सर्लाही - पूर्वपश्चिम राजमार्ग विस्तारका लागि सर्लाही, महोत्तरी र धनुषा गरी तीन जिल्लामा करिब ११ हजार ५७७ रुख काटिने भएको छ ।
लामो समयदेखि रोकिएको रुख कटानसम्बन्धी अनुमति प्रक्रिया पूरा भएपछि अब बल्ल सडक विस्तारसँगै सडक छेउछाउका रुख हटाउने काम सुचारु हुन लागेको हो ।
कमला–ढल्केबर–पथलैया सडक योजना अन्तर्गत पर्ने यी जिल्लामध्ये सबैभन्दा धेरै रुख महोत्तरीमा काटिने छन्, त्यहाँ ६ हजार २७ वटा रुख काटिने छन् । सर्लाहीमा ३,६७४ र धनुषामा १,८७६ रुख काटिने छ । सबैभन्दा बढी साल प्रजातिका रुख पर्ने बताइएको छ ।
सर्लाही र धनुषामा रुख कटानको काम सुरु भइसकेको छ भने महोत्तरीमा केही प्राविधिक प्रक्रिया बाँकी रहेकाले त्यहाँ रुख काट्न केही दिन लाग्ने छ ।
अब आदेश प्राप्त भएपछि ठेकेदारमार्फत रुख हटाउने कार्य अघि बढाइएको छ । काटिएका रुख ठेकेदारले सुरक्षित रूपमा राखी सम्बन्धित डिभिजन वन कार्यालयमा बुझाउनेछ, र त्यसपछि वन कार्यालयले लिलामी प्रक्रिया अघि बढाउनेछ ।
रुख कटाउने अनुमति मिले पनि प्रमुख चुनौती भनेको बिजुलीका पोल हटाउने र खानेपानी पाइप स्थानान्तरण गर्ने कार्य भएको आयोजनाका प्रमुख राजेश कुमार दासले बताए । पोल र पाइप नहट्दा कतिपय स्थानमा रुख काट्ने र सडक विस्तार गर्ने काम अवरुद्ध भइरहेको छ ।
कमला पुलदेखि पथलैयासम्मको करिब १३० किलोमिटर सडक विस्तार तीव्र गतिमा भइरहेको छ । पूर्वी खण्ड (सर्लाही, महोत्तरी, धनुषा) र पश्चिमी खण्ड (रौतहट, बारा) छुट्टाछुट्टै कार्यालयमार्फत सञ्चालन हुँदैछ ।
दुई लेनको राजमार्गलाई बजार क्षेत्रमा छ लेनसहित ३१ मिटर र अन्य क्षेत्रमा चार लेनसहित १८ मिटर चौडाइमा विस्तार गर्ने लक्ष्य राखिएको छ । यस परियोजनाका लागि विश्व बैंकले १८ अर्ब ६० करोड रुपैयाँ ऋण सहयोग उपलब्ध गराएको छ ।

