकक्षी डा हरिणी अमरसुरियाबीच आज टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा श्रीलंकाका प्रधानमन्त्री अमरसुरियाले नेपालबाट २ लाख अमेरिकी डलर बराबरको सहायता प्राप्त भएकोमा आभार व्यक्त गरिन् ।

नेपाल सरकारले श्रीलङ्कामा आएको बाढीमा परी फसेका जनताको उद्धार तथा राहतका लागि दुई लाख अमेरिकी डलर सहयोग प्रदान गरेपछि श्रीलङ्काली प्रधानमन्त्री अमरसुरियाले टेलिफोन गरेकी हुन् ।

नेपाल र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाका लागि ऋण सम्झौतामा हस्ताक्षर: नेपाल र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजना कार्यान्वयनका लागि ३४.५९ अर्व जापानी येन (करिब ३१.७६ अर्व नेपाली रुपैयाँ) बराबरको ऋण सम्झौतामा आज अर्थ मन्त्रालयमा हस्ताक्षर भएको छ । यो सम्झौतामा जापानको सहयोगबाट प्राप्त हुने ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ब्याज दर ०.२ प्रतिशत रहनेछ ।

सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ सचिव डा. घनश्याम उपाध्याय र जापानी राजदूत महामहिम मायदा तोरुले हस्ताक्षर गरेका छन् । साथै, अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सह–सचिव डा. धनीराम शर्मा र जाइकाका प्रमुख प्रतिनिधि श्री मित्सुजाकी माजुकीले पनि सम्झौतामा हस्ताक्षर गरेका छन् ।

पूर्वपश्चिम राजमार्ग विस्तारका लागि ११ हजार बढी रुख काटिने : पूर्वपश्चिम राजमार्ग विस्तारका लागि सर्लाही, महोत्तरी र धनुषा गरी तीन जिल्लामा करिब ११ हजार ५७७ रुख काटिने भएको छ । 

लामो समयदेखि रोकिएको रुख कटानसम्बन्धी अनुमति प्रक्रिया पूरा भएपछि अब बल्ल सडक विस्तारसँगै सडक छेउछाउका रुख हटाउने काम सुचारु हुन लागेको हो ।

कमला–ढल्केबर–पथलैया सडक योजना अन्तर्गत पर्ने यी जिल्लामध्ये सबैभन्दा धेरै रुख महोत्तरीमा काटिने छन्, त्यहाँ ६ हजार २७ वटा रुख काटिने छन् । सर्लाहीमा ३,६७४ र धनुषामा १,८७६ रुख काटिने छ । सबैभन्दा बढी साल प्रजातिका रुख पर्ने बताइएको छ ।

सर्लाही र धनुषामा रुख कटानको काम सुरु भइसकेको छ भने महोत्तरीमा केही प्राविधिक प्रक्रिया बाँकी रहेकाले त्यहाँ रुख काट्न केही दिन लाग्ने छ । 

विराटनगरविरुद्ध लुम्बिनी ५ विकेटले विजयी : एनपीएलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई पराजित गर्दै प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ । बुधबार भएको खेलमा विराटनगरले दिएको १४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

लुम्बिनीले ६ खेलमा तेस्रो जित निकालेको हो । ६ खेलबाट ६ अंक जोडेको लुम्बिनी चौथो स्थानमा उक्लेको छ । लुम्बिनीले अब लिगको अन्तिम खेल जनकपुर बोल्ट्ससँग शुक्रबार खेल्नेछ । उक्त खेल जित्दै अन्य खेलको नितजा आफू अनुकुल आएमा लुम्बिनी प्लेअफ पुग्नेछ । अर्कोतर्फ विराटनगरले भने ६ खेलमा दोस्रो हार व्यहोरेको छ । ६ खेलबाट ८ अंक रहेको विराटनगर तेस्रो स्थानमा छ । तर, विराटनगरले लिगमा आफ्नो अन्तिम खेल आगामी शनिवार प्लेअफ पुगिसकेको सुदूरपश्चिम रोयल्सँग खेल्नेछ ।


 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  २२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update