काठमाडौं - प्रधानमन्त्री सुशीला कार्की र श्रीलङ्काली समकक्षी डा हरिणी अमरसुरियाबीच आज टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा श्रीलंकाका प्रधानमन्त्री अमरसुरियाले नेपालबाट २ लाख अमेरिकी डलर बराबरको सहायता प्राप्त भएकोमा आभार व्यक्त गरिन् ।
नेपाल सरकारले श्रीलङ्कामा आएको बाढीमा परी फसेका जनताको उद्धार तथा राहतका लागि दुई लाख अमेरिकी डलर सहयोग प्रदान गरेपछि श्रीलङ्काली प्रधानमन्त्री अमरसुरियाले टेलिफोन गरेकी हुन् ।
टेलिफोन वार्ताको क्रममा उनले भनिन्, ‘हामीकहाँ विपद् परेका बेला सहयोग पठाइदिनुभयो । यसका लागि धन्यवाद छ । आभारी छौँ ।’
जवाफमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘छिमेकी हुनुको नाताले एउटालाई समस्या पर्दा अर्काले साथ दिनुपर्छ । त्यो हाम्रो कर्तव्य र धर्म नै हो । यो कठिन घडीसँग जुध्नका निम्ति हामी तपाईँहरूसँगै छौँ ।’

