गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले आगामी फागुन २१ गते जुनै पनि हालतमा निर्वाचन गराएर छोड्ने दाबी गरेका छन् । बिहीबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठकमा बोल्दै उनले निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा चुनाव गराउनु पर्ने दायित्व सरकारको रहेको बताउँदै त्यसैमा सरकार जुटेको बताएका हुन् ।
देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
प्रधानमन्त्रीलाई एमालेको जवाफ: प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा संस्थागत समर्थन र सहयोगका लागि नेकपा एमालेसँग आग्रह गरेकी छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा महासचिव शंकर पोखरेलसहितका एमाले नेताहरूसँगको छलफलमा कार्कीले चुनावमा सहयोगका लागि आग्रह गरेकी हुन् । एमाले नेताहरूले भने कार्की नेतृत्वको सरकारको संवैधानिक परीक्षण नै बाँकी रहेकाले पहिला त्यसको किनारा लाग्नुपर्ने बताएका थिए । एमाले नेताहरूले निष्पक्ष चुनाव हुने र मतदाताले निर्भयताका साथ मत दिने वातावरण बन्न नसकेको प्रधानमन्त्रीलाई सुनाएका थिए ।
संस्थापन समूहको छलफलः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार आफूनिकट नेताहरूलाई बोलाएर संवाद गरे । धुम्बाराहीस्थित निवासमा देउवाले सात भाइ समूह (प्रकाशमान सिंह, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजय गच्छदार, कृष्ण सिटौला, शशांक कोइराला र प्रकाशशरण महत)का अलावा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री भीष्मराज आङ्देम्बे, नेताहरू एनपी साउद, रमेश लेखकलगायतलाई डाकेका थिए । बैठकमा सहभागी नेताहरू भने महाधिवेशन गर्ने विषयमा विभाजित बन्न पुगेका छन् ।
धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा: पूर्वसभामुख कृष्णबहादुर महरा धरौटी बुझाएर रिहा भएका छन् । भेपमार्फत सुन तस्करीमा दोस्रोपटक पक्राउ परेका उनलाई उच्च अदालत पाटनले बिहीबार २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएका महरा ३० नम्बर फाँटमा तारिख लिएर छुटेका हुन् । उच्चका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले महारामाथिको आरोप र उनको उमेर समेत विचार गरी धरौटीमा छाड्ने आदेश दिएको थियो ।
निर्वाचनमा सेना परिचालन गर्ने खुल्यो आधार: राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय तथा प्रधानमन्त्रीको सिफारिसलाई स्वीकृति प्रदान गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा आज जारी विज्ञप्तिमा निर्वाचन सुरक्षालाई सुदृढ बनाउन सरकारले गरेको सिफारिसअनुसार राष्ट्रपति पौडेलले सेना परिचालनका लागि अनुमोदन गरेको उल्लेख गरिएको छ ।
समस्यामा परेका विद्यार्थीले १५ दिनभित्र विवरण पेस गर्न दूतावासको आग्रह: अबुधाबी स्थित नेपाली दूतावासले यूएईमा समस्यामा परेका विद्यार्थीहरूलाई १५ दिनभित्र आफ्नो विवरण पेस गर्न आग्रह गरेको छ ।समस्यामा परेका विद्यार्थीहरूको विवरण संकलनका लागि आग्रह भएअनुसार कन्सुलर सेवा विभागले पोर्टल तयार गरेको भन्दै त्यसमा १५ दिनभित्र विवरण पेस गर्न दूतावासले जनाएको छ । नेपालका केही शैक्षिक परामर्श केन्द्रहरूले यूएईका 'फ्रि जोन'हरूमा स्थापित तथा संचालित विभिन्न विश्वविद्यालय, कलेज तथा व्यवसायिक तालिम केन्द्रहरूमा नेपाली विद्यार्थीहरू पठाउने गरेको दूतावासको सूचनामा उल्ले छ ।
पोखराको निकाल्यो पहिलो जित: नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेताविरुद्ध पोखरा एभेन्जर्सले २४ रनको जित निकालेको छ । दोस्रो संस्करणमा तेस्रो खेल खेल्दा पोखराको यो पहिलो जित हो ।बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले प्रस्तुत गरेको १५६ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३० रनमात्र बनाउन सक्यो । जनकपुरलाई रोक्न विपीन खत्रीले उत्कृष्ट बलिङ गरे ।

