Harsamaya
संस्थापन समूहको छलफलः महाधिवेशनको विषयमा देउवाकै अघि बाँडिए नेताहरू 
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार आफूनिकट नेताहरूलाई बोलाएर संवाद गरे ।

धुम्बाराहीस्थित निवासमा देउवाले सात भाइ समूह (प्रकाशमान सिंह, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजय गच्छदार, कृष्ण सिटौला, शशांक कोइराला र प्रकाशशरण महत)का अलावा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री भीष्मराज आङ्देम्बे, नेताहरू एनपी साउद, रमेश लेखकलगायतलाई डाकेका थिए । बैठकमा सहभागी नेताहरू भने महाधिवेशन गर्ने विषयमा विभाजित बन्न पुगेका छन् ।

बैठकमा सहभागी नेताहरू भीष्मराज आङ्देम्बे, रमेश लेखकलगायत चुनावअगाडि नियमित महाधिवेशनको पक्षमा उभिँदा पार्टी प्रवक्तासहितका नेताहरू भने विपक्षमा देखिए ।

अर्थात्, २१ फागुनमा हुने निर्वाचनअगाडि नियमित महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउनुपर्ने आङ्देम्बे- लेखकहरूको मत थियो । उनीहरूले विशेष महाधिवेशन पक्षधरको मतलाई सम्मान गर्ने र उनीहरूलाई हस्ताक्षर फिर्ता गरेर घर पठाउने भए चुनावअगाडि महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउनुपर्ने धारणा राखे ।

'चुनाव सरे महाधिवेशन हुन्छ, तर हामीले पार्टी महाधिवेशन र चुनावको तयारी एकैसाथ गर्न समस्या हुन्छ,' बैठकमा नेता आङ्देम्बेले भनेका थिए, 'विशेष महाधिवेशन माग्नेहरूलाई घर पठाउनका लागि पनि महाधिवेशनको तालिका त ल्याउनुपर्‍यो नि!'

लेखकले पनि सोही आशयमा धारणा राखेका थिए । लेखकले सबैलाई सम्बोधन गर्ने प्रस्ताव नै चुनाव अगाडि महाधिवेशन हुने धारणा राखेका थिए । 'चुनाव अगाडि महाधिवेशनको कार्यतालिका ल्याउनुपर्छ । यो उत्तम विकल्प हो । विशेष महाधिवेशनवालाहरूको कुरालाई सम्बोधन गर्नेगरी तालिका ल्याएर घर पठाउनुपर्छ,' लेखकको भनाइ थियो ।

तर, छलफलमा प्रवक्ता प्रकाशशरण महत भने यस विषयमा सहमत हुन सकेनन् । महतले निर्वाचनअगाडि महाधिवेशन गर्दा पार्टी संकटमा पर्ने धारणा राखेको लोकान्तरलाई जानकारी दिए । महतले निर्वाचनअगाडि पार्टीको नियमित महाधिवेशन गर्न नहुने र गरिहाले पार्टीलाई क्षति हुने धारणा राखेको बताए ।

'हामीले निर्वाचन अगाडि महाधिवेशन गरेर गए पार्टीलाई क्षति हुने कुरा सभापतिज्यूसँग राख्यौं,' उनले भने । जवाफमा देउवाले आफू पनि यस विषयमा जानकार रहेको बताएका थिए । तर, देउवाले सहमति गरेर निकास दिनुपर्ने भन्दै सहमति गर्न र सोहीअनुसार अगाडि बढ्न निर्देशन दिएका छन् ।

'कुनै ठोस निर्णय वा रणनीति तय गर्नेगरी संवाद भएन । जे जस्तो भए पनि अहिलेको समस्यालाई समाधान गर्न सहमति गरेर जानुस् भनेर सभापतिज्यूले भन्नुभयो,' महतले थपे ।

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  १९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update