काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बहुदलीय व्यवस्थामा पिल्लर राजनीतिक दल भएको भन्दै दलहरुको गतिविधिलाई नियन्त्रण र नेतालाई अपमान गरेर चुनाव हुन नसक्ने धारणा राखेका छन् ।
बुधबार प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले चुनावी वातावरण बनाएपछि मात्रै निर्वाचन हुने बताउँदै चुनाव–चुनाव भनेर मात्रै केही नुहने बताएका हुन् ।
उनले भने, ‘चुनाव भन्ने भन्दापनि गर्ने कुरा हो । चुनाव गर्ने हो भने चुनाव हुने खालको तयारी गर्नुपर्छ । चुनावको लागि अनुकूल वातावरण नबनाइकन कसरी चुनाव हुन्छ ? त्यसको लागि वातावरण त बनाउनुपर्यो नि । चुनावको वातावरण बनाउँदा यो सच्चाईलाई याद गर्नुपर्यो कि हामी बहुदलीय व्यवस्थामा छौं यसका पिल्लर राजनीतिक पार्टी हुन् । पार्टीलाई किनारमा राखेर नेतालाई अपमान गरेर, कर्नर पारेर, स्थानहद तोकेर र दलहरुलाई नियन्त्रण गरेर बहुदलीय व्यवस्थामा चुनाव हुन सक्दैन ।’
त्यस्तै, उनले सरकारले चुनावको वातावरणको लागि शान्ति सुरक्षाको प्रत्याभूति हुनेगरी तयारी गर्नुपर्नेमा जोड दिए ।
‘शान्ति सुरक्षाको प्रत्याभूति हुनुपर्यो । अपराधिहरु खुलेआम सडकमा हिडिराखेको छन्, उनीहरुलाई नियन्त्रणमा लिनुपर्यो । खोसिएका हतियारहरु राज्यको नियन्त्रणमा लिनुपर्यो । मतदाताहरुले आफ्नो मन पर्ने दललाई निर्धक्क भएर मतदान गर्ने वातावरण बन्नुपर्यो’ उनले भने,
उपाध्यक्ष विष्णु पौडेलले मधेशमा एमालेलाई कसैले एक्लाउन नसक्ने दाबी गरे । मधेशमा आज पनि सीट र मतको आधारमा एमाले पहिलो नम्बरको पार्टी नै भएको उनको दावी छ ।
राजनीतिक र मौलिक अधिकारको पक्षमा एमाले रहेको भन्दै उनले जबसम्म सामाजिक र सांस्कृतिक अधिकार सम्पन्न हुँदैन तबसम्म मौलिक अधिकारले मात्र अगाडि बढ्न नसकिने बताए ।

