काठमाडौं - नेपाल र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजना कार्यान्वयनका लागि ३४.५९ अर्व जापानी येन (करिब ३१.७६ अर्व नेपाली रुपैयाँ) बराबरको ऋण सम्झौतामा आज अर्थ मन्त्रालयमा हस्ताक्षर भएको छ । यो सम्झौतामा जापानको सहयोगबाट प्राप्त हुने ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ब्याज दर ०.२ प्रतिशत रहनेछ ।
सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ सचिव डा. घनश्याम उपाध्याय र जापानी राजदूत महामहिम मायदा तोरुले हस्ताक्षर गरेका छन् । साथै, अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सह–सचिव डा. धनीराम शर्मा र जाइकाका प्रमुख प्रतिनिधि श्री मित्सुजाकी माजुकीले पनि सम्झौतामा हस्ताक्षर गरेका छन् ।
कोटेश्वर र जडीबुटी खण्डमा प्रस्तावित अन्डरपास र फ्लाइओभरको निर्माणले काठमाडौं, ललितपुर, भक्तपुर र बि.पि. राजमार्ग हुँदै चल्ने सवारी साधनहरूको आवागमनलाई सहज बनाउनेछ र ट्राफिक जाम न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । यस आयोजनाको कार्यान्वयन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागमार्फत गरिनेछ ।
समारोहको शुरुवात सह–सचिव डा. धनीराम शर्माको मन्तव्यबाट भएको थियो, जसपछि जाइकाका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकी, जापानी राजदूत मायदा तोरु र अर्थ मन्त्री रामेश्वर प्रसाद खनालले द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गरे ।
महामहिम जापानी राजदूतले नेपाल र जापानबीचको दशौं वर्ष पुरानो मित्रतापूर्ण सम्बन्धलाई स्मरण गर्दै, जापानको सहुलियतपूर्ण ऋण सहयोगले कोटेश्वर चोक सुधार आयोजना कार्यान्वयनमा महत्वपूर्ण भूमिका निभाउने विश्वास व्यक्त गरे । अर्थ मन्त्री खनालले पनि सम्बोधन गर्दै, यो परियोजना राजधानीको जामयुक्त स्थानलाई सुधार गरेर दीर्घकालीन परिवर्तन ल्याउने आशा व्यक्त गरे ।
कार्यक्रममा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, जापानी दूतावास र जाइकाका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो । यो आयोजना काठमाडौं उपत्यकाको यातायात व्यवस्थामा दीर्घकालीन सुधार ल्याउने अपेक्षासहित कार्यान्वयनमा आउनेछ ।

